कला/साहित्य

उज्यालाेकाे प्रतीक ‘तिहार’

तिहार भन्नेबित्तिकै रङको पर्व, मालाको पर्व, भेटघाटको पर्व र खुसीको पर्वको रूपमा लिने गर्छौं। यो सम्बन्धको पर्व हो जसले चेली र माइतीको सम्बन्ध स्थापित गराउँछ। यो सामाजिक गतिविधिको पर्व पनि हो। यो पर्वलाई सामाजिक चेतना र प्रतीकको रूपमा लिइन्छ। नेपालीहरूको महान पर्व तिहार वा दिपावली र यसको अवसरमा हुने सामाजिक कार्यले समाजमा महत्त्वपूर्ण भूमिका खेलेको छ।

देउसीभैलोको नामबाट हाम्रो संस्कार र संस्कृतिको जगेर्ना भएको छ। संस्कार र संस्कृति भनेको राष्ट्रको धरोहर हो। यसले जातीय पहिचान कायम गरेको छ भने धार्मिक पहिचान पनि जगेर्ना गरेको छ।

तिहारले आस्था र विश्वासको सिर्जना गरेको छ। यसै पर्वको समय बनाएर विभिन्न संघसंस्थाले विभिन्न सामाजिक कार्यको थालनी गरेका छन् भने भेटघाट र चिनजानको वातावरण बनाएका छन्। भेला, छलफल मार्फत विभिन्न सामाजिक परोपकारका कामहरूको थालनी भएको पनि देखिन्छ।

यो पर्व कार्तिकमा मनाइने भएकाले आम नेपाली नागरिकमा दानदक्षिणा गर्नुपर्छ भन्ने मान्यता छ। दान गरियो भने ग्रहदशा जान्छ भन्ने जनविश्वास भएकाले कार्तिके दान वा कार्तिकमा दान दिनु भनेको ग्रह दशा नाश गर्नु हो वा काट्नु हो भन्ने मान्यता छ। जुन कार्य सत्ययुगदेखि चलिआएको छ भने बारम्बार बलि राजाको नाम लिने गरिन्छ। बलि राजाले सामाजिक रूपमा उनको जनतालाई जनताको घरमा दान माग्न पठाएको किम्वदन्ती पाइन्छ।

शंखधर शाख्वाले ऋणबाट जनतालाई मुक्त गराएबापत नेपाल सम्वत् र उनलाई राष्ट्रिय विभूति घोषणा गरिएको छ। उनले गरेको तिहारको समयको महान् सामाजिक कार्यले आज उनी सम्मानित भएको छ र यसकै आधारमा धेरैले सिको सिकेर सामाजिक कार्यको थालनी गरेको भन्दा पाप नलाग्ला। यो कुराले पनि आम जनमानसमा सहकार्य, सहयोग, सद्भाव जस्ता प्रणालीको विकास भएको छ।

तिहार भनेको क्षमता अभिवृद्धि गर्ने पर्व हो। यो सिर्जनशील बनाउने पर्व हो। लक्ष्मी पूजाका दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म परेको हुँदा हरेक वर्ष लक्ष्मीपूजाको दिन भनेको साहित्यप्रेमीहरूका लागि साहित्यिक दिन पनि हो।

देउसी र भैलोको आशीषको माध्यमबाट समाजमा सामाजिक कार्यप्रति र प्रगतितर्फ उत्प्रेरणा जगाउने काम भैरहेको पनि देखिन्छ। यसले सकरात्मकता छरेको छ। त्यसैले यो नकरात्मकताको पर्व होइन।

धनतेरसका दिन धन जोड्नुपर्छ भन्ने मान्यताले बचतको बानी निर्माण गरेको छ। ठूला मान्छेहरूले अरू बेला पनि खादा तथा दोसल्ला लाउँछन्, माला लाउँछन् भने त्यस्तो अवसर नपाएकाहरूले चेलीबेटीबाट सम्मानित हुने अवसर पाउँछन् र सबैले माला लगाउँछन्।

माला लगाउनु भनेको सम्मानित हुनु हो भने माला लगाइदिनु भनेको सम्मान गर्नु हो। त्यसैले तिहारलाई सामाजिक सम्मान तथा पारिवारिक सम्मानको पर्व हो भन्दा फरक पर्दैन। यो मायाको पर्व हो। यो मेलमिलापको पर्व हो। यसले सामाजिक एकता सँगसँगै पारस्परिक सहयोग गराउँछ भने यो मानवीय भावनाको प्रतीक हो।

