कला/साहित्य

स्याङ्जा जिल्लामा आँधीखोला

आफ्नो जन्म भयो जहाँ अघि बढें, त्यो देशको प्राक्तन।

कस्तो रूप रहेछ, त्यैकन बुझूँ भन्ने लिई चिन्तन।।

भ्याए जत्ति विवेकले गहिरिई गर्दै छु नित्य श्रम।

धेरै वर्ष बिते, परन्तु हुनगो साफल्य ज्यादै कम।।

- पण्डित नयराज पन्त (वि.सं. २०१८ मार्ग संक्रान्ति, महाबौद्ध, नेपाल)

एउटा सानो गाउँ, जसले जिल्लाकै परिचय बोक्यो

‘स्याङ्जा’ सानो गाउँ थियो। राणाकालमा जिल्ला र तिनको केन्द्र निर्माण गर्ने क्रममा काठमाडौँ पश्चिमतर्फ रहेका दुईवटा नुवाकोटहरू जिल्ला र तिनको केन्द्र भए। दुवै केन्द्रको प्रसिद्धिको कारण र आधारमा कुनै एउटालाई अर्कै नामबाट सम्बोधन गरिएन।

काठमाडौं नजिकको नुवाकोटलाई पश्चिम १ नं. नुवाकोट र अर्कोलाई पश्चिम ४ नं. नुवाकोट भनेर सदरमुकाम तोकियो। वि.सं. २०१५ को प्रथम आमनिर्वाचनमा यस क्षेत्रलाई ९५, ९६, ९७ र ९८ गरी चार निर्वाचन क्षेत्रमा विभाजन गरियो। सदरमुकाम तोकिएपछि यहाँ बिस्तारै घरहरू थपिए, बस्तीहरू बाक्लिए। अनि मानिसहरूले यसलाई मायाले ‘स्याङ्जा नुवाकोट’ भन्न थाले। यसरी एउटा कुनाको सानो सुन्दर गाउँ ‘स्याङ्जा’ अंकुरित हुँदै थियो।

समयले कोल्टे फेर्‍यो। वि.सं. २०१७ पुस १ गतेको शाही घोषणालगतै पुस २२ गते पञ्चायती व्यवस्थाको सूत्रपात भयो। यसै व्यवस्थालाई संस्थागत गर्ने क्रममा वि.सं. २०१८ वैशाख १ गते देश १४ अञ्चल र ७५ जिल्लामा विभाजित भयो। त्यही प्रशासनिक मानचित्रमा गण्डकी अञ्चलभित्र जन्मियो ‘स्याङ्जा’ जिल्ला। तत्कालीन पश्चिम ४ नं. नुवाकोटका साथै इतिहासका थुप्रै सँगालो बोकेका चौबिसे राज्यहरू– सतौँ, गह्रौँ, ढोर, पैयूँ र भिरकोटलाई समेटेर सिंगो जिल्लाको रूप दिइयो। यसरी एउटा सानो सुरम्य गाउँले सिंगो जिल्लाकै पहिचान र नामको प्रतिनिधित्व गर्ने गौरव प्राप्त गर्‍यो।

‘स्याङ्जा’ नामको भाषावैज्ञानिक र सांस्कृतिक क्षितिज

लेखक डा. तीर्थबहादुर श्रेष्ठका अनुसार ‘कुनै पनि ठाउँको नाउँ बिनाकारण सिर्जना हुँदैन। त्यहाँ इतिहास लुकेको हुन्छ। धर्म, संस्कृति र परम्पराले जग हालेको हुन्छ; भाषा, कला र साहित्यले मौलाउने ठाउँ पाएको हुन्छ। (श्रेष्ठः ‘सगरमाथा हरायो, पातले छाँगो विलायो’)। त्यसो भए के हो त स्याङ्जाको अर्थ ? यसको नामकरण कसरी भयो ? यी कौतूहलको उत्तर खोज्न इतिहास, स्थाननामकोश, शब्दकोश र लोकश्रुतिहरूलाई नियाल्नुपर्छ।

