नेपालको सामुदायिक वन अभियानको यात्राले करिब साढे चार दशक पूरा गरेको छ। यो यात्रा हरियाली र रूख जोगाउने अभियानको कथा मात्र होइन। गाउँले समुदायले आफ्नै वनलाई आफ्नै जीवनसँग जोडेर संरक्षण, उपयोग र व्यवस्थापन गर्न सक्छन् भन्ने संसारलाई देखाएको नेपाली विशिष्ट अनुभव हो।
कुनै समय उजाडिँदै गएका डाँडापाखा आज हरियालीले ढाकिएका छन्। वन उपभोक्ता समूह सामाजिक संस्थाका रूपमा स्थापित भएका छन्। महिलाको सहभागिता बढेको छ। स्थानीय नेतृत्व विकास भएको छ। यस अर्थमा सामुदायिक वन नेपालको ग्रामीण विकासको एउटा महत्वपूर्ण सामाजिक प्रयोग हो, बलियो सामाजिक औजार हो।
तर अब प्रश्न उठ्छ - विगत करिब आधा शताब्दी (दुई पुस्ता) को यात्राले आगामी आधा शताब्दीका लागि सामुदायिक वनमाथिको हाम्रो दृष्टिकोण र सोच के हो? के हुनुपर्छ? त्यसैले, करिब दुई पुस्ताका लागि गरिने यो छलफल आफैंमा जटिल छ, सोचनीय र मननीय छ र ज्यादै महत्वपूर्ण पनि छ।
यदि हामी अझै पनि सामुदायिक वनलाई घाँस, सोत्तर, दाउरा र काठको स्रोतका रूपमा मात्र बुझिरह्यौँ भने हामीले यसको वास्तविक सम्भावनालाई अत्यन्त सानो घेरामा सीमित गर्नेछौँ। वन भनेको यी वस्तुको भण्डार मात्र होइन। वन पानीको स्रोत हो, माटोको संरक्षक हो, जैविक विविधताको आश्रयस्थल हो, जलवायु अनुकूलनको आधार हो, पर्यटनको गन्तव्य हो र नयाँ पुस्ताका लागि हरित रोजगारीको विशाल क्षेत्र पनि हो। अब सामुदायिक वनलाई ’हरित अर्थतन्त्र’को स्थानीय आधार बनाउने समय आएको छ।
यसको पहिलो केन्द्रमा युवा हुनुपर्छ।आज गाउँका धेरै युवा रोजगारीको खोजीमा विदेश पुगिरहेका छन् तर तिनकै गाउँमा रहेको वनलाई उद्यम, पर्यटन, वातावरणीय सेवा, वनजन्य उत्पादन, स्थानीयतालाई जोड दिने डिजिटल प्रविधि, अनुसन्धान र जलवायु कार्यसँग जोडेर रोजगारी सिर्जना गर्न सकिन्छ। वनमा आधारित नर्सरी, जडीबुटी, गैरकाष्ठ वन पैदावार, बेत–बाँस तथा रेसाजन्य सामग्री, मौरीपालन, वन्यजन्तु अवलोकन, प्रकृति–पदयात्रा, वातावरणीय शिक्षा, कार्बनसम्बन्धी काम, वन अनुसन्धान र पर्या–पर्यटनमा युवाका लागि नयाँ अवसर सिर्जना गर्न सकिन्छ।
दोस्रो महत्त्वपूर्ण पक्ष महिलाको भूमिका परिवर्तन हो। सामुदायिक वनले महिलालाई निर्णय प्रक्रियामा ल्याउन महत्वपूर्ण योगदान गरेको छ तर अब महिलाको भूमिका घाँस, दाउरा, सोत्तर संकलन र वन संरक्षणको दैनिक श्रममा मात्र सीमित रहनु हुँदैन। उनीहरूलाई वन उद्यमी, उत्पादक, व्यवस्थापक, पर्या–पर्यटन (इको टुरिजम) सञ्चालक, सहकारी सदस्य, वित्तीय निर्णयकर्ता र बजारसँग जोडिएका व्यवसायी बनाउनु आवश्यक छ। महिलाको श्रमलाई उद्यमशीलतामा रूपान्तरण गर्न सके सामुदायिक वनले ग्रामीण परिवारको आयमा प्रत्यक्ष योगदान पुर्याउन सक्छ।
