कला/साहित्य

अस्तव्यस्त खचाखच, शहरमा घर किन हुन्छन्?

मुक्तक

१) मुक्तक

अस्तव्यस्त खचाखच, शहरमा घर किन हुन्छन्

अनिकालमा खाली पेट, भोका रहर किन हुन्छन्

एउटा प्रश्न गर्छु महोदय, उत्तर दिन सक्नुहुन्छ?

चोरहरू दरबारमा, सत्य बेघर किन हुन्छन्?

२) मुक्तक

मन्दिरको ढोका जस्तै मनको ढोका खोल अब

मुस्कानमा फूल फुलाई प्रेमका वात घोल अब

मान्छेलाई घृणा गरी ईश्वर खोज्दै हिँड्नुभन्दा

मान्छे स्वयम् ईश्वर नै हो स्वीकारेर बोल अब।

३) मुक्तक

मानिस बन्नु भनेको मनभित्र आकाश राख्नु रहेछ

अरूका पीडालाई आफ्नै मनसँग साट्नु रहेछ

धनले होइन, दयाले उचाइ नापिने समाजमा

जीवन भनेको प्रेम बाँड्दै बाँच्नु रहेछ।

४) मुक्तक

अग्ला भवन मात्रै बने, मनहरू होचा भएका छन्

सञ्जाल जोडिँदा पनि सम्बन्धमा पोचा भएका छन्

विकासको नाममा धेरै फड्को मार्‍याै भन्छौं

मान्छेभित्रका मान्छे सबै किन लोचा भएका छन्।

५) मुक्तक

नदी रोए भने सागरको हाँसो रुँदो रहेछ,

वन उजाडिँदा जूनको उज्यालो पनि फिक्को हुँदोरहेछ।

प्रकृतिलाई जित्ने घमण्ड नगर, मानव,

उसको सास अड्किँदा तिम्रो सास पनि छुँदो रहेछ।

प्रकाशित: १७ श्रावण २०८३ ११:१८ आइतबार