भनेर के गर्नु ? यी तिनै सिपाही हुन्, जसले केही घण्टाअघि हामीलाई ताक्लाकोट छिर्न दिएका थिएनन् । चेकपोस्टमा जति भन्दा पनि नलागेपछि हामी त्यो रात नजिकैको होटलमा बास बसेका थियौं । बेलुकी खाना खाने बेला फेरि तिनी भेटिए । हामीलाई देखेपछि अनुहार अलि खिन्न पारे ।

'के गर्नु भाइ, सरकारको यस्तै नियम छ, नागरिकता नदेखाई त चरा पनि छिर्न पाउँदैन,' उनी भनिरहेका थिए ।
म मनमनै हाँसे । चरा भइदिए त यो जाबो काँडेतारले रोक्न सक्थ्यो र ? आखिर यी राजनीतिक भूरेखाहरू हामी मान्छेकै लागि त हुन् ।
'ठिकै छ नि दाइ, यस्तै हो,' मैले मुखले ठिक्क पारेँ, 'हामीले पनि त नियम मान्नैपर्यो ।'
उनीचाहिँ घरिघरि एउटै कुरा दोहोर्याउाथे, 'नेपाली-तिब्बती भाइभाइ ।'
***
तिब्बती पठारलाई संसारकै छानो मानिन्छ । स्वदेशबाट हेर्दा उत्तरतिर पर्खालझैं ठिङ्ग उभिएका हिमाल र त्यसपारिको तिब्बती संसार रहस्यपूर्ण लाग्छ, नवआगन्तुकलाई । हाम्रै देशभित्र पनि मनाङ र मुस्ताङजस्ता हिमाली जिल्लाको भूबनोटले तिब्बती सौन्दर्यलाई नपछार्ने होइन । तर आधुनिकता र विकासले ढपक्कै ढाकेको यो इलाकासाग स्वदेशी जिल्लाको तुलनै हुादैन ।
पश्चिमी तिब्बतको एउटा सानो सहर हो, 'ताक्लाकोट' । यो नाउँ नेपालीले नै जुराएका हुन् । तिब्बतीहरू यसलाई 'पुराङसेन' भन्छन् । हिन्दु र बौद्ध धर्मावलम्बीको महान तीर्थस्थल मानसरोवर जाने बाटो भएकाले यहाँ पर्यटकहरूको राम्रै जमघट हुन्छ ।
हामी पनि महेन्द्रनगरबाट भारतीय सडक हुँदै त्यतातिर हान्निएका थियौं । नेपालतिरको खराब बाटोका कारण हामीले भारतीय भूमिलाई पारवहन मार्ग बनाएका थियौं । दार्चुलामा दुई दिनको मिठो बसाइपछि हाम्रो यात्रा सुरु भयो । पहिलो दिन करिब ४० किलोमिटर सडक हामीले जिपमा नाप्यौं । तावाघाटभन्दा केही माथि घट्टेबगरसम्म तन्किएको छ यो सडक । यसलाई कालापानीसम्मै पुर्याउने भारतको महत्त्वाकांक्षा छ । काली नदीको किनारै-किनार डरलाग्दो गरी बनाइएको घट्टेबगरसम्मको सडक छिचोल्दा छायाकार दिपक बज्राचार्य -मेरा एक सहयात्री) भन्दै थिए, 'अगाडिको बाटो कति खतरनाक होला ?'