- स्थाननाम र शब्दकोशका पानामा: ‘स्थाननामकोश’ ले सतहुँ र सतहुँकोटको वर्णन गरे पनि ‘स्याङ्जा’ शब्दमा मौन छ। ‘प्रज्ञा नेपाली शब्दकोश’ ले भने स्याङ्जालाई मगर भाषाको नाम शब्द मान्दै सिंजाली मगरहरूको बसोबास रहेको ठाउँ भनेर उल्लेख गरेको छ।

कोशले ‘स्याङ्’ लाई नेपाली नामवाचक शब्द मान्दै ‘पाहुनाघर’ को अर्थ दिएको छ। बटुवाहरूलाई ‘पाहुनाघरमा जानुस्’ भन्दाभन्दै ‘स्याङ्जा’ रहन गएको हुन सक्ने लख काट्न सकिन्छ। अर्कातिर ‘स्या’ ले हलोको सियो, ‘स्याँ’ ले बहँदाको हावा र पानीको वेगको आवाज (लोकगीतको सन्दर्भः ‘स्याङ्जा डाँडैमा पानी र बतास, माया कता छ...।’) तथा ‘सौँ’ वा ‘सउँ’ ले धर्म भकाइ, वचनबद्धता वा किरिया–कसमलाई संकेत गर्छ।

- संस्कृत र हिन्दीको योगः संस्कृत–हिन्दी शब्दकोशमा ‘स्या’ ले ‘होगा’ (अर्थात् नेपालीमा ‘हुन्छ’) भन्ने सकारात्मकता बोक्छ। ‘संयुजा’ ले संयोजकता (एउटा सियोमा धागो छिराएर गाँस्ने काम) र ‘स्वराञ्जली’ ले संगीतका स्वरहरू भनेर बुझाएको छ। यस्तै ‘सरंग/सरंघ’ ले चारखुट्टे चौपाया वा चराचुरुंगीलाई संकेत गर्छ।

-भोट–बर्मेली र नेवारी सांस्कृतिक जोहो:  भाषाविद् दीनबन्धु अर्यालका अनुसार तिब्बती र भोट–बर्मेली भाषामा स्याङ्जाको अर्थ ‘दाउरा खोज्ने ठाउँ’ हुन्छ (स्याङ्जा आँधीखोला र यसको सेरोफेरो)। संस्कृतिविद् डा. तीर्थबहादुर श्रेष्ठका अनुसार, काठमाडौंका नेवारहरू धान रोपाइँलाई ‘सिनाज्या’ (ज्यानै फालेर गरिने काम) भन्छन् भनेर लेखेका छन् (श्रेष्ठः मान्छे, मनसुन र पहाड)।

यी तमाम व्युत्पत्ति र अर्थहरूले स्याङ्जालाई कतै जातजातिको संगम, कतै आतिथ्य, कतै कृषिकर्म, कतै सत्यपथ त कतै एकताको एउटै धागोमा उनिएको सुन्दर भूगोलका रूपमा चित्रण गर्छन्। ‘स्या’ को सकारात्मकता र ‘संयुजा’ को संयोजकताले हामीलाई हर्क गुरुङको भनाइसँग जोड्छ।

गुरुङ लेख्छन्, ‘नेपाल राज्यको प्रारम्भिक उठान काठमाडौँका नेवारहरूले ईशापूर्व धेरै अघि गरेका हुन्। यसको वर्तमान स्वरूपको बैठान अठारौँ शताब्दीको उत्तरार्धमा गोर्खाका ठकुराईले गर्‍यो। गोर्खाका ठकुरी राजा आँधीखोले मिर्चाह्नका पनाति द्रव्य शाह थिए। उनले दरौँदीपूर्वका राज्य सर गर्दा साथमा बाहुन, खस, मगर र गुरुङ थिए (गुरुङ:  विषय विविध)।

दीर्घ नदी अर्थात् आँधीखोलाको भौगोलिक मानचित्र

स्याङ्जा जिल्लामा बग्ने खोलाहरूमध्ये आँधीखोला प्रमुख खोला हो। यसको प्राचीन र पौराणिक नाम ‘दीर्घ नदी’ हो (योगी नरहरिनाथ: देवभूमि भारत एवम् आध्यात्मिक नेपाल पहला भाग)। यो नदीले मूलतः भेँगेरी खोला, छिहिरे खोला र उखा खोलाको त्रिवेणी संगमबाट आकार लिन्छ।

