कला/साहित्य

बिर्संदै गएको आत्मिक सौन्दर्य

पुस्तक

तोरकीन उपल्लो मुस्ताङको हराउँदै गएको भौगोलिक स्वरूप, जीवन, संस्कृति र मानवीय सम्बन्धको कथा हो। यो उपन्यास एक स्थानीय प्रेमकथा मात्र होइन, बदलिँदो समय, जलवायु, सभ्यता, परिवेश र पहिचानको अभिलेख हो। लेखक क्षितिज समर्पणले क्षितिजमा देखिने हिमालभन्दा पनि पारि रहेको गाउँको रूपान्तरणलाई संवेदनशील ढंगले उतारेका छन्। तोरकीन पढ्दै गर्दा पाठकले आफ्नै आँखाले हिमाल पग्लँदै गएको, बस्ती खाली हुँदै गएको र मानिसको अन्तरात्मा थाक्दै गएको दृश्य देख्छ।

कथाको केन्द्रमा छन् चराङ गाउँका छेवाङ। उनको जन्मदेखि वयोवृद्घ अवस्थासम्मको कथा तोरकीनमा छ। छेवाङका बाआमा नामग्याल र छुक्कीको प्रेम सम्बन्धदेखि नै कथा सुरु हुन्छ। पछि छेवाङको बा र आमासँगको सम्बन्ध, उसको बालसखा पेम्बासँगको बलियो मित्रता,  कुन्साङसँगको प्रेम र वियोग तथा उसले भोगेका नियतिका अनेक थप्पडहरू, विषम परिस्थितिमा विकसित भएको उसको मनस्थितिको विशद वर्णन नै तोरकीनको विशेषता हो ।  

नियति र समयले अग्रगति लिन्छ। देश र काल पहिलेजस्तो रहँदैन। सुन्दर कुराहरू इतिहास बन्छन्, स्मृति बन्छन्। त्यसकारण तोरकीन बुझ्न मुस्ताङ बुझ्नुपर्छ, विशेषगरी उपल्लो मुस्ताङ। तोरकीन बुझ्न कालीगण्डकी र यसका सहायक नदीहरूको उद्गम र प्रवाहस्थल र तिनैका तटमा विकसित पुरातन सभ्यता बुझ्नुपर्छ। छुसाङ, समर, स्याङबोचे, घिलिङ, घमी, चराङ र मराङहरू अनि अझै उत्तर तिरका ल्हो मान्थाङ,  छोन्हुप र छोसेरहरू केवल गाउँहरू होइनन्, उपल्लो मुस्ताङको सभ्यताका धमनीहरू हुन्। अनि थुप्चेन गुम्बा, ल्हो घ्येकर गुम्बा, धोर्जेदेन गुम्बा, थुक्छिपे गुम्बा केवल धार्मिक स्थलहरू मात्रै होइनन्, समग्र सभ्यताका शिराहरू हुन्। यिनै धमनी र शिराहरूमा उपल्लो मुस्ताङको सभ्यताको रक्तसञ्चार हुन्छ। लेखकले कथामा यहाँको भूगोल, रहनसहन, जन्मभन्दा अघिदेखि मृत्युभन्दा पछिसम्म गरिने संस्कार, रीतिथिति, आस्था र विश्वासलाई सूक्ष्म रूपमा समेटेका छन्।

उपल्लो मुस्ताङको पोसाक र गहनाहरू फुजे–कोयो, तोचे, काउ, ल्हाम्डोक, केतेन, पाङदेन, छिरिङ किंगा र ओदोक बुन्न र उन्न प्रयोग भएका ऊनका रेसा रेसामा छिरेर ती लुगाहरू लगाउने पात्रहरूका मनोविज्ञानलाई लेखकले उधिनेका छन्। उपल्लो मुस्ताङका नुन–चिया, गहुँ, जौ र उवाका सातु, ढिँडो, याक र भेडाका सुकुटी र छ्याङका थोपा थोपामा लेखक छिरेका छन्।

हिमालय पारीका दुर्गम उपत्यकाका विशाल मरुभूमिका मरुद्यानका रूपमा यी गाउँहरूका आपसी सम्बन्ध र संघर्षलाई लेखकले खोतलेका छन्। मुस्ताङका राजा र ठूलाबडाहरू कसरी बिष्ट र सर्वसाधारणहरू गुरुङ बने भन्ने इतिहास कोट्याएका छन्। समग्रमा विषम वातावरणमा शताब्दीयौंदेखि मानवले गरेका संघर्षका कथा भनेका छन्।

तोरकीनका पाठकले उपल्लो मुस्ताङको प्राणहीन शरीरलाई प्रकृतिका कूचीकार गिद्धहरूलाई समर्पण गरिने परम्पराको सम्मान गर्नुपर्छ।  ह्यार्का हालेर बिहे छिन्ने कुराको संवेदना बुझ्नुपर्छ। यारतुङ मनाउँदै गरेका गाउँलेले तेम्देन माग्दा दिन जान्नु पर्छ।  गर्भवतीका घर अगाडि राखिने ढुङ्गाहरूको सङ्केत बुझ्नुपर्छ।

नामकरणको पद्धति बुझ्नुपर्छ। घरनिर्माणको पद्धति बुझ्नुपर्छ। घरबाहिर राखिने ल्हाजुको महत्व बुझ्नुपर्छ। धार्चेमा बाँधिएका धार्तरको रङमा मनको रङ मिसाउन जान्नुपर्छ। विशाल थाङ्कामा कुँदिएका बुद्ध, बोधिसत्व, धर्मपाल, यिदाम र रिम्पोचेहरूलाई चिन्नुपर्छ।