उनको अनुमान सही थियो । घट्टेबगर छोड्नेबित्तिकै काली किनारको चट्टानमा भित्रभित्रै काटिएको लामो खोँच पार गर्दा हामीलाई ज्यान हत्केलामा लिएर हिँडेजस्तो भयो । कालीको छालसाग मस्किँदै, झरनाहरूमा रुझ्दै हिाड्दा अलिकति पनि सन्तुलन बिग्रे सिधै उर्लंदो नदीको गाँस बन्न पुगिन्थ्यो ।

हामीले पहिलो दिनको थकाइ बिसायौं, लामारीमा । नजिकै भारतीय सुरक्षा क्याम्प रहेकाले त्यहाँ चहलपहल थियो । यात्रुहरूको ओइरोले होटल खचाखच थिए । लखनपुरबाट सागै हिाडेकी जानुकाले जसोतसो हाम्रा लागि एउटा कोठा व्यवस्था गरिन् । उनी होटल साहुनीकी नातेदार रहिछन् । बाटोमा उनीसाग भेट नभएको भए त्यो रात हामीले होटलको कोठामा होइन, छिाडीमा काट्नुपथ्र्यो ।
***
दोस्रो दिन हामीले स्वदेश टेक्नु थियो, बाटोमा पर्ने छियालेकको सबभन्दा कठिन उकालो छिचोलेर । बुादीमा दिउासोको खाना खाएपछि हामी टोपी खस्ने उकालो चढ्न शक्ति सञ्चय गर्न थाल्यौं । फूलको उपत्यका मानिने छियालेकको सौन्दर्यले हाम्रो थकाइ बिर्सायो । पसिनाले लत्पत्तिएको जीउ अघि बढाउन प्रेरणा दियो ।
उकालो नाघेपछि नेपालतिरको पहिलो गाविस व्यास सुरु हुादोरहेछ । यहाँको सौन्दर्यमा रमाउादै हामी नेपाल-भारत सीमामा पुग्यौं । भारतीय सुरक्षा अधिकारीहरूले हामीसँग नेपालको राजनीतिक वस्तुस्थिति र माओवादी जनयुद्धबारे सोधखोज गरे । सितापुल पार गरेर व्यास टेक्दा स्वदेशी भूमिको आनन्दले मन भरिएर आयो । नजिकै एउटा युवा समूह बाटोमा सुस्ताइरहेको थियो । उनीमध्येका जगदिश ऐतवाल व्यासका एक्ला स्वास्थ्यकर्मी रहेछन् ।
'आजको रात मेरै घर बास बसौं,' उनको आग्रहमा कुनै स्वार्थ थिएन, तर हामीलाई गन्तव्य पुग्न हतारो थियो । त्यही भएर हामी उनको चित्त दुखाउादै अघि बढ्यौं, गागामा बास बस्नेगरी । गागामा एउटै होटल थियो । त्यहाा पनि खासै रौनक थिएन । होटलमा भेटिएका माओवादीहरूसित हामीले आफ्नो यात्राको उद्देश्य खोल्यौं, 'कालापानी जान लागेको । फिल्म बनाउादैछौं । तपाईंहरूले सहयोग गर्नुपर्यो ।'
उनीहरूबाट खासै सहयोग पाइएन, तर कुनै रोकतोक पनि भएन । काली किनारको बाटो समातेर कालापानी जाादा भारतीय सुरक्षाकर्मीका आाखामा परिने डर थियो । त्यसैले, वैकल्पिक बाटो रोज्यौं, तिब्बती सीमा तिंकर भन्ज्याङ नजिकैको टाटा हुादै ।

गागामा एकरातको बसाइपछि हामी तिंकरतिर लम्कियौं । बाटोमा घोडाको क्याराभान खुबै देखिए । यहाँ यात्रुहरू व्यासबाट तिंकर भन्ज्याङसम्म पुग्न घोडा चढ्छन् । हामी भने युवा जोसमा थियौं, पैदल ।
***
साँझ तिंकरमा स्थानीय साथी गोपाल बुढाथोकीले बास मिलाइदिए । यात्राको तेस्रो दिन घरेलु आतिथ्यले हामीलाई घरकै सम्झना दिलायो । हामी सौर्य ऊर्जाको बिजुलीमा चुह्लोवरिपरि डल्लो परेर रातको चिसो छल्ने प्रयास गरिरहेका थियौं । गोपाललाई हाम्रा दाात कट्कटिएको देखेर दया लागेछ । भने, 'च्याक्ती खाउा जाडो भाग्छ ।'
नभन्दै दुई कप च्याक्ती (उवाबाट बनेको पेय) घुट्क्याएपछि चिसोमात्र होइन, थकाइ पनि बिस्र्यौं । राति मिठो निद्रा पर्यो । बिहान गाउँ डुल्न निस्कादा पुरानो साथी हिरिन्दा तिंकरीसाग भेट भयो ।
'ओहो ! धेरै समयपछि भेट भयो ।'
उनी मुसुक्क हाँसिन् ।
'बिहे गरिछौ, कहाँ नि ?' मैले उनको पिठ्युामा च्यापिएको नानीतिर इसारा गर्दै सोधेा ।
'उस्,' उनले आाखा तर्दै भनिन्, 'बिहे गरेजस्ती देखिन्छु र ?'