कोसेपानीबाट भेँगेरी, डहरे देउरालीको उत्तरी पाटोबाट छिहिरे र जयखाडोबाट उखा (उखुवारी) खोला उत्पत्ति हुन्छन्। भेँगेरी र छिहिरे मिलेपछि केही तल पुगेर उखा खोला मिसिन्छ र यहीँबाट जन्मिन्छ, दीर्घ नदी।

यो अजस्र जलधारा अघि बढ्दै गर्दा फेदीमा विभ्राँटें खोला र पैरीजाँगरमा कारियाम खोला यसमा विलीन हुन्छन्। सरादी दोविल्लामा पुगेपछि प्राचीन इतिहास बोकेको सरादी खोला यसैमा समाहित हुन्छ। कार्कीनेटा–जुम्लीठानालाई सिरान बनाएर, दायाँ हातले डहरे र बायाँ हातले पञ्चासेलाई अंकमाल गर्दै यो नदी अगाडि बहन्छ।

आफ्नो लामो यात्रामा यसले काली, जरे, भस्र्याङ्, रंगुवा, सम्धी, सेती, पाती, गुँडी, बाड्, अरौदी, रिङ्दी, दरौँ, लुब्दी र छाङ्छाङ्दी जस्ता थुप्रै साना–ठूला जलप्रवाहहरूलाई आफ्नो छातीमा समेट्छ। अन्त्यमा ऐतिहासिक आलमदेवीलाई दायाँ पारेर मिर्मी पुगेपछि यो पुण्यसलिला पवित्र कालीगण्डकीमा विलीन हुन्छ।

पौराणिक गाथा

आँधीखोला पानीको प्रवाह मात्र होइन, यो त पौराणिक करुणाको जीवन्त अश्रुधारा हो। लोकमा प्रचलित र इतिहास बनिसकेको आख्यानअनुसार-त्रेतायुगमा अयोध्याका युवराज दशरथ अविवाहित छँदा दीर्घ नदीको दायाँतर्फ रहेको डहरे लेखमा सिकार खेल्न आएका थिए।

बाणखर्कमा सिकारको पर्खाइमा रहेका दशरथले घ्याङ्सिरीबाट आएको पानीको आवाज सुने। उनले त्यसलाई तृषित मृगको आवाज ठानेर ‘शब्दभेदी बाण’ प्रहार गरे।

त्यसरी प्रहार गरिएको बाण मृगलाई होइन, आफ्ना अन्धा आमाबाबुका लागि घ्याङ्सिरीमा पानी भर्दै गरेका भक्त श्रवणकुमारको छातीमा गाडियो। बाणको चोटले श्रवणकुमारको रगत भलभली बगेर खोलाको पानीमा मिसियो। मरणासन्न श्रवणकुमारले दशरथलाई आफ्ना दृष्टिविहीन आमाबाबु श्रवण आश्रममा प्यासी रहेको बताए र आफूले शरीर त्याग गरे।

शोकसन्तप्त दशरथले जब जल लिएर आश्रम पुगी सत्यतथ्य बताए, पुत्रवियोगमा छटपटिएका अन्धा आमाबाबुले बलिन्द्र धारा आँसु खसाल्दै दशरथलाई ‘हामीजस्तै तिमीले पनि पुत्रशोकमा प्राण त्याग्नुपरोस्’ भन्दै सरापे र प्राण त्यागे। तिनै शोकविह्वल आमाबाबुका आँसु उखा नदीमा मिसिएर बगे। त्यही आश्रमलाई आँधीखोलाको शिर मानियो।

योगी नरहरिनाथले ‘तवसे श्रवण कुमारको पुण्यस्मृतिमें लोगों ने इस स्यांजाको दीर्घ नदीका नाम अन्धी नदी या आँधीखोला रख दिया है’ भनेर लेखेका छन्। यसै पौराणिक घटनाका कारण आजसम्म पनि ‘अन्धाअन्धी आश्रम’ र श्रवणकुमारको रगत मिसिएको ‘श्रवण दह’ तलको पानीलाई देवकार्यमा अशुद्ध मान्ने परम्परा छ।

