कला/साहित्य

प्रेमिल उत्ताल तरङ्ग

निबन्ध

प्रेम सट्टाभर्नाको अभिलाषाबिना सम्पूर्ण रित्याउनु हो। प्रेममा प्रेमको आकर्षण पनि रहँदैन। न त कुनै चुम्बकीय शक्तिको आकर्षणले तानेको हुन्छ, न कुनै गुरुत्वको पासोमा बाँधिएर एक ठाउँबाट अर्को ठाउँ पुग्छ पानीजस्तो। या भनौं कुनै उछालको प्रतिक्रियास्वरूप प्रतिध्वनित हुन्छ अनुराग बनेर रागिनीको सुन्दर कल्पनामा। कुनै अनुरागी मनको उछाल हो प्रेम वा रागिनी स्वयं, जसको अनुमतिमा उदात्त तालमा छेडिरहेकी छन् कुनै राग। तर पनि यस्तो लाग्छ, प्रेम त कुनै प्रहारको प्रतिक्रियास्वरूप उठेको राग हुनै सक्दैन। तब कुनै अनुरागी मनमा कति समय टिक्न सक्छ प्रेम? यो केहीको प्रतिक्रिया होइन। यो त हुन्छ, बस् हुन्छ।

मैले कुनै प्रेमिल जोडीलाई तलाउ किनारमा ढुंगा फाल्दै एक अर्काको अँगालोमा कसिएर पानीका छालका तरंगसँगै मनको रङ साटेको देखेँ। ओहो, कस्तो सुन्दर युगल यौवन! प्रकृतिका सबै रङको समायोजन। ओहो, कस्तो सुन्दर कलाकारिता! कसको रचना? त्यो ताल, त्यो पानी अनि डिलमा बसेर दिल साटेका ती जोडी। हिमालको मुस्कान समाएर आनन्दित यो तालको छाल अनि त्यही छालको पाउ स्पर्शले उद्देलित यी प्रेम तरङ्ग जोडी।

कतै त्यो प्रेम त्यही तरङ्ग हो कि? म ती नवयौवनाका मनको अन्तरकुन्तरमा पुग्ने कोसिस गरेँ। शून्यसिवाय शून्य केही भेटिनँ। अनि फुत्त बाहिर आएर उनीहरूलाई नियालेँ। तिनीहरू झन् कसिलो अँगालोमा बाँधिएका थिए। कसको केको वियोगको डरले कसिएका छन् खै? बुझ्नै सकिनँ। स्पन्दनको साटासाटमा रोमाञ्चित ती युगल यौवन कतै कुनामा झङ्कृत वीणाका तार। ती दुवै यौवनको छुट्टाछुट्टै झङ्कृत छन् या एकतारेमा एकल समाहित संयोगमा झङ्कृत छन्।

नारदको एकतारेको झङ्कृत झङ्कार हो प्रेम। वीणाका अनेक तारमा झङ्कृत प्रत्येक तारका पृथक् पृथक् धुनका सङ्गतियुक्त संगीत हो प्रेम। ती युगल यौवन एकै स्पन्दनमा स्पन्दित कस्सिएका छन् एकअर्काको अँगालोमा। या पहिल्यैबाट नै एकै छन्। कुनै दृष्टिभ्रममा परेर आफूलाई दुई सम्झिएका ती यौवन कुनै अदृश्य शक्तिले छुट्याइदिने भयले झन् झन् कस्सिँदै छन् एक अर्काको अँगालोमा। त्यो अदृश्य मायाको पत्र अझै च्यातिएको छैन। ती युगलमा प्रेम अझ केही टाढा छ।