'देख्दैमा कसरी चाल पाउने ?' म उनलाई उल्याउने थालेँ, 'बच्चा बोकेको देखेर पो सोधेको ।'
'दाइको छोरा हो,' उनले सफाइ दिइन् ।
'ए, उसो भए बिहे गरेकी छैनौ,' मैले आँखा सन्काएँ ।
उनी लाजले रातो भइन् ।
उनको घर नजिकै रहेछ । हामीलाई घर लगेर नुनिलो चिया ख्वाई ।
'ताक्लाकोट जाँदै हुनुहुन्छ ?' कालो पिँध भएको कित्लीबाट गिलासमा चिया खन्याउादै उनले सोधिन् ।
'हो ।'
'म पनि आउँदैछु नि ताक्लाकोट । उतै भेटौंला ।'
मैले 'हुन्छ' भनेँ ।

***
झम्के साँझतिर हामी तिंकर काखको टाटा पुग्यौं । रात छिप्पिँदै गएपछि चिसो सिरेटोले मुटु छेड्यो । लेकको ठाउा भएकाले वातावरणमा अक्सिजनको कमी थियो । हामी एक-एक सास गन्ती गर्दै लिइरहेका थियौं । यो गन्ती बीचैमा अड्किएला भन्ने डर पनि थियो, मनको अन्तरकुन्तरमा ।
सासै फेर्नै गाह्रो भएपछि निद्रा लाग्ने कुरै भएन । छर्लंगै रात बित्दा पनि आाखा एकपल टालिएन । रात जस्तो भए पनि बिहानी रमाइलो भयो । त्यतिञ्जेल हामी लेकसँग अभ्यस्त भइसकेछौं । सास अड्कन छोड्यो । निद्रा नपुगेर लोलाएका आाखा सूर्यका किरणले चंगा भए । बिहानको चिसो हावा छातीभित्रैसम्म गड्नेगरी लामो-लामो सास तान्यौं । गलेको आङ तन्कायौं । जीउ तंगि्रएर आयो ।
***
अब हाम्रो लक्ष्य, कालापानी । तिंकर हिमशृंखलासाग जोडिएको पहाड देखाउादै होटल साहुजीले भने, 'त्यसैको काखैकाख कालापानी पुगिन्छ ।' हाम्रा आाखा टाढाटाढा फिँजारिए । हेर्दै अत्यासलाग्दो बाटो, उकालो न उकालो । माथिबाट जुनसुकै बेला ढुंगा बर्सिने डर । कोही नहिँड्ने बाटोमा फ्याँफ्याँ गर्दै हामी ओम पर्वत पुग्यौं । झण्डै चार घण्टा लाग्यो । त्यहाँबाट कालापानी देखिँदो रहेछ । कालापानी वरपरको भूभाग र नेपाली हिाड्ने परम्परागत बाटो देखेर भारी मन लिादै हामी साँझ पर्नुअघि नै टाटा फर्कियौं ।
अर्को दिन हामीलाई ताक्लाकोट पुग्नु थियो । बिहानै सबै साथीहरू जोस्सिएका थिए । तिंकरको सिरेटोले मुटु छेडिरहेकै थियो । आकास खुलेको थिएन, घामचाहिा लागेको थियो । एक हुल यात्रु तिब्बतबाट फर्किरहेका थिए । उनीहरूले नागरिकताको प्रमाणपत्र लगेका रहेनछन्, मानसरोवर जान पाइएन भनेर दुखमनाउ गर्दै थिए । हामीसाग पनि नागरिकता थिएन । सोच्यौं, सवारी अनुमतिपत्रले काम चल्ला ।
तिंकरबाट एक घण्टाको पैदल दुरीमा ज्युज्यु खोला (नेपालको पुरानो सीमा) पारी चिनियाँ जिप नेपाली यात्रुलाई पर्खिरहेको थियो । यहाँबाट ताक्लाकोटसम्मको भाडा दुई हजार रुपैयाँ । अब हाम्रो अगाडि थियो, आँखाले भ्याउन्जेल फैलिएको तिब्बती पठार ।
***
'नागरिकता छ ?' ताक्लाकोटभन्दा एक किलोमिटर वरको तिब्बती चेकपोस्टमा एक युवा चिनियाँ सिपाहीले सोधे ।
'छैन । ड्राइभिङ लाइसेन्स छ ।'
'यसले काम गर्दैन ।'
लौ बर्बाद भो । अब हामी पनि अघिका यात्रुजस्तै खाली हात फर्कनुपर्ला । हामी खासखुस गर्न थाल्यौं । उनी पनि साथी सिपाहीहरूसित तिब्बती भाषामा गुनगुन गर्दै थिए ।
'चित्त नदुखाउनुस् है,' उनले एकछिनमा बडो नम्र हुादै भने, 'लाइसेन्सले तपाईंहरू जान पाउनुहुन्न । नियम यस्तै छ ।'
'त्यसो भए के गर्ने त ?'