लेखकले यी सबै सांस्कृतिक सम्पदाहरूलाई पात्रकै महत्वमा देखाएका छन्। काङलेन, ढुङचेन, ङा र घ्यालिङ बाजाका तालहरू कथाभरि सुनिन्छन्। ती केवल कुनै वाद्ययन्त्रबाट निस्केका संगीत होइनन्, ती त भूमिकै र समयकै धड्कन हुन्। आदिम कालदेखि यी सबै एक विशिष्ट सभ्यताका अविच्छिन्न धरोहरका रूपमा रहेका छन्।

समय त के बित्छ र? बित्ने त हामी हौं भनेजस्तो यो भूगोल, यो सभ्यता र यो संस्कृति क्रमशः कालको ग्रासमा पुग्दै गरेको यथार्थ त्यसपछि प्रकट हुन्छ। उपन्यासको सबभन्दा गहिरो तह यही हो। हिमालमा हिउँ  घट्दैछ। नदी र पोखरीमा पानी घट्दैछ। लेकमा यार्सागुम्बा र जिम्बुहरू पाइन छोड्दैछन्। वनमा घाँस पाइन छाडेसँगै नाउरहरू पनि घट्दैछन्। नाउरहरू घटेसँगै चितुवाहरू गाउँ पस्न थालेका छन् र चितुवाले हानेर रित्तिएका च्याङ्ग्राका गोठहरू धेरै हिमाली गाउँका साझा कथा बनेका छन्।

ट्याक्टर र जीपले घोडा र झोपालाई विस्थापित गरिसकेका छन्। हिमालको परम्परागत बहुपतिप्रथा हट्दैछ। तर भौतिक सुखका लागि सम्पन्न देशको नागरिक बन्न गरिने मिथ्या विवाहप्रथा भने शुरु भएको छ। अब ल्होमान्थाङको तिजी पर्वमा नाचिने छम नृत्यको मुखुण्डोमुनि कुनै युवती कुन्साङभन्दा कुनै अर्कै वयोवृद्ध कुन्साङ भेटिने सम्भावना छ।

 काङ्योर पूजाको रौनक पनि मुस्ताङभन्दा धेरै परका गुम्बामा खोज्नुपर्ने भएको छ। आम्चीका औषधिको प्रयोग र अनुसन्धान पनि हिमालमा भन्दा सातसमुद्रपारीका शहरमा हुन थालेको छ। अचेल घोक हाल्नलाई लेतोक भेटिँदैनन् बरु मोबाइल फोनका टावरहरू भने भेटिन्छन्।

सीमित समयमा सीमित भूगोल र संवेदनामा छेवाङको कथा बाँचेको छ, तोरकीनको कथा बाँचेको छ, छेवाङ र कुन्साङको प्रेममा हिमाल र हिमालपारिको मरुस्थलको नीरवता मिसिएको छ। बतासमा सन्देश पठाउने प्रसंग, वियोगको वर्णन र आत्मिक मिलनका क्षणहरूमा लेखकको कलम कवित्वमा रूपान्तरित भएको छ। उपन्यासमा उपल्लो मुस्ताङमा बोलिने स्थानीय भाषा ल्होवाका प्रशस्त शब्दावलीको प्रयोग गरिएको छ। पढ्दै जाँदा तिनै शब्दप्रति आत्मीयता बढ्दै जान्छ। प्रसङ्गले धेरैजसो शब्दको अर्थ लाग्छ।

तोरकीनको सबभन्दा ठुलो शक्ति यसको स्थानीयता हो। लेखकले उपल्लो मुस्ताङको आवाज, संस्कृति र परिवेशलाई नेपाली साहित्यको केन्द्रमा ल्याएका छन्। उनले प्रकृतिलाई केवल पृष्ठभूमि होइन, पात्रहरूको भावना र अनुभवको वाहकका रूपमा प्रस्तुत गरेका छन्।

अनि तोरकीनको दुर्बल पक्ष के हो त? निश्चय पनि यसतर्फ पनि केही चर्चा गर्न सकिन्छ। उपन्यासको पूवार्ध अत्यधिक सपाट र मन्द हुनु, उत्तरार्ध पूवार्धले तयार गरेको धरातलबाट एकाएक जताततै छरपस्ट बन्नु। अनेक स्थलमा अति तीव्र संवेदनाका लागि तयार भएका पाठकलाई मन्द संवेदना मात्रै पस्कन सक्नु, स्थानीय संस्कृतिको वर्णनमा सशक्त हुँदा अनेक स्थलमा कथानक खुकुलो हुन जानु, उपन्यासको अन्त्य अपेक्षाकृत रूपमा सशक्त हुन नसक्नु इत्यादि तोरकीनका दुर्बल पक्ष हुन्।

ध्वनिमाध्यमको प्रयोग नगरी केवल लिपि र अक्षरमार्फत् स्थानीय लवज र सांस्कृतिक बान्कीलाई उतार्ने लेखकको प्रयास दुस्साहसी र प्रशंसनीय हुँदाहुँदै लिपिका सीमितताका कारण कतिपय ठाउँमा ती लवजहरू पूर्ण न्याय पाउन नसक्नुलाई पनि अर्को दुर्बल पक्ष मान्न सकिन्छ।

- उपप्राध्यापक, पोखरा विश्वविद्यालय  

प्रकाशित: १३ मंसिर २०८२ ०८:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App