त्यो तलाउमा ती जोडीले फालेको ढुंगाले निर्मित तरङ्गले किनार छोएर अलप भयो। त्यही क्षण त्यसरी नै तरङ्ग मनको एक कुनामा उठेर अर्को कुनामा अलप भयो। त्यो प्रेम हो। त्यसैगरी तिनीहरूबिचको स्पन्दनको साटासाट पनि तरङ्गका छाल उछाल न हुन्। छाल उछालको क्रिया–प्रतिक्रिया। प्रतिक्रियात्मक आवेगमा प्रेमले कसरी जीवन पाउन सक्छ? ती पनि त एक विन्दुबाट अर्को विन्दुमा पुगेर अलप हुन्छन्। उछाल त छालको प्रतिक्रिया न हो। क्रिया–प्रतिक्रिया, ध्वनि–प्रतिध्वनिजस्तो प्रतिक्रियात्मक शक्ति प्रयोगमा प्रेम कसरी हुन्छ?

प्रेम त एकाकारको बोध हो, तब त्यसको सिर्जनाविपरीतको भेदबाट कसरी सम्भव छ?  

केही दिएर केही पाउने अभिलाषाले अहङ्कार जन्माउँछ।  अहङ्कारको ओढनीमा प्रेम लुप्त हुन्छ। केही पाउने अभिलाषारहित सम्पूर्ण रित्तिनु नै प्रेम हो। केही प्राप्तिको अभिलाषासहित दिनु अहङ्कार हो तर पनि मेरो तार्किक चेतले दिनुलाई शून्यको यात्रा मात्र भन्न सक्यो। भौतिक जगत्मा शून्य मात्रको महत्त्व शून्य नै छ। केहीले शून्यलाई आफूसँगै डोर्‍याएको हुनुपर्छ, मात्र शून्य त एक्लै रहनै सक्दैन। त्यस्तो शून्यबाट अरू के सिर्जना गरौं ? रित्तिएको मैले अब अरूलाई कसरी केही दिऊँ? आफैं सकिएपछि अरूलाई दिन के नै बाँकी रह्यो र ? त्यस्तो शून्य प्राप्तिको बाटोमा हिँड्ने अनुमति मेरो चेतले मलाई दिनै सकेन।

नलिई दिइरहने भन्ने कुरा कहींकतैबाट तर्कसंगत मान्दिनँ। तब त केही लिने अभिलाषासहित ती युगललाई दुवैतिर बाँडिएर बसेको छु मेरो कल्पनामा। दुवैमा स्वयंको अहङ्कार बल्छ, झङ्कृत हुन्छ। त्यो ढुंगाले तरंगित तलाउको तरंगले फेरि किनारा चुम्छ। अनि त्यही चुम्बनमा हराउँछ। त्यो हराउनु शून्य हुनु होइन। त्यहाँ त अभिलाषाका अनुरागी अंकहरूले चुम्बकीय डोरमा डोर्‍याइरहेका छन्। बिचरो शून्य त्यही पासोमा बाँधिएर त्यो युगलको बन्धनको गणित बनिदिएको छ केही समयलाई।

ढुंगाले तरंगित तलाउका तरंगले फेरि किनारा चुम्छ। ती जोडी उठ्छन्। ऊ पूर्व लाग्छ उनी पश्चिम। म त्यही ढुंगामाथि बसेर त्यो जोडीलाई एक तमास हेरिरहन्छु। ती सुदूर क्षितिजमा ओझेल पर्छन्, मेरो प्रेमको चेतलाई गिज्याउँदै।

आकर्षण नै विकर्षणको कारण हो। आकर्षण स्वःस्फूर्त–घटित घटना जसरी आउँछ, एक्कासि होसहवास हराउँछ। असीमित उज्यालो हो या असीमित अँध्यारो, केही थाहा हुँदैन। त्यसपछि अनगिन्ती घटना परिघटना जन्मन्छन्। तिनै घटना परिघटनाको जञ्जाल उदेकलाग्दो मायाजाल बन्छ। आकर्षण नै विकर्षणको कारण बन्छ।

