कला/साहित्य

‘कर्णाली तिर’ सार्वजनिक

कर्णालीका पहाडी बस्तीबाट रोजगारीको खोजीमा दिनहुँजसो युवाहरू बाहिरिने क्रम बढिरहेका बेला त्यसले परिवार, समाज र गाउँमा पारेको प्रभावलाई समेट्दै गायक अर्जुन सुनारको नयाँ गीत ‘कर्णाली तिर’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

शनिबार जुम्लाको सदरमुकाम खलंगामा आयोजित कार्यक्रममा भिडियो सार्वजनिक गरिएको हो। प्रमुख जिल्ला अधिकारी दीपक पौडेल र प्रहरी नायव उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालले संयुक्त रूपमा रिबन काटेर भिडियो सार्वजनिक गरेका थिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले कर्णालीको सामाजिक–आर्थिक यथार्थलाई कलामार्फत प्रस्तुत गर्ने प्रयास प्रशंसनीय रहेको बताए। उनले रोजगारी, अवसर र पूर्वाधारको अभावका कारण गाउँबाट भइरहेको युवापलायनले निम्त्याएको पारिवारिक विछोडलाई भिडियोले मार्मिक रूपमा चित्रण गरेको उल्लेख गरे।

भिडियोले कर्णालीका पहाडी गाउँको त्यो यथार्थ बोकेको छ, जहाँ अभावसँग संघर्ष गर्दै हुर्किएका युवाहरू आफ्नै गाउँमा भविष्य नदेखेपछि परिवार र जन्मभूमि छाड्न बाध्य हुन्छन्। घरको आर्थिक अवस्था सुधार्ने सपना बोकेर बाहिरिने एक युवकको कथामार्फत भिडियोले हजारौं कर्णालीवासी परिवारको साझा पीडालाई अभिव्यक्त गरेको छ।

मुख्य भूमिकामा रहेका अर्जुन सुनारले श्रीमती र सानो सन्तानलाई गाउँमै छाडेर परदेशिन बाध्य पात्रको भूमिका निर्वाह गरेका छन्। राज्यलक्ष्मी नेपालीले उनकी श्रीमतीको भूमिका निभाएकी छन्। भिडियोमा आर्थिक अभावले सिर्जना गरेको दूरी, श्रीमान्–श्रीमतीबीचको आत्मीय सम्बन्ध, अनिश्चित भविष्य र पुनर्मिलनको प्रतीक्षालाई संवेदनशील ढंगले प्रस्तुत गरिएको छ।

कर्णाली नदी आसपासका दृश्य, सुनसान बस्ती, रित्तिँदै गएका घर–आँगन र वृद्धवृद्धा तथा महिलाको एक्लोपनमार्फत युवापलायन केवल आर्थिक विषय मात्र नभई सामाजिक संकटका रूपमा स्थापित भएको सन्देश भिडियोले दिन खोजेको छ। गाउँमा श्रमशील युवा घट्दै जाँदा उत्पादन, संस्कृति र सामाजिक संरचनामै परेको असरलाई पनि दृश्यहरूमा संकेत गरिएको छ।

भिडियोमा कर्णाली क्षेत्रको मौलिक संस्कृति, भेषभूषा, भाषा, रहनसहन र भौगोलिक विशेषतालाई समेत समेटिएको छ। यसले मनोरञ्जनसँगै कर्णालीको यथार्थलाई राष्ट्रिय बहसको विषय बनाउने प्रयास गरेको देखिन्छ। गीतको निर्देशन आयुष शाहीले गरेका हुन्। कथा राजेश विश्वकर्माको रहेको छ भने छायांकन प्रकाश विश्वले गरेका छन्।

दुर्गा रावत निर्माता रहेको भिडियोको सम्पादन मदन नेपालीले गरेका हुन्। सम्पादक मदन नेपालीका अनुसार ‘कर्णाली तिर’ केवल एउटा गीतको भिडियो नभई अवसरको खोजीमा गाउँ छाड्न बाध्य नेपाली युवाको जीवनभोगाइ र त्यसबाट उत्पन्न सामाजिक–पारिवारिक असरको प्रतिनिधिमूलक कथा हो।

प्रकाशित: १७ जेष्ठ २०८३ १०:४८ आइतबार