कला/साहित्य

प्रेम गर्नेलाई मायाकै अथाह खानी चाहिन्छ!

मुक्तक

१) मुक्तक

गैरी खेतमा मार्सी धान झुलेको साह्रै याद आउँछ

आँगन बार्दलीमा मखमली फुलेको साह्रै याद आउँछ

मै परदेशीलाई सधैं रेट्छ सपनीमा पनि चाडबाडले

दशैँमा पिङ तिहारमा देउसी खेलेको साह्रै याद आउँछ।

२) मुक्तक

बाँच्नलाई सास र निर्मल पानी चाहिन्छ

सुन्दर संसार हेर्न आँखाको नानी चाहिन्छ

रूखो वचन नलगाउ प्रिय सुन्न सक्दिनँ म

प्रेम गर्नेलाई मायाकै अथाह खानी चाहिन्छ।

३) मुक्तक

एक अर्कामा माया गरौँ आऊ माया

मायासँगै मन पनि साटौँ आऊ माया

एक्लै जीवन कटाउन त मुस्किल हुन्छ

सुन्दर जिन्दगीसँगै काटौँ आऊ माया।

४) मुक्तक

नभेट्नु थियो भेटिहाल्यौँ तिमीसँग

नबोल्नु थियो बोलिहाल्यौँ तिमीसँग

भेटेर बोलेपछि माया बस्यो के गरूँ

नछुट्नु थियो छुटिहाल्यौँ तिमीसँग।

५) मुक्तक

पीडामा हुँदा मेरो काखमा बासी रूनु है माया  

मनको पीडा आँसुले हाँसीहाँसी धुनु है माया

सबै दुख, पीडा, कष्ट मै लिइदिउँला तिम्रो  

बन्नू तिमी धनसँगै मनराशि चन्द्र छुनु है माया।

६) मुक्तक

कत्ति पनि तिमीसँग भेट हुन्छ भनेर सोचेकै थिएन

साँच्चै एकै नजरमा प्रेम बस्छ भनेर सोचेकै थिएन

भेटपछि माया बस्यो मनमुटु साट्यो एक अर्कामा

हाम्रो मिलनपछि विछोड हुन्छ भनेर सोचेकै थिएन।

७) मुक्तक

सहरतिर घुम्न जान्छु भनेर दैलोबाट निस्क्याै तिमी

तिनै दिनदेखि साँच्चै मेरो नजरबाट निस्क्याै तिमी

घुम्ने जाने त मसँग टाढिने बहाना मात्रै रहेछ

फोनमा विजी देखेपछि मेरो जीवनबाट निस्क्याै तिमी।

८) मुक्तक

झुक्याउँदै तिमी अघि बढ्दै काम चलाऊ

यसै त्यसैगरी दुनियाँमा तिम्रै नाम चलाऊ

आफ्नै सम्झी माया दिएँ इज्जत लुटेर गयौ

सक्छौ भने आफ्नै चेलीको बैँसमा दाम चलाऊ।

९) मुक्तक

तिमीसँग मायाको भिक माग्दैछु सुनिदेऊ मलाई

अवश्य धोका दिन्न तिम्रो जुनी देऊ मलाई

मैले तिमीलाई प्रेम गरेर अपराध नै गरे रहेछ भने

त्यसको बदला दिलको कारागारमा थुनिदेऊ मलाई।

१०) मुक्तक

रातको जून हौ तिमी

दिनको घाम हौ तिमी

तिमी नभए चल्दैन यहाँ 

म बाँच्ने आधार हौ तिमी।

प्रकाशित: १४ कार्तिक २०८३ ११:१९ शनिबार