के आकर्षण अर्को आकर्षणको शृङ्खला बन्न सक्दैन? त्यही शृङ्खलाबद्ध आकर्षण शाश्वत प्रेमको गोरेटो बन्न सक्छ होला? या त्यो शृङ्खला कहीं न कहीं टुट्नुपर्छ, पुनः अर्को आकर्षणको खोजमा? अनि त्यो आकर्षणको स्रोत आफैं नै हो भने कुनै वस्तुपरक आकर्षणको शृङ्खला टुट्दैमा आफूबाट सिर्जित आकर्षणको शृङ्खला टुटेको भन्न मिल्ला कि नमिल्ला? अनि यसै हेर्दा त ती जोडी छुटेर जति टाढा पुगे पनि फेरि कुनै दोबाटोमा पुनः नयाँ आकर्षणको शृङ्खलामा बाँधिन आउँदैनन् भन्न सकिन्छ र?  

मायाको छलको लेपनलाई समयले पखाल्दा के त्यो प्रेम सतहमा नआउला र? त्यो जोडी छुट्टिन्छ विपरीत दिशामा कहिले नजोडिने गरी? कता हो कता अँध्यारो सुरुङमा पसिरहेछन्। कहिल्यै नमिल्ने भनिएका दुई किनारा त बरु केही समान दुरीमा समानान्तर एकअर्कालाई हेर्दै नदीसँगै समान बयेली खेल्दै बगिरहन्छन्। त्यो जोडी त विपरीत पो गयो, कहिले भेट हुन्छ खै !  

प्रेम नै त्यो शक्ति हो, जसले दुई विपरीत दिशालाई समानान्तर दौडाइ कुनै एक कालखण्डमा एकै विन्दुमा मिलाइदिन्छ। त्यो जोडी, तलाउ किनारको बसाइ, त्यही कालखण्डको मिलनविन्दु हो। कुनै अघिल्लो मिलन अनि विछोडको पुनर्मिलन हो।

यस्तै कैयौं आकर्षणको शृङ्खला हो। आकर्षणको अन्य कारणपरक उत्पत्तिको परिभाषा भ्रम हो। यो आकर्षणको कारण यस्तै या भनौं यही अघिको आकर्षण हो। कहिले भंग नहुने आकर्षणको शृङ्खलाबद्ध भाव र त्यसैको अटुट भङ्गिमा प्रेम।  

दोबाटोमा मिल्न आएका तिनी अञ्जान पथिक, के आकर्षणले नजिकिए अनि के आकर्षणले स्पन्दित भए? के आकर्षणले स्पन्दन साटासाट गरे? मन्द मुस्कान छर्दै आनन्दको सागरमा डुबे। एकअर्कालाई कसिलो अँगालोमा कसे, झन् झन् कस्दै गए। अनि एकएक कुन विकर्षणले आफ्नो दिशा समाते ? म अनभिज्ञ हेरिरहेँ।

केही क्षणपहिले त्यो जोडी देख्दा आनन्दित मेरो मन विचलित भयो। त्यो प्रेमको विचलनले मेरो मन मस्तिष्क खलबलायो। तिनीहरूको छुटाइको वेदना उनीहरूलाई केही छैन। कल्पना मेरो हो, व्यथित म नै छु। नहोऊँ पनि किन? म त तिनीहरूमा शाश्वत प्रेमको अकाट्य परिभाषा कोरिरहेको थिएँ। त्यो परिभाषा केरियो, काटियो। अनि त्यही जञ्जाल मायाजालको जाल मात्र बाँकी रह्यो।  

म कल्पना गर्छु, त्यसरी हतारिएर अँगालोमा बाँधिनुभन्दा समानान्तर दुरी राखेर बगेको भए हुन्थ्यो, सँगै त्यो प्रेमको नदी। अनि आफूहरू त्यो प्रेमको नदीका दुई किनारा बनेर प्रेमपानीको स्पर्शले आनन्दित हुँदै लामो यात्रामा निस्किएको भए हुन्थ्यो। अलौकिक प्रेम यात्रा!

