समुन्द्र भट्टको निर्देशनमा बनेको चलचित्र गुन्यु चोलो भदौ १३देखि प्रदर्शनमा छ। चलचित्रमा अभिनेता नाजिर हुसेनको मुख्य भूमिका छ। चलचित्रमा नजिरसँगै सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले अभिनय गरेका छन्।
‘गुन्यु चोलो’ लैंगिक अल्पसंख्यकको कथामा बनेको नेपालको पहिलाे चलचित्र हो । यसमा एक लैंगिक अल्पसंख्यकले नेपाली समाजमा भोग्ने पहिचान, दुव्र्यवहार र सामाजिक समायोजनको समस्या देखाइएको छ ।
चलचित्रको प्रारम्भमा एक गाउँको पृष्ठभूमि देखाइएको छ। त्यहीँ गाउँका कुलबहादुर थापाको दम्पतीले छोराको आशैआशमा तीन छोरी जन्माएपछि बल्ल एक छोरा पाउँछन्। पहिला लाहुरे रहेका कुलबहादुरको छोरालाई पनि आफूजस्तै लाहुरे बनाउने बुवा सपना हुन्छ। तर छोरा देव(नाजिर)लाई भने सानैदेखि केटीजस्तै नाच्न, गाउन, केटीकै पहिरन लगाउन, सिँगार पटार गर्न रहर हुन्छ । तर, उसले आफ्नो चाहना मारेर बुबाले भनेझैँ सैन्य भर्नाको तयारीका लागि बुबासँगै प्रशिक्षण लिन थाल्छ।
प्रशिक्षणमा देव जति प्रयास गरे पनि राम्रो प्रदर्शन गर्न सक्दैनन्। आफूसँग तालिममा प्रगति नभएपछि कुलबहादुरले देवलाई थप तालिम दिन पोखरा पठाउँछन्।
दोस्रो चरणमा देव पोखरा पुगेर ‘ब्वाइज होस्टेल’मा बस्न थाल्छन्। त्यहाँ बस्दा उसमा केटाप्रति आकर्षण बढ्न थाल्छ। आफूसँग पुरुषको शरीर भए पनि ‘महिला हुँ’ भन्ने लाग्ने गरेको महसुस उसलाई बढी हुन थाल्छ। यसरी बल्ल देवमा आफ्नो लैंगिक पहिचान थाहा हुन थाल्छ।
यसरी सुरु भएको चलचित्रको कथा त्यसपछि एक लैंगिक अल्पसंख्यकले समाजमा कसरी पहिचानको संकट व्यहोर्छ, दुर्व्यवहार भोग्छ भन्ने विषयमा प्रवेश हुन्छ।
पोखराकै ब्वाइज होस्टेलमा बस्दा देवले देखाउने व्यवहारले अन्य केटाहरूले उनी लैंगिक अल्पसंख्यक रहेको चाल पाउँछन्। त्यसपछि उसमाथि बोलीचाली र व्यवहारबाट दुर्व्यवहार हुन थाल्छ। सोही कारण पोखराको तालिम पनि उनले राम्रो गर्न सक्दैनन् र घर फर्किन्छन्।
तेस्रो चरणमा देव पोखराबाट घर फर्किएपछिको कथालाई लिन सकिन्छ। तालिम पूरा नगरी छोरा घर फर्किँदा कुलबहादुर(बुबा) निकै रिसाउँछन्। तर, देवले फरक लैंगिक पहिचान बुबासँग भन्न सक्दैनन्, आमालाई भने भन्दछन्।
त्यसपछि आमालाई देवप्रति सहानुभूति जाग्छ। तर, पतिको रिस र परालैंगिक भन्दा प्रकट हुनसक्ने अवहेलनाको डरले आमाले उनलाई काठमाडौं पठाइदिन्छिन्।
काठमाडौंमा उनले अर्की परालैंगिक(शीतल)लाई भेट्छन्। शीतलले देव पनि आफूजस्तै भएको थाहा पाएपछि आफ्नो घर लगेर केटीलाई जस्तै पहिरन र सिँगार पटार गरिदिन्छिन्।
पहिलो पटक महिलाको आवरणमा सजिन पाउँदा देवको मन रमाउँछ । देवलाई लाग्छ–वर्षौँदेखि जेको नपाएझैँ लाग्थ्यो, त्यही कुरा आज पाएँ। त्यसपछि शीतलले नै देवको नाम परिवर्तन गरेर ‘गुलाबी’ राखिदिन्छिन्।
गुलाबी सफर
त्यसपछि देवको सुरु हुन्छ–परिवर्तित पहिचानसहितको गुलाबी सफर। तर गुलाबीले आफूजस्तै अन्य परालैंगिक युवतीहरू काठमाडौंका सडक(ठमेल)मा बसेर देहव्यापार गरेको देख्छन्।
