हुम्लाको लिमी उपत्यकाको उत्तरी डाँडो लाप्चाबाट कैलाश पर्वत र मानसरोवर ताल छर्लङ्गै देखिन्छ। यो तथ्य धेरैलाई थाहा छैन। भन्ने नै हो भने गत वर्षसम्म मलाई पनि थाहा थिएन, नेपालबाट पनि कैलाश पर्वत र मानसरोवर ताल देखिन्छ भनेर। तर जब जानकारी पाएँ, मनको हुटहुटीलाई अभिलाषाको दायराभित्र नै खुम्च्याएर राख्न सकिनँ। रहर थियो– रेडियो नेपालमा सानैदेखि सुन्दै आएको सङ्गीत महर्षि नातिकाजीको सङ्गीतमा ओम गुरुङ तथा साथीहरूले गाएको भजन ‘जय जय शङ्कर’को म्युजिक भिडियो बनाउने।
त्यो रहरलाई पूरा गर्न सबैभन्दा पहिला त अनन्य मित्र मोहित मुनाललाई अनुरोध गरेँ, ‘मोहित, यो गीतमा केही नयाँपन ल्याउन सकिएला त?’ एकाध महिनामा मोहितले नेपाली भजनमा ताण्डव ढङ्गको बेजोड पुनर्संयोजन गरे र चर्चित गायक सुगम पोखरेलबाट हामीले स्वर पनि भर्यौं। गीत समापन गर्दै जाँदा मैले माथि उधृत तथ्य थाहा पाएँ– नेपालको हुम्ला जिल्ला गयो भने त्यहाँबाट कैलाश पर्वत देखिन्छ। हातमा छ– शिवजीको भजन। आफ्नै देशमा छ– कैलाश पर्वतको मनोरम परिदृश्य देखिने थुम्को।
हाम्रै शास्त्रमा लेखिएको छ– शिवजीको सर्वाधिक कठोर भक्त लङ्काधीश रावण हो, जसले कैलाश पर्वत नै उठाउने जमर्को गरेको थियो। यो कलियुगमा भगवान्को प्राप्तिका लागि जोडघटाउ नै नपुग्ने हामी त्यान्द्राजस्ता भक्तलाई त्रेतायुगको रावणको दम्भी भक्तिले पनि महादेवको प्राप्ति हुन सक्दैनथ्यो भन्ने सन्देश दिने म्युजिक भिडियो बनाउने योभन्दा उचित तथा सुनौलो मौका थिएन। चौध जनाको टोली लिएर म हुम्लाको सिमिकोट पुगेँ।
सिमिकोटका विजय लामाको बस लिएर हामी उँधो लाग्यौं। आठ घण्टाको यात्रामा डेढ घण्टा पनि बितेको थिएन, त्यो उबड–खाबड बाङ्गो–टिङ्गो बाटोको बिचैमा एउटा झरना आयो। सबैका आँखा चिम्म, मुटु ढुकढुक हुन थाले। म मनमनै हनुमान चालिसा रट्न थालेँ। जसोतसो त्यो झरना कट्दै गर्दा बसका सहचालकले प्याच्च भने, ‘यही बाटोबाट दुईवटा बस, सँगै दुईवटा चालकले परलोकको यात्रा गरिसके।’
सहचालकले किन त्यही यात्रामा यस्तो भयातुर गराउने कथा सुनाए, अहिले सम्झिन सक्दिनँ, किनकि जब त्यो बाटो कट्दै गयो अनि साइपाल हिमालको छेउछाउबाट हामी अघि लाग्यौं। तब थाहा हुन थाल्यो– कठिन बाटोबाट हिँड्नेले नै सफलता पाउँछन्। आफ्नै सिद्धान्त चरितार्थ हुन थाल्यो– कठिन यात्रा नगरी सितिमिति भगवान् भेटिँदैनन् पनि भनेर।
हुम्लाको लिमी उपत्यका पुग्ने यात्रा यस्तै यस्तै कठिन छ, त्यसमाथि छायाङ्कन गर्ने अनुमति ‘मलाई चाहियो’ भनेर कसैले यत्तिकै पाउँदैन पनि। किनकि, त्यो क्षेत्र प्रतिबन्धित आरक्षित क्षेत्र हो। तर त्यो कठिनाइलाई एक छेउमा थुपारौं– किनकि यात्राको दौरान जुन दृश्य आँखाको बाटो हुँदै हृदयको बाकसमा बन्द हुन पुग्छ, त्यसलाई कुनै पनि छायाङ्कनले कैद गर्न सक्दैन। हुम्ला त्यति राम्रो छ। उत्तरमा लाङटाङ, पश्चिममा अन्नपूर्ण देखिसकेको मान्छे म। चौध–पन्ध्र वर्षको उमेरदेखि ट्रेकिङ र हाइकिङ हिँडेको मान्छे म।
नेपालको घुम्न–लायक मानिने सबैजसो स्थानहरू भ्रमणमा हिँडिसकेको मान्छे म। तर त्यो बसमा त्यो त्रास सङ्कुचित गरेर यात्रा गरिरहँदा एउटा निर्देशकको भूमिका निर्वाह गर्नका लागि मैले कलाकारलाई उसैको सज्जित रूपमा देख्नुपरेन, नृत्य–निर्देशकलाई आफ्नो खुबी देखाउनु भनिरहनु परेन, छायाकरलाई उहाँकै मेहनत गराइरहनुपरेन। मैले देखिसकेको थिएँ, ‘यो म्युजिक भिडियो साह्रै राम्रो बन्छ।’
