कला/साहित्य

तिहारको सौगात

लघुकथा

दसैंपछिको दोस्रो ठूलो चाड तिहारको चहलपहल सर्वत्र सुरु भैसकेकाे बेला छ। पसलबजारमा भाइमसला र लक्ष्मीपुजा गर्ने सामान जुटाउन एकातिर भियाईनभियाई छ भने अर्कोतिर  सेल, अनरसा आदि नाना परिकार बनाउने सामान जुटाउनु छ। मखमल, गोदावरी र सयपत्री माला तयार पार्नु पनि तयार पार्नु छ।

प्राय: छोरीबेटी तिहारमा भाइमसला, रोटीका परिकार आदि सर्दाम र शिरपोस सबैले दिन्छ्न्। सक्नेले दाजुभाइलाई लुगा पनि दिन्छन्।

उमा र रमा जम्ल्याहा दिदीबैनी थिए। उमा दस मिनेट पहिले जन्मेर दिदी थिइन्।

उमाको श्रीमान् नेतागिरी गर्थे। घर पनि ठूलो थियो। आउने चुनावमा टिकट पाउने आसले माथिल्ला नेताहरूले जे भने नि "हस् , हजुर "भनेर पछि लाग्थे।

रमाको श्रीमानलाई पनि पार्टी भित्र छिराउन कोसिस गरे तर उनले मानेनन्। एमए पास उनी क्याम्पस पढाउँथे अनि आफ्नो जे जति खेतीपाती छ त्यतै रमाउँथे। उनीहरू घरमा पुगेसम्म आफ्नै खेतीका अर्गानिक अन्नबाली र सागपात खान्थे।

लोग्नेले नेता भएर कमाएको धनमा उमा गौरव गर्थिन्। बैनीलाई गरिव भनेर खिसी गर्दथिन्। उनको लवाइखवाइ उच्च थियो।

दुवैको एउटा भाइ मात्र थियो। तिहारमा उमाले नाम चलेका मिठाई, फलफूल, मसला तडकभडकका साथ लिएर टीका लगाउन माइत आइन्।

रमा पनि किसिमकिसिमका आफ्नै खेतीका बदाम, आलस गाजरबाट बनेका धेरै किसिमका मिठाई, घरकै ताजा घिउमा पकाएको सेल, अनरसा, फिनी, गोजी, झिलैया आदि मिठाई र फलफूलमा पनि मार्फाको स्याउ, पोखराको सुन्तला आदि लगिन्। मखमली, गोदावरी आदि फूल पनि आफ्नै बगैंचाको थियो।

टीका लगाउन बसेको भाइ गोपी दुई दिदी आफूलाई दिने फरक सौगात देख्दा आफू पढेलेखेको भएर पनि "रमा दिदी कस्ती लोभी भएकी होला। म एउटै त भाइ थिएँ" भन्ने सोच्न थाल्यो। दक्षिणा दिंदा पनि रमालाई उमा भन्दा थोरै दियो।

टीका सकिएपछि उमाले दिल्लीबाट झिकाएको मिठाई चाख्छु भनेर एउटा खायो। कस्तो मीठो भनेर अर्को पनि खायो। खाँदा खादै धेरै नै खाएछ। उसलाई सञ्चाे भएन। दिसा लाग्यो। बान्ता पनि भयो। रातभरि दिसा र बान्ता लाग्यो। अस्पताल नै भर्ना गर्नुपर्‍याे। उसकाे सुगर, प्रेसर, कोलेस्टर सबै हाई भएको डाक्टरी रिपोर्टले बतायो।

प्रकाशित: ४ कार्तिक २०८२ १७:२० मंगलबार