ओहो, त्यो अलौकिकता कहाँसम्म? जुन समुद्रमा गएर टुंगिन्छ, जुन समुद्र भएर टुंगिन्छ। त्यो प्रेमको महासागरमा म कहाँ, ऊ कहाँ। कहाँ खोज्ने, कता भेट्ने? त्यो खोजको छटपटाहटभन्दा त यही एक क्षणको आलिंगन मिठो। म तिनीहरूलाई हेरेर असमञ्जसमा छु। उनीहरू स्पस्ट छन्। म उनीहरूको सम्बन्धको तार्किक परिभाषा कोर्दै छु। उनीहरू मेरो रचना केर्दै अनि मेट्दै छन्।

अनवरत रहिरहने त्यो आकर्षणको शृङ्खलालाई नजिकबाट बुझ्यो कि त्यो जोडीले, जुन बुझ्न बाहिरबाट मलाई कठिन भयो। अनि त्यही आकर्षणको मायाजाल उनीहरूलाई प्यारो भयो। छुट्दाको आँसु र मिल्दाको हाँसोबिचमा कतै क्रमभङ्गताको रोमाञ्चकता पायो कि जोडीले? जुन मेरो सतही आखाँले ठम्याउन सकेन। त्यही क्रमभङ्गताको रोमाञ्चको मायाजाल नै उनीहरूका लागि सम्पूर्ण जीवन भयो, मेरा लागि प्रेमको अन्त्य।

मेरो शाश्वत प्रेमको परिभाषा बिथोलियो। अन्त्य हुने वस्तु कसरी शाश्वत?

म फेरि उनीहरूतिर हेर्छु। हत्केलाभरिको पानी लिएर एकअर्कालाई छ्यापाछ्याप गरिरहेका छन्। पानीका छिटा उडाउँदै तिनै छिटाको स्पर्शले आनन्दित छन्। मानौं ती छिटाका स्पर्श, झङ्कृत मनका तार हुन्। तिनै उडेका पानीका थोपाजस्ता बैंसले मदमस्त जोडी हेर्दा लाग्छ, समय यहीं टक्क अडिएको छ।

 उनीहरूले मेरो समय च्याप्प समाएर भनिरहेछन्– तिम्रो परिभाषामा हाम्रो प्रेम अट्न सक्दैन। तिमी हाम्रो यो आनन्दलाई पनि क्षणभंगुर मान्छौ। हामीलाई अल्लारे बैंसको मायामा जेलिएका अबोध जोडी मान्छौ। हामीलाई सदियौंको प्रेमिल निरन्तरता भनी स्वीकार गर्दैनौ। हामी हाम्रो प्रेमको धागोमा अनेक मोती जोड्दै छौं। अनेकन् आकर्षणका मोती। हाम्रो प्रेम धागो मात्र होइन, प्रत्येक मोतीका दाना हुन्।

हामी त यो किनारामा हिजो थियौं, आज छौं र भोलि पनि रहनेछौं। यही प्रेम रहनेछ, यस्तै प्रेम रहनेछ। मात्र म रहनेछैन र सायद उनी पनि रहने छैनन् तर पनि हामी यसरी नै रमाइरहेका हुनेछौं। यसरी नै आलिंगनमा बाधिएका पाउनेछौं, यसरी नै पानीका छिटा उडाइरहेका पाउनेछौं। तिमीलाई हेर्नु छ भने भोलि पुनः आउनू।  

ओहो! कसको आवाज हो? जोडी त यहाँ छैन। तिनीहरू त अघि नै विपरीत दिशामा लागिसके तर पनि म भोलि पुनः आउनेछु। म मेरो प्रेमको परिभाषा स्थापित गर्नेछु, मैले सोचेकोजस्तो, मेरो अनुकूलताको। त्यो जोडीलाई यही किनारामा फेरि हेर्नेछु गहिरिएर। आखिर कुन विकर्षणले ती छुटिए। यो सब मेरै कल्पनाको संसार न हो, मैले चाहेजसरी पुनः प्रेम परिभाषित गर्नेछु।

