"लु बा! गाडी आएछ, तयार हुनुस् त! " नरेशले बुढा बाबुलाई आग्रह गर्दै भन्यो।
"बुढेसकालमा मलाई यो के गर्न लागेको नरेश तैंले?" उनी पिलपिलाए।
"म अफिस जानपर्छ, बुहारी पनि काममा जान्छिन् अनि तपाईंलाई कसले रुँगेर बस्न भ्याउँछ?" नरेशले बाउलाई सम्झाउने कोसिस गर्दै भन्याे।
"यो बुढेसकालमा म एक्लै कहाँ जाउं बाबू!" उनका आँखा एकाएक द्रवीभूत भयाे।
"तपाईंको स्याहारसुसार गरेर बस्ने हामीसँग समय छैन बा! राम्रो सुविधासम्पन्न ठाउँको व्यवस्था गरिदिएका छौ। बस्नुस् गाडीमा, हामी फुर्सद मिलाएर बेलाबखत भेट्न आइरहन्छौ!" गाडीको ढोका खोल्दै नरेशले भन्यो।
"छोरा, नातिसँग बस्ने बेला तेसो नभन् न बाबू!" नातिको कपाल मुसार्दै उनले छोरासँग अनुनय गरे।
बाबुको लुगाफाटो गाडीमा लागाइदिंदै नरेशले बाबुतिर फर्केर भन्यो, "मलाई पनि तपाईंहरूको न्यानो काखमा खेल्ने रहर हुँदाहुँदै पनि उबेला तपाईंहरूसँग समय नहुँदा मैले पनि होस्टलमा एक्लै बाल्यकाल बिताएकै हो बा!"
प्रकाशित: १४ जेष्ठ २०८३ १२:०६ बिहीबार