धरा घरिघरि आफ्नो रूप फेर्दै थियो। कहिले हरियो दुबोजस्तो घाँसमा जङ्गली घोडाहरू कुदिरहेका हुन्थे, त कहिले कतैबाट कलकल गर्दै झरना झरिरहेका हुन्थे। कहिले सेता हिमाल निलो आकाशबाट चिहाइरहेका हुन्थे, त कहिले आँखाले भ्याइन्जेलसम्मका नदीहरू हिमाल चिर्दै बग्दै हुन्थे। मेरो टोली घरिघरि घचघच्याउँथ्यो, ‘यहाँ चाहिँ पक्कै खिच्नुपर्छ है?’ आखिर आकाङ्क्षा मेरो मुटुभित्र मात्र किन सीमित रहन्थ्यो र? यो त म्युजिक भिडियो थियो– पूरा कथा बोकेको एउटा चलचित्र। चलचित्र त सबैको साझा न हो– टोलीले हुम्ला हेर्दाहेर्दै नै आफ्नो कलाकौशल देखाउन थालिसकेको थियो।
हाम्रो यात्राको पहिलो दिन हामी लाप्चा पुग्न सकेनौं। भन्नलाई मात्र आठ घण्टाको बाटो हो– तर छायाङ्कन गर्नका लागि सूर्यको किरणले साथ दिनुपर्छ। हामी साँझ चौंरीगोठमा बास बस्यौं। पहिलो दिन कैलाशको दर्शन गर्ने मनोरथ थाँती रह्यो। टोलीसँग नै हामीलाई साथ दिने दाजु विजय लामाले भोलिपल्ट बिहानै लाप्चा पुगिने ढाडस दिनुभयो। एउटै कोठामा सात–आठजनाको दरले चार–पाँच घण्टाको निन्द्रा पुर्यायौं।
भोलिपल्ट बिहान मेरो आँखा खुल्दा–नखुल्दै कलाकार बद्री तिवारीको कपालमा कृत्रिम रौं टालिँदै थिए। मैले आँखा मिच्दै गर्दा उनलाई त्यो पौराणिक पात्र रावणको भेषमा देख्दै थिएँ। सोधेँ, ‘चिसो त निकै छ बद्री। सकौला नि यो चिसोमा नाच्न?’ बद्रीले त्यो बेला के उत्तर दिए, यकिनै त सम्झिन सक्दिनँ तर उनको प्रतिप्रश्नले आशय भनिदिएको थियो, ‘त्यसैका लागि यहाँसम्म आइयो दाजु, नगरेर सुख छ र?’
भोलिपल्ट घामले साथ दियो, आकाश निकै नै निलो थियो। लिमी उपत्यकाको डाँडो उक्लिने बेलासम्म कैलाशको चाहिँ दर्शन भएको थिएन। नेपाल–चीनको सिमानासम्म पुग्नु थियो, उकालो नापिनसक्नुको ठाडो।
त्यस्तै दुई घण्टाको यात्रापछि जब बस रोकियो, मानौं सासै रोकियो। आफ्ना अगाडि कैलाश पर्वत, महादेवको घर, आदिशक्तिको घर। तल कैलाशलाई आफ्नो छातिमा बोकिरहेजस्तो प्रतिबिम्ब बोकिरहेको मानसरोवर। सास रोकियो तर मनभित्रको आस्था निचोरिँदै निचोरिँदै आँखासम्म आइपुग्यो। भलल आँसु झर्यो, ‘महादेव, तपाईंको भक्तिमा दुई शब्द कोरेको छु। मलाई आशीर्वाद दिनुहोस्।’
निर्माण संयोजक माइकलले ढुंगा ढुंगामा पिसेको टिम्मुर चटाए, ‘कसैलाई पनि लेक नलागोस् है, ५१०० मिटरको उचाइमा छौं हामी, गाह्रो पर्न सक्छ।’ उसले देखिसकेको थियो, चौधजनाको टोलीमध्ये चार जनालाई त्यो उचाइले हानिसकेको थियो। छायाकार दाजु हरि हुमागाईं र मलाई एउटै चिन्ताले खाँदै थियो– कलाकार बद्रीले पो के गर्ला त? हामी त चार पत्र लुगा लगाएर त्यो उचाइको चिसो र त्यसमा थपिने सिरेटो खपौंला रे, तर उसलाई त एउटा सुरुवालजस्तो पातलो कपडा मात्र दिइएको छ, त्यो पनि घुँडा घुँडासम्मको।
बद्रीको ढाडमा ओडाइएको कम्बल हटाइयो। उसको शरीर अर्धनग्न। क्यामरा सुचारु गरियो र पहिलो दृश्यका लागि मैले कराएँ, ‘एक्सन !’ ५१०० मिटर उचाइको चिसोमा रावणलाई नाङ्गै नचाइयो।
दृश्याङ्कन हुनेबित्तिकै मैले कराएँ, ‘केटा हो, बद्रीलाई छोप।’ चिसो निकै नै थियो, नृत्यनिर्देशक किरण थापालाई गाह्रो हुँदै गरेको देखिसकेको थिएँ। ‘किरणलाई तातो केही खुवाऊ है,’ भन्दै थिएँ, पछाडिबाट संयोजक माइकल मलाई कराउँदै थिए, ‘सर, भेप नतान्नुस् न हौ, अहिले तपाईंलाई रिँगटा लाग्छ अनि हामी के गर्ने?’