भूतपूर्व सैनिकले आफ्नो दल, गुल्म, गणको नाममा सङ्गठन बनाएर देउसी खेली भेटघाट हुने, भूपू प्रहरीहरू र सशस्त्र प्रहरीले पनि आफ्नो संगठन बनाएर देउसी खेल्ने, जमघट हुने र रमाइलो गर्ने गर्दछन्।

त्यसै गरी विभिन्न राजनैतिक दलको घरमा जाने, दलीय देउसी  खेल्ने, औद्योगिक देउसी खेल्ने, विभिन्न समूहको नामबाट देउसी खेल्ने लगायतका कार्य गरी रकम संकलन गरेर विभिन्न परोपकारको काम गर्ने, वनभोज खाई भेटघाट गर्ने र पारिवारिक वातावरण कायम गर्ने लगायतका काम गर्दछन्। दान स्वेच्छिक हुने भएकाले करकाप त हुँदैन तापनि कुनै काम गर्नु पर्दा न्यूनतम सर्त राखेका हुन्छन्। तिहारमा धेरै सामाजिक कार्य हुन्छ। त्यसैले तिहारलाई सामाजिक उज्यालाेकाे प्रतीक रूपमा लिँदा केही फरक पर्दैन। म यहाँ सामाजिक केही कार्य उल्लेख गर्दै छु,

१. शिक्षाका लागि रकम सङ्कलनः

धेरै शैक्षिक संस्था देउसीभैलो खेलेर, आफ्ना अभिभावकहरूबाट स्वेच्छिक दान लिएर त्यसको रकमले पुस्तकालय खडा गर्न, शिक्षक राख्न, भवन निर्माण गर्न र अक्षयकोष खडा गर्न दान सङ्कलन गर्दछन्।

शैक्षिक संस्थाहरूले आमा समूह, पूर्व विद्यार्थी समूह र अभिभावक समूह बनाएर दान सङ्कलन गरेको देखिन्छ। यो कार्यले सामाजिक रूपान्तरण र शैक्षिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ।

बालबालिकाले संस्कार, संस्कृतिको ज्ञान लिन्छन् भने कमाएको चिज उपयुक्त क्षेत्रमा दान गर्नुपर्छ भन्ने थाहा पाउँछन्। यसले सहयोग र एकताको भावनाको विकास गराउँछ भने नैतिक शिक्षाको ज्ञान दिलाउँछ।

 यो बालबालिकाका लागि जीवनोपयोगी सीप पनि हो। यसले बालबालिकालाई सिर्जना, समालोचना, सञ्चार, सद्भाव, सदव्यवहार गर्न सिकाउँछ। यसले बालबालिकालाई सदैव अन्धकारमाथि उज्यालोको जित हुन्छ भन्ने ज्ञान दिने पर्वको रूपमा बुझाउँछ,

२. साहित्यको विकास गराउने पर्वः

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म तिथि परेको कारण विभिन्न साहित्यिक संघसंस्थाले देउसी खेलेर रकम सङ्कलन गरी सामाजिक कार्य गर्न तल्लीन देखिन्छ। कविता वाचन गर्नेदेखि लिएर सरसफाइ गर्ने कार्य पनि हुन्छ। साहित्यिक गतिविधि मार्फत तिहार लगायत विभिन्न चाडपर्व र सामाजिक गतिविधिबारे उल्लेख गरेको पाइन्छ। यसले सिर्जनात्मक क्षमताको विकास गराउँछ,

३.खेलकुद कार्यक्रम गर्नेः

गाउँघरमा भलिबल, फुटबल, ब्याडमिन्टन जस्ता खेल पनि तिहार आउने बेलामा गर्ने र संघसंस्था मार्फत यस्ता कार्यको देउसीभैलोका खेल खेलेर यसबाट प्राप्त भएको दानदक्षिणाबाट ऋण तिर्ने चलन छ। यसले शारीरिक तन्दुरूस्ती गराउँछ,

४. देउसीको माध्यमबाट विवाह लगायत अन्य कार्यका लागि थालभाँडा किन्ने गरेको पाइन्छ। जुन सामाजिक काम हो। देउसी समूह बनाएर भाँडाकुँडा राख्ने चलन छ भने हाल देउसी भवन पनि बनाएका छन्।

