फागुन रङहरूको महिना मात्र होइन
ऋतु परिवर्तनको चक्र मात्र पनि होइन
यो स्मृतिको महिना पनि हो
जहाँ इतिहासले माटोबाट उठेर प्रश्न गर्छ
के हामीले वास्तवमै सही गर्यौं?
के गल्तीहरूबाट पाठ सिक्यौं?
हामीले देखेका छौं
युद्ध कसरी सुरु हुन्छ
नाराबाट, आक्रोशबाट
अन्यायविरुद्ध उठेका
सही प्रश्नहरूको आगोबाट।
तर हामीले त्यो पनि देखेका छौं
तिनै प्रश्नहरू कसरी बिस्तारै
बारुदको भाषामा बदलिन्छन्
र न्यायको नाममा उठेको आवाज
भय र अविश्वासमा हराउन थाल्छ।
युद्ध अचानक जन्मिँदैन
यो असमानताका खाडलहरूमा उम्रिन्छ
राजनीतिक बहिष्कारमा झ्याङ्गिन्छ
आर्थिक अन्यायमा अघि बढ्छ
र अन्ततः समाजलाई नै जलाउँदै फैलन्छ
तर आज हामी स्पष्ट छौं
कारणहरू जति गहिरा र यथार्थ भए पनि
हिंसा समाधान हुन सक्दैन
कुनै बेला हामीले पनि
विश्वास गरेका थियौं
गोलीले इतिहासको गति बढाउँछ
अन्याय अत्याचार सबै हटाउँछ
आज आफ्नै अनुभवले सिकाएको छ
गोलीले अवस्था बदल्दैन
घाउ मात्र गहिरो बनाउँछ।
युद्धले राज्यलाई मात्र चुनौती दिँदैन
गोलीले दुस्मनलाई मात्र निसाना बनाउँदैन
यसले समाजलाई पनि थकाउँछ
विद्यालयलाई पनि शोकमग्न बनाउँछ
अर्थतन्त्रलाई अघि बढ्न रोक्छ
र परिवारलाई विभाजित गर्छ
कतै कलिला युवतीहरूको सिन्दूर पुछिन्छ
कतै बालबालिकाहरू टुहुरा बन्छन्
बुढाबुढीहरू बेसहारा हुन्छन्
र सबैभन्दा बढी मानिसको आत्माभित्र
अविश्वासको बिउ उम्रिन थाल्छ।
त्यसैले युद्ध
न्यायको ‘सर्टकट’ होइन
राज्य र जनताबिच
संवाद असफल भएको
सबैभन्दा ठुलो प्रमाण हो।
हामी अस्वीकार गर्छौं
त्यो विचारलाई
जसले परिवर्तनको नाममा
मानवतालाई स्थगित गर्छ
हामी अस्वीकार गर्छौं
त्यो विचारलाई
जसले युवालाई
भविष्य निर्माणमा होइन
मोर्चामा पठाउँछ
र बालबालिकाको हातबाट
कलम खोसेर बन्दुक थमाउँछ।
हामी स्विकार्छौं
अन्याय थियो असमानता थियो
संरचनात्मक बहिष्कार थियो
तर आज हामी स्पष्ट छाैं
असमानता हिंसाबाट अन्त्य हुँदैन
न्याय बन्दुकबाट प्राप्त हुँदैन
न्याय जन्मिन्छ
संरचनात्मक सुधारबाट
धैर्य र संयमताबाट।
आजको क्रान्ति
गोलीको आवाज होइन
जिम्मेवारी वहन गर्ने
नैतिक साहस हो
र नैतिक साहस
मार्ने क्षमतामा होइन
जिउन दिने निर्णयमा
मापन हुन्छ।
यदि फागुन
नयाँ रङ र नयाँ पालुवाको
महिना हो भने
हामीले हिंसाको स्मरण गर्ने होइन
न्यायको भविष्य रोप्नुपर्छ।
त्यसैले आज फेरि घोषणा गर्छौं
हामी युद्ध अस्वीकार गर्छौं
हामी हिंसा अस्वीकार गर्छौं
हामी भयको राजनीति
अस्वीकार गर्छौं।
हामी संवाद रोज्छौं
हामी संरचनात्मक सुधार खोज्छौं
न्यायको लामो तर
शान्तिपूर्ण बाटो रोज्छौं।
किनकि सत्ता क्षणिक हुन्छ
तर युद्धका घाउहरू
पुस्तौंसम्म बाँकी रहन्छन्।
र ढिलै सही
इतिहासले कहिल्यै पनि
हिंसालाई वैध ठह¥याउँदैन
हिजो क्रान्ति भनिएको
हिंसाको त्यो बाटो
आज आफैं इतिहासको
प्रश्न बनेर उभिएको छ।
र समयले
हामीलाई सम्झाएको छ
हिंसाको त्यो बाटो
क्रान्ति थिएन
युद्ध थिएन
हाम्रो इतिहासको
कालो धब्बा थियो।
प्रकाशित: ७ चैत्र २०८२ ११:४३ शनिबार