मलाई मेरो आफ्नो चिन्ता थिएन, टोली ठिक छ भने म ठिक, दृश्य ठिक छ भने मेरो अभिप्राय ठिक। गएर बद्रीलाई सोधेँ, ‘भाइ, सक्छौ नि हैन?’ बद्रीले सहमतिमा आफ्नो मुन्टो हल्लायो। दुई घण्टा जति हामीले त्यही थुम्कोमा नै बितायौं, अनि बल्ल बिस्तारै तल तल सर्दै आयौं। छायाकार हरि दाइ भन्दै हुनुहुन्थ्यो, ‘महादेवको कृपा लाग्या छ कि क्या हो हामीलाई?’ उहाँको भनाइ मूलतः बद्रीलाई इङ्गित गर्दै थियो, जो त्यो चिसोमा शरीर नढाकी नै आफ्नो मेहनत गर्दै थियो।
नभन्दै कैलाश पर्वतको आशीर्वाद लागेसरह नै भयो हामीलाई। टोलीको सुझाउ जे थियो, त्यही गर्दै गयौं हामी। कहिले नदीमा पस्यौं, कहिले हिउँमा, कहिले जङ्गल छिर्यौं, कहिले पाखामा। ‘जय जय शङ्कर, जय महादेव, जय जय शम्भो, जय महादेव’, भन्दै गाउँदै झरनामा छायाङ्कन गर्यौं, हिमालमा टेकेरै छायाङ्कन गर्यौं, दिनमा गर्यौं, रातमा पनि गर्यौं।
आज त्यो जमर्को सम्झिँदा अत्यास लाग्दैन। त्यो भिर र त्यो ढुङ्गेबाटोमा चलिरहेको बसभित्रको यात्रा सम्झिँदा कहाली लाग्दैन। त्यो फोन लाग्ने त परको कुरा, फोन चार्ज पनि गर्न नसकिने विकट संसार सम्झिँदा अनकन्टार लाग्दैन किनकि जुन भिडियो तयार भएको छ– मलाई थाहा छ, त्यस्तै भिडियो बनाउन हामी चौध जना जत्तिकै साँढे–खप्पर हुनुपर्छ। मैले यो प्रश्नसँग साक्षात्कार हुनु पनि परेको छ, ‘तिमीहरू हिमाल खोज्नकै लागि किन त्यहाँ पुग्नुपरेको त?’
म उत्तरमा यत्ति मात्र भन्छु, ‘मैले जुनसुकै हिमाल देखाउन खोजेकै होइन, कैलाश देखाउन खोजेको हुँ। र नेपालबाट नै कैलाश देखाउने कुनै चलचित्र छ भने त्यो यही भिडियोमा मात्र छ। हेर्न चाहनुहुन्छ भने डिजिसेन्स नेपालको युट्युबमा पक्कै हेर्नुहोला।’ र बनेको छ पनि– महादेवमा समर्पित भिडियो कैलाशलाई नै सम्मुखमा राखेर दृश्याङ्कन गरिएको एउटै मात्र पृथक् चलचित्र। र त्यो कैलाश, हाम्रै हुम्लाबाट छायाङ्कन गरिएको छ।
–विजय अधिकारी ‘जय जय शङ्कर’ भजनका गीतकार र उक्त म्युजिक भिडियोका निर्देशक हुन्।
प्रकाशित: २१ भाद्र २०८२ ०८:४३ शनिबार