भोटेकोशीमा आएको बाढीले धेरै धनजनको क्षति भयाे। यो प्रकोपको कारणले सिङ्गो नेपाल र सम्पूर्ण नेपालीलाई साह्रै दुखी अनि मर्माहत नै भएको अवस्थामा पुर्याएको छ।
यो अकल्पनीय घटनाको कारण यसबेला विश्वको नै ध्यानाकर्षण मानवीय विपत्तिको कारण खिचेको छ। अझैसम्म कैयौं सुरुङभित्र फसेको हुन सक्ने आशंका र भत्केका भवनहरूको भग्न अवशेषहरूमा हराइएको हुनाले अझै उदार कार्य जारी नै देखिन्थे।
च्याङ्बा लामा! रसुवाको यहीँ भोटेकोशीको किनारमा भव्य होटल व्यवसाय गरेर बसेका उ एउटा राम्रो यस स्थानको स्थापित व्यवसायी थिए।
अचानक आएको बाढीले तर उसको सम्पूर्ण परिवारसहित घर पनि बगाएर लग्यो भने उनीचाहिँ त्यहीँ बाढीको छालले हुत्याउन पुग्दा बाँच्न सफल भए। समय केही सहज भएपछि पत्रकारले च्याङ्बाको नजिक पुग्दै सोध्यो, ‘दाइ! घाइते हुनुहुन्छ जस्तो छ, बाँकी थप अवस्था कस्तो छ?’
च्याङ्बाले आँखाभरि आँसु पार्दै भन्यो, ‘यहीँ माटोमा नै रगतपसिनाले दुनियाँ बसालेको हो सबथोक लग्यो।’
च्याङ्बाको कुरा र हालत देखेर पत्रकार पनि निकै नै भावुक हुन् पुग्दा एकैछिन रोकिए। आकाशमा उद्धारका लागि हेलिकप्टरहरू उड्दै थिए। नेपाली सेना र नेपाल प्रहरीहरूको उदार टोलीले उक्त क्षेत्रमा दिनरात नभनी खटिरहेको देखिन्थे।
माहोल थोरै सहज जस्तो भएपछि लामो स्वास तान्दै च्याङ्बालाई फेरि सोधे, ‘दाइ! विपत्तिबारे भन्नु के छ?’
च्याङ्बा बोल्यो, ‘हो छ नि भन्नु यो दैवी प्रकोप होइन।’
उत्सुक हुँदै पत्रकारले सोध्यो, ‘तेसो भए कारण के त?’
चिन्तित मुद्रामा च्याङ्बाले भन्यो: भूतप्रेत नै लाग्यो।
छक्क पर्दै सोध्यो, ‘दाइ! त्यस्तो नि हुन्छ अब उपाय के? निश्चिति हुँदै च्याङ्बाले भन्यो, ‘अब सेरगेम गर्नुपर्छ।’
पत्रकारले उदेक मान्दै सोध्यो, ‘भन्नुको मतलव के हो?’
च्याङ्बाले बोल्यो, ‘शक्तिशाली राष्ट्रहरूको घमण्डको कारण नै पर्यावरण विचलन भो! त्यहीँ भुत उतार्नुपर्छ।’
पत्रकारले गाँठो फुकाउन सोधे, ‘के सम्भव होला?’
च्याङ्बाले निर्धक्क हुँदै भने, ‘हो अवश्य पनि सम्भव छ हाम्रो कुरालाई अन्तर्राष्ट्रिय मञ्चसम्म नै पुर्याएर!’
थप यसपछि पत्रकारसँग सोध्न अरू प्रश्न नै थिएन।
प्रकाशित: ११ आश्विन २०८३ ०८:५१ आइतबार