१) मुक्तक
असोजमा पनि भेलबाढी फेरि उर्लिएर आयो
लौन कताकता केके भो मनभरि चिन्ता रह्यो
घरबार गुमाइ विचल्लीमा परे होलान् हजारौं
देशको कैयौं ठाउँमा पक्कै रुवाबासी भयो।
२) मुक्तक
रसुवा र बेत्रावतीका ती सुन्दर शान्त शहर
पापी दैव निष्ठुरी हुँदा पिलायो सबैलाई जहर
अति रमणीय, हरियाली फाँटका सुन्दर घरहरू
भयो बगर कठै नि बाँच्नेले कसरी काटुन प्रहर।
३) मुक्तक
बाँञ्चुजेल खुशी हौ हामी माया र प्रीति गाँसेर यहाँ
जिन्दगी चलाउनुपर्छ सधैं मुसुक्क हाँसेर यहाँ
देख्नेले त जे कमेन्ट गर्छन् गरून् हाम्रो बारेमा
सत्यको पक्षमा बोल्नुपर्छ असत्यलाई तासेर यहाँ।
४) मुक्तक
के कस्तो छ दुनियाँ जानिएको छ
पिरतीले नै यो दुनियाँ धानिएको छ
तँछाड र मछाड गरीगरीकनै यहाँ
प्रतिस्पर्धामा दुनियाँ हानिएको छ।
५) मुक्तक
रीस, डाह र क्रोधले मुर्खको हृदयमा वास गर्छन्
दीनदुखी र पीडितले हुनेखानेकै आस गर्छन्
गरीबीकै कारण कसैले रुन नपरोस् जिन्दगीमा
पापी अपराधीहरूले नै यो समाजमा तमास गर्छन्।
६) मुक्तक
सम्बन्धका डोरीहरू विश्वासले जोडी दिन्छ
विश्वासमा घात हुँदा मन बाटो मोडी दिन्छ
सही बोल्नु सत्य बोल्नु मानव यो चोलामा
घात भए एक सानो, सारा आस्था फोडी दिन्छ।
७) मुक्तक
स्वाभिमानी नेपाली हुँ दास बन्न सक्दिनँ म
स्वार्थ पूर्ण हेतु कतै खास बन्न सक्दिनँ म
जे जस्तो छु ऎनाझैं छर्लङ्ग देखिन्छु हेर्नुहोस्
जत्ती गाह्राे परे पनि बदमास बन्न सक्दिनँ म।
८) मुक्तक
सधैं हिंडने हाम्रो बाटो फरक नहोस् माया
दुख्ने यो मनको पाटो फरक नहोस् माया
जीवन यात्रामा उतारचढाव धेरै आएगए
हामीले टेकेको यो माटो फरक नहोस् माया।
९) मुक्तक
अठाेट लिए हरेक कार्य साकार हुन्छ
हरेस खाए पाइलैपिच्छे हारै हार हुन्छ
विश्व भ्रमणका लागि चारै दिसा पुग्नु पर्दैन
आमाबुवाको चरणमा नै संसार हुन्छ।
१०) मुक्तक
फूल जस्तै सुन्दर होस् सबै जनमनको विचार
अहम् बोक्ने साधन नहोस् जीवनको विचार
नचाहिँदो आरोप नलगाउनु कसैलाई मन दुख्छ
सत्यको पक्ष ओकालत गर्दै जाओस धनको विचार।
प्रकाशित: १० आश्विन २०८३ १०:०६ शनिबार