कला/साहित्य

अनुत्तरित सवाल

लघुकथा

‘हेल्लो कहाँ हुनुहुन्छ?’ रनिताले हडबडाउँदै पतिलाई फोन गरी।

‘म कामतिरै छु, किन र?’ रघुले आतिंदै सोध्यो।

उनका बाबु शिवनाथ दमले थलिएकाे धेरै वर्ष भएको थियो। बाबुलाई गाह्राे भएको पत्नीको फोन गराइबाटै लख काट्यो र जवाफै नपर्खी काम छोडेर घरतिर हान्नियो।

बाबुलाई नियाल्दै रघुले सोध्यो, ‘गाह्राे भयो कि क्या हो तपाईंलाई?’

‘छाती अलि अप्ठेरो भए जस्तो भयो बाबू!’ शिवनाथले उठेर अडेसा लाग्दै मलिन स्वरमा भने।

रनिताले ससुरालाई तातो पानी दिंदै भनिन्, ‘अस्पताल पो लानुपर्ला कि एकफेर!’

‘पर्दैन बुहारी, हुन्देओ, बिस्तारै बिसेक होला नि!’ शिवनाथले पानी पिउँदै आशालु लवजमा भने।

‘कहाँ त्यसाे भनेर हुन्छ, जानुपर्छ नि अस्पताल!’ यति भन्दै रघुले एम्वुलेन्स बोलायो र अस्पताल पुर्‍यायाे।

उसले आकस्मिक कक्षमा भर्ना गर्‍याे। केही क्षणमा नर्स आएर जाँचपड्तालपछि स्लाइन चढाउँदै भनिन्, ‘अब डक्टर आएर हेर्नुहुन्छ है?’

रघुले आतिंदै सोध्यो, ‘कतिखेर आउनुहुन्छ डाक्टर साप?’

‘आज विदाको दिन, अब  भरे राति ६ बजे मात्र आउनुहुन्छ!’ भन्दै नर्स क्याविनतिर लागिन्।

उसले घडीमा नजर लायो। घडीले भर्खर दिउँसोको २ बजाउँदै थियाे।

‘ओहो!’ भन्दै बाबुतिर हेर्‍याे।

उसले झटपट नाम चलेका एक परिचित नेतालाई फोन गर्‍याे र सबै बेलिविस्तार लगाउँदै बाबुको छेउमा टुसुक्क बस्यो।

यो सबै टुलुटुलु हेरिरहेका बाबुले निस्तेज स्वरमा तिक्तता पोख्दै भने, ‘मेरो विरामीको उपचारका लागि डाक्टरलाई भनिदेऊ भनेर नेता गुहार्नुपर्ने, यो कस्तो व्यवस्था ल्यायौ बाबू हो, तिमीहरूले!’ 

प्रकाशित: ३ माघ २०८२ १३:१९ शनिबार