यो सामाजिक एकताको प्रतीक हो। सामाजिक विश्वासको आधार हो। यसले समाजमा पर्ने समस्याको हल गर्छ। पहिले कार्जे हुँदा टपरामा खानेकुरा दिने चलन थियो। अहिले थाल, बटुका र गिलासमा दिइन्छ। थोरैथोरै जम्मा गरेर बटुलेर ठूल्ठूला काम पनि भएका छन् जुन काम व्यक्ति एक्लैले गर्न सक्दैन थियो,

५. वृद्ध (जेष्ठ नागरिक), एकल व्यक्तिहरू, अनाथ र असहायहरूको घरमा गएर लुगाफाटो बाँड्ने, खानेकुराहरू दिने जस्ता सामाजिक कार्य गरेको पाइन्छ,

६. मठमन्दिर, सार्वजनिक बाटो, पुलपुलेसोहरूमा बत्ती बाल्नु, सरसफाइ गर्नु लगायतका कार्य हुनु,

७. गीत, संगीत, नृत्य, कमेडीको माध्यमबाट समुदायमा एकता जगाउँदै सकरात्मक सन्देश फैलाउनु,

८. सामाजिक घर, गेटहरू, बाटो, स्वास्थ्यचौकी, प्रहरीचौकी लगायतका कैयौं सामुदायिक भवन पनि बनाउने काम भएका छन्।

तिहारको नाममा केही विकृतिविसंगति पनि छन्। सामाजिक एकताको नाममा साथीहरू भेला भएर जाँडरक्सी खाएर झगडा गर्ने, कुटपिट गर्ने, जुवातास खेलेर धन नाश गर्ने र झगडा गर्ने जस्ता कार्यले समाजमा असर पनि पारेको छ।

कैयौं मान्छेको ज्यान नै गएको छ। कैयौं मानिस घरबारविहीन भएका छन्। वास्तवमा तिहारले दिन खोजेको सन्देश त्यो होइन। सामाजिक परिवेशले त्यस्तो बनाइदिएको छ। जुन गलत हो भनेर बुझ्नु आवश्यक छ। समाजले खोजेको एकता हो, विभाजन र झगडा होइन भन्ने बुझ्नु आवश्यक छ।

निष्कर्षमा भन्दा यो उज्यालोको पर्व हो। सामाजिक उज्यालाेकाे प्रतीक हाे तिहार। गलामा लगाएको मालाले मान्छेलाई उज्यालो बनाउँछ भने घरको ढोकामा लगाएकाले घर उज्यालो, गाग्री, अम्खरा उज्यालो बनाउँछ। दुबोले अनन्त उज्यालो बनाउँछ। बत्तीले रातको अँध्यारोलाई उज्यालो बनाउँछ।

भेटघाटले एक आपसमा आत्मिक उज्यालो बनाउँछ। सप्तरंगी टीकाले दिदीभाइको शिर उज्यालो बनाउँछ। सामाजिक गतिविधि र कार्यले समाज उज्यालो बनाउँछ। दिएको दानले मन उज्यालो बनाउँछ। घरमा बालेका रङ्गीन बत्तीहरूले घर र संसार उज्यालो पार्छ।

तिहार सामाजिक एकताको प्रतीक हो, प्रेम, विश्वास र जिम्मेवारीको प्रतीक हो। यसले सहअस्तित्व, करूणा र कृतज्ञताको पाठ सिकाउँछ।

प्रकृतिसँग सन्तुलन कायम गराउँछ। बाहिरी संसारिक वातावरण पनि फूलमय बनेको हुन्छ। जताततै फूल फुलेका हुन्छन्। तिहारले मानिसमा मात्र होइन यसले जीवजनावरमा पनि एकता र मायाप्रेम दिलाएको हुन्छ। कागले म्यासेन्जरको भूमिका निर्वाह गर्छ भने कुकुरले रेखदेख गरेर सेवा गरेको हुन्छ। गाईलाई माताको रूपमा विश्वास गरिएको छ भने गोरू कर्मठ र कर्मशील जनावरको रूपमा लिइन्छ। यिनीहरूले त मान्छेको सेवा गरेका छन्। यी जनावरप्रति उत्तरदायी हुने काम मानिसहरूको हो।(स्रष्टा बस्नेत शारदा उच्च माध्यमिक विद्यालय, खार्पा, खोटाङका प्रधानाध्यापक हुन्।)

प्रकाशित: ५ कार्तिक २०८२ १३:१९ बुधबार