म भोलि त्यहाँ गएँ। त्यहाँ ती युगल थिएँ। त्यही स्पन्दन, त्यही स्पन्दनको साटासाट, त्यो कसिलो आलिंगन। कसिलो अझ कसिलो। उनीहरू यसरी कसिएका छन्, मानौं उनीहरूलाई केही अदृश्य तत्त्वले छुटाउँदै छ, केही अदृश्य चिजले टुटाउँदै छ। उनीहरू कसिएका छन्, झन् - झन् कसिएका छन्। पानीका छिटा उडाउँदै उचालियका छन्, उफ्रेका छन्, नाचेका छन्। मदमस्त यौवन कुनै नसामा मातेको छ। जवानी कुनै आशामा हाँसेको छ।

नर्तक र नृत्यको सम्बन्धलाई उनीहरूले कहिले नर्तक र नर्तकीको बनाए र त्यसैमा हराए। जीवन नै प्रेम र प्रेम नै जीवन हो भन्थेँ। प्रेम र जीवन अचानक प्रेम र प्रेमिका बन्यो। जीवन प्रेमी बन्यो अनि बिछोडियो। कतैबाट भेदको स्पर्श भयो, आलिंगन छुट्यो। काली र काल अनायास महाकाली र महाकालमा परिणत भए। ओहो! त्यो अकिञ्चन अद्वैत सांसारिक जीवनद्वेतमा कसले परिणत गर्‍यो? मेरो प्रेमको परिभाषाले या उनीहरूको अनगिन्ती अनुरागी अभिलाषाले?

त्यो जोडी प्रेमीप्रेमिकाको होइन, स्वयं प्रेम थिए। त्यो तिनीहरूलाई नै बोध भएन। उनीहरूले आफ्नो प्रेमको क्षणभंगिमालाई स्वीकार गरेनन्। म तिनीहरूको प्रेमको परिभाषा स्वीकार गर्न सकिनँ। मेरो शाश्वत प्रेममा बिछोड हुनै सक्दैन। उनीहरू नबिछोडी मिल्नै सक्दैनन्। प्रेम मुक्त गर्ने शक्ति हो। म तिनीहरूमा बन्धनको उल्झन किन खोजिरहेको छु?

म उनीहरूको प्रेम खण्डित पाउँछु। उनीहरू प्रत्येक खण्ड नै पूर्ण हो भन्छन्। म प्रेमलाई परम आनन्द भन्छु। उनीहरू हामी यही क्षणमा पूर्ण आनन्दित छौं भन्छन्। म तिमीहरूको प्रेम होइन, मायाको भ्रम तथा मोह हो भन्छु। हामी मोहित छौं भन्छन्। म तिमीहरू उल्झनमा छौ भन्छु। हामी झन् झन् कसिलो छौं भन्छन्।

उनीहरूले एक एक प्रश्न गरे। तिमी मान्छौ, प्रेम आनन्द हो। तिमी भन्छौ, हामी परम मोहको पासोमा छौं। ठिक छ, त्यही पासो नै भए पनि ठिक छ। हामी बाँधिन तयार छौं। ल भन, प्रेम आनन्द हो भने यो परम मोह कसरी उल्झन हुन सक्छ। हामी मोहित छौं, एकअर्कामा मोहित नै सही। यही मोहको पासोमा आनन्दित छौं।

म अवाक् सुनिरहेँ। मेरो प्रेमको परिभाषालाई पोको पारेर त्यही तलाउमा फालेँ। तरंग उठ्यो, किनारा चुम्यो, बिलायो। मैले उनीहरूलाई नियालेँ। ती दुई विपरीत दिशामा धमिला धमिला हुँदै गए।

प्रकाशित: ५ पुस २०८२ १०:४६ शनिबार