ब्लग

बबइको बिनास क्षेत्रमा २० दिनपछि पुग्दा

गत साता राहत वितरण गर्ने उद्देश्यका साथ बर्दियाका केही बाढी विस्थापित क्षेत्र अवलोकन गरियो। नेपालगञ्जबाट गुलरिया हुँदै बर्दियाको पदनाहा र बानियाभार गाविसका गाउँहरु अवलोकन गरियो। सदरमुकामबाट करिब २० किलोमिटर उत्तरमा अवस्थित पदनाहा र बानियाभार गाविस पुग्न बबई खोला तर्नुपर्ने रहेछ। भर्खरै बनेको झुलुङ्गे पुल २९ दिनमै बबईको बाढीले बगाएपछि स्थानीयहरु डुंगाको जोखिम यात्रा गरिरहेका छन्। राहत वितरण गर्ने उद्देश्यसाथ स्थलगत रिपोर्टिङका लागि गएका हामीले करिब दुई सय मिटर बबई खोला डुंगामा तर्यौंर। नदी पार गर्दा अझै पनि स्थानीयले सुनाएको झुलुङ्गे पुलको अवषेश देख्‍न सकिन्थ्यो।

मोटरसाइकलबाट एक घन्टा लामो यात्रा तय गर्दा बाटोमा देखिएका अधिकांश घरको भग्नावशेष देख्नछ सकिन्थ्यो। करिब एक किलोमिटर पश्चिमबाट बगेको बबईले साउन ३० गते राति त्यस क्षेत्रका बासिन्दाको निद हराम गरेको थियो। बबईले बाँके, सुर्खेत र दाङमा पनि उत्पात मच्चाएको थियो।

पदनाहा गाविसका बाढी विस्थापितहरु पाल टाँगेर गुजारा गरिरहेका भेटिन्थे। विभिन्न संघसंस्थाबाट चामलको जोहो गरेपनि तिनीहरुसँग परिवार पाल्ने पर्याप्त खाद्यन्नको अभाव देखिन्थ्यो। बानियभार-९ का वीरबहादुर थारुले सरकारले अझैसम्म कुनै राहत नदिएको गुनासो गरे। उनले संघसंस्थाबाट पाएको चामलबाट ३३ जनाको परिवार पलिरहेको बताए। जसोतसो गुजारा गरिरहेका उनीहरुको अवस्था दयनीय देखिन्थ्यो। 
बानियाभार-४ ढुंग्रहीको अवस्था अझ नाजुक थियो। अधिकांश घरहरुलाई बाढीले क्षति पर्याएको थियो। एक दिनअघि त्यहाँ पुगेका वाणिज्य तथा आपुर्तिमन्त्री सुनिल थापाले सरकारले चाँडै राहत वितरण गर्ने आश्वास बाँडेको स्थानीयले सुनाए। २०औं दिनपछि पुगेका मन्त्रीले चाँडै राहत वितरण गर्ने कुरा सुन्दा स्थानीय जिल्ल परेछन्।

ढुंग्रहीमा मात्र ९ जनाले ज्यान गुमाएका छन्। दुई जना अझै बेपत्ता छन्। बेपत्ता दुवै धर्मरज चौधरीका भतिज र बुहारी हुन्। बल्लतल्ल ज्यान जोगाएका उनको अनुहारमा बुहारी र भतिज गुमाउँदाको पीडा प्रस्ट देखिन्थ्यो। विदेश गएका भाइको परिवार बचाउन नसक्दा उनले आत्मग्लानी महसुस गरिरहका थिए। बुहारी र नाति गुमाएपछि धर्मराजकी आमा भने धेरै दिन अचेत भइन्। अहिले उनको होस् खुलेको छ तर खुला आकाशमुनि बस्नुपर्दाको पीडाले उनी थलिएकी छन्। बानियाभार-४ ढुंग्रहरिमा कसैले राहत पुर्या एको छैन। संघसंस्थाहरु बाटो पुग्ने ठाउँबाटै राहत वितरण गरेर फर्किने गरेको स्थानीयले सुनाए।

यस्तै यस्तै पीडा सुनेर हामी नेपालगन्ज फर्कियौं। भोलिपल्ट उनीहरुका लागि खाद्यन्न सामाग्री किन्यौं। ४५ क्विन्टल चामल, चाउचाउ, बिस्कुट, खानेपानी, टेन्ट, भाँडा, लत्ताकपडा गरी कुल १३ लाख बराबरको सामान लगेर वितरण गर्यौं ।

राजधानीमा बसोबास गर्ने जागरुक युवाहरुको सहयोगले बर्दियाको बानियाभार-४ ढुंग्रही र बाँकेको फत्तेपुरका बाढी विस्थापितहरुले केही मात्रामा भए पनि राहत पाए। युवाहरुको अभियानमा देश विदेशमा रहेका नेपालीहरुले आफ्नो गच्छेअनुसार नगद/जिन्सी बाढी पीडितका लागि जुटाएका थिए। थारु एराउन्ड दी वर्ल्ड, कल्याणी, थारु कल्याणकारिणी सभा, थारु इन्जिनयरिङ एसोसियसन र ब्यक्तिगत धेरैले राहत संकलन अभियानमा सहभागी भएका थिए।

पदनाहा र बानियभार गाविसका स्थानीय बबइ खोलामा जोखिम डुंगा यात्रा गर्दै। 


 

गुलरिया र पदनाहा जोड्ने झोलुङ्गे पुलको अवषेश।


 

पदनाहाका बाढी विस्थापित पाल टाँगेर गुजारा चलाउँदै।


 

बानियाभार-४ ढुंग्रहीको एक घरको अवशेष। 


 

साउन ३० गते राति यो घरको क्षत भत्किँदा तीन जनाको ज्यान गएको थियो।


 

भत्किएको घरमा धर्मराज चौधरी।


 

बानियाभारका अधिकांश घर यसरी नै भत्किएका छन्।


 

सीता चौधरी भत्किएको घर देखाउँदै।


 

अचेत अवस्थामा बरघर।


 

भत्किएको घरमा उम्रिएका धान।


 

बबई खोला किनारमा एक बालक।


 

नजिकैको स्कुलको शिविरमा बसेका बाढी विस्थापित बिहानीको खाना बनाउँदै।


 

राहत ट्याक्टरमा हाल्दै बानियभारका बाढीपीडित।


 

तस्बिर सौजन्य: विवेक चौधरी

प्रकाशित: २९ भाद्र २०७१ ०७:५२ आइतबार