कला/साहित्य

अन्तिम पालुवा

लघुकथा

उसको शैशव पिपलको छहारीमा पलायो। बाल्यकाल उसैको काखमा रमायो। जवानीले पनि उसका नयनअघि प्रेमका सपना साट्यो।

समय बग्दै गयो। गोठहरू रित्तिए। हलोका फालीमा खिया लाग्यो। कान्लामा घाँस उम्रियो। घरका भित्तामा काई जम्यो। वर्षौंदेखि ती सबै दृश्यको मूक साक्षी पिपल थियो।

वसन्तले गाउँ भर्खरै टेकेको थियो। हाँगाहाँगामा पालुवाको निम्तो छर्दै उसले पिपललाई सोध्यो,"यो वृद्ध उमेरमा अझै बाँकी छ जिजीविषा?"

पिपलका आँखा द्रवित बने। उसले मलिन स्वरमा भन्यो, "तिम्रो हरियालीको निम्तो स्विकार्ने म नै त अन्तिम बाँकी छु।"

वसन्तले लामो सुस्केरा फेर्‍यो, "अब त के नै गर्न सकिन्छ र खै?"

त्यत्तिकैमा पिपल गर्लम्म ढल्यो। ढल्दै गर्दा उसका काँपिरहेका ओठबाट अन्तिम शब्द फुट्यो,"आशा...!"    

प्रकाशित: १ असार २०८३ १३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App