कला/साहित्य

३० चलचित्र प्रदर्शनमा आउँदा कमैले मात्र उठाए लगानी: परानदेखि मोहरसम्मको व्यापारिक सफलता कस्तो ?

आज शुक्रबारदेखि आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ। बितेको आर्थिक वर्षमा नेपाली चलचित्र उद्योगले उतारचढावपूर्ण अवस्था भोग्यो। 

वर्षभर ३० भन्दा बढी नेपाली चलचित्र प्रदर्शनमा आए पनि अधिकांशले लगानीसमेत उठाउन संघर्ष गर्नुपर्‍यो। केही चलचित्रले मात्रै लगानी सुरक्षित गर्दै बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरे।

चलचित्र विकास बोर्डको बक्स अफिस विवरणका आधारमा आर्थिक वर्ष २०८२/८३ मा व्यापारिक रूपमा सफल बनेका पाँच नेपाली चलचित्र यस्ता छन् :

१. ‘परान’ : आर्थिक वर्षकै सर्वाधिक कमाउने नेपाली चलचित्र

निर्देशक दीपक प्रसाद आचार्य (काकु) निर्देशित चलचित्र ‘परान’ आर्थिक वर्षकै सर्वाधिक कमाउने नेपाली चलचित्र बनेको छ। कार्तिक १४ गते प्रदर्शनमा आएको यो चलचित्रले घरेलु बक्स अफिसमा १७ करोड ७४ लाख ८४ हजार रुपैयाँको व्यापार गर्दै नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाली समाजसँग जोडिएको कथावस्तुका कारण दर्शकको राम्रो साथ पाएको चलचित्रले सुरुवाती दिनमा अपेक्षाकृत सुस्त व्यापार गरे पनि सकारात्मक ‘वर्ड अफ माउथ’ का कारण पछि सुपरहिट बन्न सफल भयो।

चलचित्रमा नीर शाह, महेश शाह, अञ्जना बराइल, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, सीमा काफ्ले, पुष्पराज ओझा, दमन रुपाखेती, सुब्रतराज आचार्य, यमन श्रेष्ठ, सुरेश थापा, बिनोद राई तथा बाल कलाकार आर्यादीप आचार्यको अभिनय रहेको छ।

२. ‘आ बाट आमा’ : पल शाहको चलचित्रले कमायो १३ करोडभन्दा बढी

अभिनेता पल शाह अभिनित चलचित्र ‘आ बाट आमा’ पनि आर्थिक वर्षका सफल चलचित्रमध्ये एक रह्यो। माघ १६ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले १३ करोड २० लाख रुपैयाँको व्यापार गर्दै नेपालका सर्वाधिक कमाउने चलचित्रहरूको सूचीमा १२औँ स्थान बनाउन सफल भयो।

चन्द्र पन्तको कथा तथा निर्देशन रहेको चलचित्रमा विपना थापा, पल शाह, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, गजित विष्ट, बेगम नेपाली र रचना गौतमको अभिनय रहेको छ।

३. ‘जेरी अन टप’ : अनमोल केसीको फिल्मले गर्‍यो १२ करोडभन्दा बढी व्यापार

अभिनेता अनमोल केसी अभिनीत ‘जेरी अन टप’ पनि बक्स अफिसमा सफल रह्यो। सगरमाथा आरोहण र त्रिकोणात्मक प्रेमकथामा आधारित यो चलचित्र असोज ३१ गतेदेखि प्रदर्शनमा आएको थियो।

चलचित्र विकास बोर्डको बक्स अफिस विवरणअनुसार चलचित्रले १२ करोड २८ लाख रुपैयाँको व्यापार गरेको छ।

सुयोग गुरुङ निर्देशित चलचित्रमा जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे (माग्ने बुढा), भुवन केसी र उषा खड्गीको अभिनय रहेको छ।

४. ‘लालीबजार’ : कानुनी चुनौती पार गर्दै सफल व्यापार

धेरै कानुनी चुनौती पार गरेर वैशाख २५ गते प्रदर्शनमा आएको चलचित्र ‘लालीबजार’ ले पनि सन्तोषजनक व्यापार गर्न सफल भयो। चलचित्रले नेपालमा ९ करोड ३१ लाख रुपैयाँको व्यापार गरेको छ।

यम थापा निर्देशित चलचित्र आमा–छोरीको भावनात्मक कथामा आधारित छ। चलचित्रमा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल र प्रेम पाण्डेको अभिनय रहेको छ।

५. ‘मोहर’ : पल शाहको अर्को सफल चलचित्र

अभिनेता पल शाह अभिनीत अर्को चलचित्र ‘मोहर’ पनि आर्थिक वर्षमा व्यापारिक रूपमा सफल रह्यो। साउन २३ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले ५ करोड ८६ लाख रुपैयाँको व्यापार गरेको थियो।

ओम प्रतीकको लेखन तथा निर्देशन रहेको चलचित्रमा पल शाह, नीति शाह र बेनिशा हमाल मुख्य भूमिकामा छन्।

प्रकाशित: १ श्रावण २०८३ १५:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App