परम्परागत जीवनशैली, प्रकृति र मौलिक निर्माण

आँधीखोलाको प्राचीन विकास धर्मशास्त्रका मान्यताहरूसँग जोडिएको थियो। यहाँका पुराना बाटाघाटा, खोलाका फड्के र तारनहरू, चौतारी–पोखरी, ठाँटी, पानीपँधेरा र पाकशालाका लागि छाडिएका सार्वजनिक चौरहरू त्यसैका उदाहरण हुन्।

मानिसको जीवनशैली स्वावलम्बी र प्रकृतिमैत्री थियो। शिरमा टोपी, खुट्टामा काठको खराउ, कम्मरमा पटुका, भोटो–चोलो, कछाड र धोती-  सबै स्थानीय तानमै बुनिन्थे। मूलको नजिक पँधेरो बनाउने, समथरमा कुलो तानेर खेत (जलखेती) बनाउने, कुलो नपुग्ने ठाउँमा बस्ती बसाल्ने र भिरालोमा पाखाबाली लगाउने परिपाटी थियो। खरबारीमा पशुपालनका लागि घाँसको जोहो गरिन्थ्यो। आँधीखोलाको किनारैकिनार पहाडका काखबाट डाँडाका टुप्पासम्म खट्केरी (ढुंगे भर्‍याङ) चिनिएका बाटा आज पनि भेटिन्छन्।

नयाँ संरचना र आधुनिक विकासको क्षितिज

वि.सं. २०७२ मा नेपालको नयाँ संविधान जारी भएपछि स्याङ्जाको राजनीतिक मानचित्र बदलियो। साबिकका पञ्चमूल (अधिकांश), चिलाउनेबास, विचारी चौतारा, वाङ्सिङ, सेतीदोभान र फापरथुम गाविसहरू मिलेर आँधीखोला गाउँपालिका (वडा १ देखि ६) गठन भयो। प्राचीन नदीको नामबाटै यस पालिकाको नामकरण गरियो।

यस भेगको आधुनिक विकासको मुख्य प्रेरणा छिमेकी सहर पोखरा हो। पोखरामा सन् १९५२ (वि.सं. २००९) मा विमान अवतरण भयो (गुरुङ: मैले देखेको नेपाल) र सन् १९५७ (वि.सं. २०१४) मा जिप पुग्यो। काठमाडौँबाट पोखरा हुँदै ३–४ घण्टामै आँधीखोलाको प्रवेशद्वार पुग्ने बाटो खुल्यो।

- सिद्धार्थ राजमार्ग र नयाँ बजारहरू:  सन् १९६७ (वि.सं. २०२४) मा पोखरा–भैरहवा जोड्ने सिद्धार्थ राजमार्ग बनेपछि ‘नागडाँडा’ प्रमुख व्यापारिक केन्द्र बन्यो। पछि पोखरा–बागलुङ सडक बनेपछि नागडाँडाको चह लपहल केही घट्यो। नागडाँडा–कार्कीनेटा सडक निर्माण भएपछि भने ‘जिरो किमी’ (नयाँ नागडाँडा) बजारका रूपमा फस्टायो।

हाल यो सडक कालोपत्र भइसकेको छ। गाउँपालिकाले यहाँ श्रवणकुमारले आफ्ना अन्धा आमाबाबुलाई बहङ्गी (विहङ्गी) मा बोकेर हिँडेको सुन्दर प्रतिमा स्थापना गरेपछि नयाँ नागडाँडा ऐतिहासिक पर्यटकीय स्थल बनेको छ।