यसका लागि हरेक वनजन्य उद्यम ’हरित’ हुनुपर्छ। जलवायु परिवर्तनलाई छुट्टै विषयका रूपमा हेरेर अब पुग्दैन। वनमा आधारित प्रत्येक व्यवसायले कार्बन उत्सर्जन घटाउने, पानी संरक्षण गर्ने, जैविक विविधता जोगाउने, फोहोर घटाउने र स्थानीय स्रोतको दिगो उपयोग गर्ने अभ्यास अपनाउनुपर्छ। हरित उद्यमलाई प्रोत्साहन गर्न सरकारले कम्तीमा दश वर्षसम्म कर सहुलियत वा करमुक्तिको बलियो नीतिगत व्यवस्था गर्न आवश्यक छ। जोखिम मोलेर वातावरणमैत्री उद्यम गर्ने स्थानीय युवा र महिलालाई करको बोझले निरुत्साहित गर्नु उचित हुँदैन।
सामुदायिक वनको अर्को ठूलो सम्भावना पर्या–पर्यटन र विश्व सिकाइ केन्द्र बन्ने हो। नेपालको सामुदायिक वनको अनुभव आफैँमा अन्तर्राष्ट्रिय महत्त्वको सिकाइ हो। समुदायले वन व्यवस्थापन कसरी गरे? महिलाले कसरी नेतृत्व लिए? स्थानीय संस्थाले कसरी संरक्षण र उपयोगबीच सन्तुलन कायम गरे? यी विषय सिक्न विश्वका विभिन्न देशका विद्यार्थी, अनुसन्धानकर्ता, वनकर्मी र नीति निर्मातालाई नेपालमा ल्याउन सकिन्छ। वन क्षेत्रलाई स्थानीय सङ्ग्रहालय, प्रकृति अध्ययन केन्द्र, जैविक विविधता अवलोकन क्षेत्र, पदयात्रा र सिकाइ गन्तव्य (लर्निङ सेन्टर) सँग जोड्न सकिन्छ।यसरी एउटा सामुदायिक वन वन उपभोक्ताको क्षेत्र मात्र नभई ‘जीवित कक्षा’ र विश्व सिकाइ केन्द्र बन्न सक्छ।
तर यसका लागि वन पैदावारको पहिचान र बजार व्यवस्थापनमा स्पष्टता चाहिन्छ।निजी वन, सामुदायिक वन र सरकारी/राष्ट्रिय वनबाट प्राप्त वन पैदावार स्पष्ट रूपमा छुट्याउने सरल र विश्वसनीय संयन्त्र आवश्यक छ।
अहिले वन पैदावारको स्रोत प्रमाणित गर्ने प्रक्रिया जटिल हुँदा वैधानिक उत्पादन पनि बजारमा लैजान कठिन हुने अवस्था देखिन्छ। डिजिटल अभिलेख, स्थानीय प्रमाणीकरण र सरल ढुवानी प्रणालीमार्फत वैधानिक वन पैदावारलाई सहज बजार पहुँच दिनुपर्छ।
सामुदायिक वन समूहलाई अब सहकारी मोडेलसँग पनि जोड्न सकिन्छ। ‘एक घर, एक सदस्य’, ‘एक घर, एक बचत खाता’ र आवश्यकता भएका परिवारलाई ‘एक घर, एक ऋणी’ जस्ता व्यवस्थित वित्तीय अभ्यासमार्फत वन उपभोक्ता समूहलाई स्थानीय आर्थिक संस्थाका रूपमा विकास गर्न सकिन्छ तर सहकारी भनेको ऋण दिने संस्था मात्र होइन भनेर पनि बुझ्नु जरुरी छ। यस्ता सहकारीहरू उत्पादन, बचत, लगानी, बजार र उद्यम विकाससँग जोडिएको स्थानीय आर्थिक संयन्त्र बन्नुपर्छ।
