आफ्नो सपनाहरू
घरको साम्फेमा कुटेर,
पठाउँछौ सन्तानको सपना रंगाउन,
रहरहरू जाँतोमा पिसेर,
कल्पिन्छौं सन्तानकै रंगीन दुनियाँ,
कुप्री परेका तिम्रा ढाडमा
अडिन छोडेका छन् डोकोका काम्रोहरू
कम्बरले थेग्न छाेडेका छन्
पँधेरीबाट ल्याइने गाग्रीहरू ,
तैपनि
बरु जूनताराहरू उदास होला ,
ताराहरू निराश होला
फूल सुकसुकाउँदै रोलान्
आमाको मुहारमा कहिल्यै
देखिएन ती चिजहरू,
कति दिन छुटेका छन्
सुगर र प्रेसरका गुट्टी खान,
तर कहिल्यै छुट्टेनन्
सञ्चाे मनको नाममा भात पस्किन
छुटेनन् आफ्ना पितृलाई भाकल गर्न
बिराएनन् सन्तानको नाममा शिरभाले पाल्न
अनजानमा पनि सन्तानकै लागि धड्किने मुटुहरू,
छाया बनिरहने सन्तानको माया
अँधेरीमा कतै छाया छुट्लान् भनेर,
जलाउन छोडेका छैनन्
निरन्तर आफ्नै मुटुहरू,
आफ्नै मुटु जलेको प्रकाशमा
छाया बनेर उनका प्रगतिशील पदचाप पछ्याउन,
तर, छाया बन्ने मायाहरू
क्षितिज बनाउँदै हुलका हुल
पस्छन् एयरपोर्ट अनि,
हुइँकिन्छ पश्चिम दिशा
उनका सययात्री भित्रिन्छ शहर अनि
बनिदिन्छन् रामलीलाहरू
फर्कन्छ निर्जीव भई बाकसभित्र
त यही बाटो भएर
छातीमा अजम्बरी सुइरो रोपेर
सन्तानविहीन आमा र बाबाको पीडा
टुहुराको भन्दा कैयौ गुणा दर्दनाक छ,
सिकुवाहरू छिमेक भएका छन्
आँगन परदेश
कुकुर र बिरालोसँग भाषा मिलेको छ
रुखहरूसँग प्रेम बसेको छ
काग र हावाले समाचार दिन्छ
नीद वैरी भइदिएका छन्
तकिया बिझाउँने काँडा
आवाजविहीन आँसुले भिज्छ
थोत्रे भोटो र चोली
खै किन
आश्रयहरूको अभावमा
मानवीयता चुनौती दिँदै
किन मौलाउँदै छन् वृद्धाश्रमहरू!
प्रकाशित: ५ फाल्गुन २०८२ ०९:५४ मंगलबार