- पुल, सेतीदोभान र सडक सञ्जाल:  नागडाँडाबाट ओरालो लागेपछि सेतीखोला आउँछ। सन् १९६० मा रू. ६,५०० को लागतमा नयाँ झोलुंगे पुल र सन् १९६१ मा आँधीखोलामा रू. ३,४०० मा अर्को पुल बनेपछि त्यहाँ ८४ वटा घरहरू बनेर व्यापारिक बजार स्थापित भएको तथ्य हर्क गुरुङले लेखेका छन् (ऐजन)। अहिले पुराना झोलुंगे पुलको ठाउँमा पक्की सडक पुल बनेको छ। यो पुल तरेपछि आँधीखोला गाउँपालिकाको स्वागतद्वार आउँछ।

- सेतीदोभानको इतिहास:  सेतीदोभानमा कुनै बेला एउटा पुरानो ठाँटी मात्र थियो। वि.सं. २००८/०९ सालतिर पुनभद्रका बुबा (जसलाई स्थानीयले ‘खोले’ भन्थे) ले खोलेको सानो पसल नै यहाँको पहिलो निजी संरचना थियो। बाटाका चौतारीमा रोपिएका विशाल बर, पीपल र समीका रूखहरूले बटुवालाई विश्राम र शीतलता दिन्थे।

- बाटोको रूपान्तरण: पहिले हिउँदमा खोला तर्दै किनारै किनार र वर्षामा पाखैपाखा (एकुवारै एकुवार) हिँड्नुपथ्र्यो। हिउँदमा २०–२२ पटकसम्म खोला तर्नुपर्ने बाध्यता थियो। अहिले कालोपत्रे सडक बनेपछि घण्टौँको यात्रा मिनेटमै छोटिएको छ।

इतिहासका कोसेढुंगा

आँधीखोलाको किनारमा स्याङ्जा सदरमुकामबाट दूरी जनाउने ‘कोसेढुंगा’हरू गाडिएका थिए। पहिलो कोसेढुंगा ठुलीबेँसी फाँटको सिरानमा (पुतलीबजार र आँधीखोला गाउँपालिकाको सीमा) थियो। दोस्रो आँधीखोला वडा नं. ५ को रंगेठाँटी बजारमा थियो। तेस्रो आँधीखोला वडा नं. २ स्थित जनप्रदीप माविबाट ओरालो लाग्दा जरेखोलातर्फको कान्लामा थियो भने चौथो कोसेढुंगा फलेवास नगरपालिका वडा नं. १ (कार्कीनेटा) को टिउँरोटमा राखिएको थियो।

हनुमानढोकालाई केन्द्र मानेर देशभर कोसेढुंगा राख्ने चलन राजा रणबहादुर शाहले चलाएका हुन् (नयराज पन्तः त्रिरत्न सौन्दर्य गाथा)। डा. हर्क गुरुङले वि.सं. २०२३ फागुनमा जुम्ला जाँदा जुम्लाको चोकमा ‘श्री हनुमानढोकादेखि कोस १६९’ लेखिएको खम्बा भेटेको उल्लेख गरेका छन् (मैले देखेको नेपाल, अध्याय ३)। स्याङ्जामा भने पहिले नुवाकोट सदरमुकाम छँदा राखिएका ढुंगाहरूलाई पछि स्याङ्जा सदरमुकाम बनेपछि रूपान्तरण गरिएको अनुमान गर्न सकिन्छ।

रंगेठाँटी, चिलाउनेबास र जनजीवनका पुराना पाना

- रंगेठाँटीको रौनकताः  रंगुवा खोला आँधीखोलामा मिसिने दोभानमा बटुवाहरूका लागि बनाइएको पुरानो, कलात्मक ठाँटी नै पछि रंगरोगन गरिएपछि ‘रंगेठाँटी’ नामले प्रसिद्ध भयो। यहाँ नेवार समुदायको बसोबास थियो। माहिला नेवार (वृजमान) ले जडीबुटी र औषधोपचार गर्थे। व्यापारीहरूले लत्ताकपडा र खाद्यान्न बेच्थे।

नदी किनारमा बोटे जातिका मानिसहरू झुपडी बनाएर बस्थे। उनीहरूको मुख्य पेसा माछा मार्नु र अभर परेका बटुवाहरूलाई डुंगाबाट खोला तारिदिनु थियो। चैत–वैशाखमा सिरुबारी र आर्थरका गुरुङहरू माछा मार्न आउँथे। उनीहरू खिर्रो र काफलको बोक्रा थिचेर रहमा हाल्थे, जसले माछा मात्तिएर पक्रन सजिलो हुन्थ्यो।