अझ थप कुरा, सरकारले यस्ता सहकारीलाई हरेक वर्ष अनुदान दिने विशेष नीति पनि बनाउन सक्छ।तर अनुदान राजनीतिक पहुँचका आधारमा होइन, संस्थागत क्षमता र उपलब्धिका आधारमा हुनुपर्छ। विगतको अनुभव, व्यवस्थित कागजात, नियमित लेखापरीक्षण, पारदर्शिता, सुशासन, बचत तथा ऋणको अवस्था र वास्तविक उद्यम सञ्चालनको आधारमा अनुदान दिने प्रणाली विकास गरिनुपर्छ। राम्रो काम गर्ने संस्थाले बढी प्रोत्साहन पाउने र कमजोर संस्थाले सुधारको अवसर पाउने व्यवस्था आवश्यक छ।
पछिल्लो समय कृषि र वन एउटै मन्त्रालयअन्तर्गत आएका छन्।यस सन्दर्भले पनि ग्रामीण सहकारीलाई कृषि–वन अर्थतन्त्रसँग जोड्ने अवसर दिएको छ। गाउँको सहकारीले कृषि, वन, पानी, पर्यटन र स्थानीय उत्पादनलाई एउटै आर्थिक चक्रमा जोड्न सक्यो भने ग्रामीण अर्थतन्त्रमा नयाँ ऊर्जा आउन सक्छ। त्यसका लागि सहकारीका अनावश्यक झञ्झटिला प्रक्रिया हटाएर उत्पादनमुखी, सरल र परिणाममुखी प्रणाली विकास गर्नुपर्छ।
निष्कर्ष
वास्तवमा कृषि, पर्यटन र पानी - यी तीनै ग्रामीण अर्थतन्त्रका प्रमुख आधार वन तथा वनजन्य प्राकृतिक स्रोतसँग गहिरोसँग गाँसिएका छन्। वन स्वस्थ भयो भने पानीको मुहान सुरक्षित हुन्छ। पानी सुरक्षित भयो भने कृषि बलियो हुन्छ। कृषि र प्रकृति बलियो भए पर्यटनको आकर्षण बढ्छ। पर्यटन बढेपछि स्थानीय उत्पादनको बजार विस्तार हुन्छ। यही चक्रले रोजगारी र आय सिर्जना गर्छ। त्यसैले अब सामुदायिक वनलाई ‘वन उपभोक्ता समूहको कार्यक्रम’ भनेर मात्र हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ। यो ग्रामीण अर्थतन्त्रको आधार, हरित रोजगारीको स्रोत, जलवायु अनुकूलनको माध्यम, महिला उद्यमशीलताको मञ्च, युवा रोजगारीको थलो र विश्वका लागि नेपाली सिकाइको केन्द्र बन्न सक्छ।
दुई पुस्तासम्म अर्थात् करिब साढे चार दशकसम्म हामीले वन बचायौँ।अब वनबाट समृद्धि सिर्जना गर्ने अर्को चरण सुरु गर्नुपर्छ। संरक्षणबाट समृद्धितर्फ, उपभोगबाट उद्यमतर्फ, श्रमबाट सीप र व्यवसायतर्फ, स्थानीय अनुभवबाट विश्व सिकाइतर्फ - सामुदायिक वनको नयाँ यात्रा यतैतिर अघि बढ्नुपर्छ। किनकि वन अब घाँस, सोत्तर, दाउरा र काठको स्रोत मात्र होइन, यो त अथाह सम्भावनाका स्रोतहरूको मूलाधार हो -र मानव जीवनकै एक अनन्य अंग पनि हो।
(लेखक पर्यटन तथा स्रोत व्यवस्थापनविद्)
प्रकाशित: ३१ श्रावण २०८३ १०:११ आइतबार