गुलाबीलाई त्यो भने मन पर्दैन। त्यही कारण उनले त्यो नगर्ने प्रण गर्छिन्। उनी अन्य वैकल्पिक कामको खोजीमा लाग्छन्। कामको खोजीमा हिँड्दा उनको फरक लैंगिकताकै कारण निकै दुर्व्यवहार सहनुपर्छ।
धेरै दौडधुपपछि उनले डान्स बारमा काम पाउँछिन्। डान्स बारमा काम गर्दा उनले झन् दुर्व्यवहार सहनुपर्छ। कतिले माया प्रेमका कुरा गरेर प्रलोभनमा पार्न खोज्छन्। सोही क्रममा एक युवक(इन्द्र)ले बिहेको प्रलोभनमा पारिछाड्छ। उनी पनि इन्द्रसँग गहिरो प्रेममा डुब्छिन्। तर, इन्द्रका गुलाबीसँगको प्रेममा गम्भीर थिएनन्, उसले एक दिन फरक लैंगिक पहिचानकै कारण होच्याउँदै दुर्व्यवहार गरेर छाडिदिन्छन्।
त्यसपछि असंयमित भएकी गुलाबी बाध्यताले ठमेलका सडकमा बसेर देहव्यापारमा संलग्न हुन्छिन्। यद्यपि उनले हार मानेकी हुन्नन्। एक दिन शिर उठाएर बाँच्ने आशा उनमा जीवित हुन्छ।
अन्तिममा आमाको निधनपछि गुलाबीलाई गाउँ जानुपर्छ। गाउँ पुग्दा देवबाट गुलाबीको स्वरूपमा पुगेकी उनलाई देख्दा समाज आश्चर्यमा पर्छ। तर, बुबा कुलबहादुरले भने उनलाई गुलाबीकै रूपमा स्वीकार गर्छन्, चलचित्र सकिन्छ।
अभिनय
परालैंगिक पात्रको केन्द्रीय भूमिका नाजिरको अभिनय बेजोड छ। नाजिरले गुलाबीको पात्रलाई एकदमै न्याय दिएका छन्। चलचित्रमा बुबालाई शक्तिशाली र पुरातन सोचको पात्रका रूपमा प्रस्तुत गरिएको छ, जुन अन्तमा वास्तविक धरातलमा उत्रिन्छन्। आमालाई भावुक, संवेदनशील र समझदार पात्रका रूपमा प्रस्तुत गरिएको छ।
प्रविधिक पक्ष
चलचित्रले देखाउन खोजेको कथावस्तु संवेदनशील छ। जसअनुसार नै भावुक र रुवाउन सक्ने अभिप्रायले तयार पारिएको छ। गाउँले परिवेश, पर्यटकीय नगरी पोखरा र काठमाडौं दृश्य देखाउँदा कथाअनुसार नै चित्रण गरिएको छ। पात्र प्रवृत्ति र देखाउन खोजेको सन्देशअनुकुलका क्षेत्रकै दृश्यहरू राखिएका छन्। कतिपय दृश्यमा कम्पोजिसन र फ्रेमिङको सन्तुलन सुन्दर छ। दुर्व्यवहार देखाउन कहिँकतै अनावश्यक गालीगलौजका दृश्य पनि समेटिएका छन्।
निर्देशन
चलचित्रमा लैंगिक अल्पसंख्यकले समाजमा भोग्नुपरेका तितो यथार्थ प्रस्तुत गरिएको छ। एक लैंगिक अल्पसंख्यकले परिवार, समाज, साथीसंगत, प्रेम सम्बन्ध, व्यावसायिक जीवमान भोग्नुपर्ने समस्यालाई चलचित्रमार्फत उजागर गरिएको छ।
व्यावसायिक काम गर्न पनि महिला वा पुरुष हुनै पर्ने बाध्यता जनाउने अवस्था देखाउने दृश्यले हरेक दर्शकको मन छुन्छ।
दर्शकको प्रतिक्रिया
चलचित्र हेरिसकेपछि हलबाहिर हामीले केही दर्शकको प्रतिक्रिया लिएका थियौँ। जसमा प्रतिक्रिया दिने अधिकांशले लैंगिक अल्पसंख्यकले भोग्नुपरेका समस्या फिल्ममार्फत आफूले पहिलो पटक महसुस गरेको बताएका छन्। कतिपयले आफूले जीवनमा लैंगिक अल्पसंख्यकमाथि गरेका दुर्व्यवहार सम्झँदै पछुतो लागेको बताएका छन्।
प्रकाशित: २१ भाद्र २०८२ १८:०७ शनिबार