- कोत्रेको बगैँचा र चिलाउनेबास:  रंगेठाँटीबाट उकालो लागेपछि बटुवाहरू ‘कोत्रेको बगैँचा’ मा भारी बिसाउँथे। त्यहाँबाट अघि बढेपछि ‘चिलाउनेबास’ पुगिन्थ्यो। धेरै पहिले यहाँ एउटा विशाल चिलाउनेको रूख थियो। साँझ परेका बटुवाहरू त्यही रुखको फेदमा ओत लाग्ने, भात पकाउने र बास बस्ने गर्थे। यही रूखको फेदको बासबाट ठाउँको नाम नै ‘चिलाउनेबास’ रहन गयो।

- ऐतिहासिक ‘सेरा पसल’ र पानीघट्ट:  वि.सं. १९८० भन्दा पहिल्यै स्थानीय डिल्लीराम उपाध्यायले चिलाउनेबासमा गौशाला, पक्की घर, तबेला र घेराबारासहित ‘सेरा पसल’ चलाएका थिए। पछि उनकै प्रेरणामा रंगेठाँटीका साहिँला नेवारले यहाँ कपडा पसल खोलेका थिए।

यस्तै, वि.सं. २०१२ अघि नै चिलाउनेबास बगर खेतको स्याम्कीरह (सिस्नेरह) नजिकै पानीघट्ट सञ्चालनमा थियो। मडुवा माथिल्लो गाउँका जिम्मावाल नरबहादुर गुरुङले सुरु गरेको यो घट्ट पछि ‘मादीपारे’ (कास्की पूर्वको मादी नदी तरेर आएका व्यक्ति) लाई बेचियो र कालान्तरमा कतिपयले उधारो लग्ने र समयमा नतिर्ने हुनाले उनको व्यापार फस्टाउनुको सट्टा साँघुरिँदै गयो। अन्तमा उनले त्यहाँको व्यापार उठाए।

-  पर्यटनको पहिलो पाइला:  सन् १९५८ पछि नेपाल पर्यटनका लागि खुला भएसँगै विदेशी पर्यटकहरू डुम्रे, भोटेओडार, थोरङ्ला पास हुँदै मुक्तिनाथ, जोमसोम, कुस्मा र कार्कीनेटा भएर आँधीखोलाको किनारै किनार पोखरा फर्कन्थे। चिलाउनेबासको फूलबारीमा पर्यटकहरू पाल टाँगेर बस्थे। उनीहरू स्थानीय किसानले खेत जोतेको, रोपेको, धान काटेको, दाइँ हालेको, भलिबल–कपर्दी खेलेको र खच्चरले भारी बोकेको दृश्यहरू क्यामेरामा कैद गर्थे।

समग्रमा, स्याङ्जा र आँधीखोला एउटा प्रशासनिक भूगोल वा जलधारको नाम मात्र होइनन्; यो त सनातन इतिहास, संस्कृति, श्रवणकुमारको मातृ–पितृभक्ति, मौलिक जीवनशैली र आधुनिक विकासको एउटा अद्वितीय संगम हो।

सिरुबारीजस्तो देशकै पहिलो ‘ग्रामीण पर्यटकीय गाउँ’ यही भूगोलमा मुस्कुराइरहेको छ। थाप्लेमा स्थापित भगवान् बुद्धको प्रतिमा र बाटास्वराको ब्रह्माण्ड संग्रहालयले यसको सांस्कृतिक गरिमालाई थप उचाइ दिएका छन्।

प्राचीन दीर्घ नदीको किनारै किनार सुरु भएको यो जीवन–यात्रा आज आफ्नो पौराणिक जग र मौलिक सुवासलाई हृदयमै साँचेर आधुनिकताको राजमार्गमा दौडिरहेको छ।

प्रकाशित: २७ भाद्र २०८३ ११:११ शनिबार