उनले बाटो देखाए, 'त्यहाँ होटल छ, आज त्यहीँ बास बस्नोस् ।'
वाह, कस्तो राम्रो बाटो देखाएको ! तर, हामीसँग विकल्प थिएन । होटलनिर पुगेपछि मैले पछाडि फर्किएर हेरेँ, कतै ती सिपाहीको मनमा दया जागिहाल्ला कि भनेर ।
उनी मलाई नै हेरिरहेका रहेछन् । हाम्रा आाखा जुधे । मिठो आसाले मन नाच्न थाल्यो । तर, पलभरमै ठेस पनि लाग्यो । उनी हात हल्लाउँदै कराए, 'नेपाली-तिब्बती भाइभाइ ।'

***
साँझ होटलमा खाना खाँदै गर्दा तिनै सिपाही भेटिए ।
हामी एकछिन गफियौं । उनी ल्हासा नजिकका रहेछन्, नेपालीलाई माया गर्ने । त्यही भएर कुरैपिच्छे थेगोजस्तो झुण्ड्याउाथे, 'नेपाली-तिब्बती भाइभाइ ।'
'के गर्नु भाइ, सरकारको यस्तै नियम छ, नागरिकता नदेखाई त चरा पनि छिर्न पाउादैन,' उनी भनिरहेका थिए ।
'ठिकै छ नि दाइ, यस्तै हो,' म मुखले ठिक्क पार्दै थिएा, 'हामीले पनि त नियम मान्नैपर्यो ।'
उनी सरकारी नियममा टसमस भइरहेका थिएनन् । एक घण्टापछि के सोचे कुन्नि, भने, 'तिमीहरू बोर भयौ । ताक्लाकोटको डिस्को जाने हो ?'
हामी एकअर्काको मुख हेर्न थाल्यौं ।
'कसरी ?' म उत्सुक भएँ ।
'बिहानै र्फकनुपर्छ नि,' उनले आदेश दिए ।
***
औंसीको रातमा पनि ताक्लाकोट बिजुलीको प्रकाशले चम्किरहेको थियो । सडकहरू चिल्ला थिए । प्रहरीका जिपहरू साइरन बजाउादै यताउता दगुरिरहेका थिए । हामी नेपालीहरूले खोलेको 'याक एन्ड यति रेस्टुरेन्ट' गयौं । हामीलाई देखेर ताक्लाकोटमा व्यापार गरिरहेका नेपालीहरू साह्रै खुसी भए । सानोतिनो पार्टी नै गरे । ताक्लाकोटको गेजिङमा मात्र झण्डै दुई सय नेपाली व्यापार गर्छन् ।
रेस्टुरेन्टमा खाना खाँदावर्दा मध्यरात भइसकेको थियो । त्यसपछि पालो आयो, ताक्लाकोटको डिस्को छिर्ने । एउटै घरमा तीनवटा डिस्कोथेक थिए । रंगीविरंगी डिस्को लाइट र बियरको नसाले वातावरण रंगीन थियो । 'बडबाइजर' नामको अमेरिकी क्यान बियर यहाा निकै चल्दोरहेछ । हामी पानीमा चिनीजस्तै संगीतको नसा र बियरको मातमा घोलियौं । अंग्रेजी र चिनियाँ डान्स नम्बरले हामीलाई पसिना-पसिना पार्यो । तिब्बती डिस्कोको एउटा अलग्गै विशेषता रहेछ, बीचबीचमा हास्य कार्यक्रम र सांस्कृतिक प्रस्तुति पनि देखाउने ।
बिहान चार बजे डिस्कोथेक छोड्दा हामी गलिसकेका थियौं । तर, लामो यात्राले थाकेको मन तन्दरुस्त भएको थियो ।
ती दयालु सिपाहीले देखाएको भाइचाराले ताक्लाकोटको मुखै नदेखी र्फकनुपरेन । मन भने अमिलै थियो । कारण, ताक्लाकोटमा भेट्ने भनेको हिरिन्दा तिंकरीसाग भेट्ने साइत जुरेन । के गर्नु, सोचेजति यहाँ बस्नै पाइएन । उनी यहाँ आउादै होलिन्, हामी सायद त्यतिखेर काठमाडौं नै पुगिसकेका हुनेछौं कि ?
फर्कंदा चेकपोस्टमा उनै सिपाहीको ड्युटी रहेछ । उनले बिहानै आउनू भनेको कारण बल्ल थाहा भयो ।
'कस्तो लाग्यो त ?' उनी हाँसे ।
मैले उनको हाँसोको अर्थ बुझिसकेको थिएा । तर, सहज हुँदै जवाफ दिएँ, 'एकदमै गज्जब रहेछ ।'
'फेरि आउँदा नागरिकता ल्याउनू है,' उनले सुझाव दिए ।
'ल्याउन्नौं दाइ,' मैले भनेँ, 'तपाईंको सहयोग पाइहालिन्छ नि ।'
उनी मुसुक्क हाँसे । हामी अघि बढ्यौं । अलि पर पुगेर मैले फर्केर हेरेा । उनी हामीतिर हेरेर मुसुमुसु हाँस्दै हात हल्लाइरहेका थिए । सायद भनिरहेका थिए, 'नेपाली-तिब्बती भाइभाइ ।'
प्रकाशित: २३ श्रावण २०६६ ०५:४१ शुक्रबार