कला/साहित्य

त्याग पनि हो माया अनि समर्पण पनि हो!

गीत

१) गीत

छँदै थिएन मन तिम्रो प्रेमको उपहास गर्न

कहाँ सकिन्छ सधैं मायामा उपवास गर्न!

 

त्याग पनि हो माया अनि समर्पण पनि हो

अन्तर्मनको इच्छा, मुटुको ढुकढुकी पनि हो

प्रेमको आकाशमा पुगी सकिन्न तल झर्न

कहाँ सकिन्छ सधैं मायामा उपवास गर्न!

 

फूलको पत्रपत्रझैं प्रेमको कोमल मन हुन्छ

आलिङ्गनमा बाँधिएको जस्तो फूलको तन हुन्छ

सुवास बोकेर प्रीतको जानु छ सागर तर्न

कहाँ सकिन्छ सधैं मायामा उपवास गर्न!

२) गीत

कोलाहल छ वरिपरि, आतंकको छायाँ

अन्धकार छ चारैतिर अझै दायाँबायाँ!

 

आवेगी छ युवा पुस्ता सम्हाल्नु छ यिनलाई

देखाउनु छ बाटो पनि अघि बढ्न यिनलाई

घृणाभन्दा अमूल्य नै हुने थियो माया

अन्धकार छ चारैतिर अझै दायाँबायाँ!

 

चिन्तन होस् सकारात्मक उठ्न गाह्रो छैन

सबैको मन मिलेपछि जुट्न गाह्रो छैन

पखालियोस् अब साँच्चै शत्रुताको चाया

अन्धकार छ चारैतिर अझै दायाँबायाँ!

३) गीत

तिमी हिंड्ने बाटोमा फूल छरिदिउँला

पैताला टेक्ने ठाउँ नरम राखिदिउँला!

 

मनमा छन् के कुरा, नलुकाई भन

पछि त के होला, धड्कन बढ्ला झन

तिमीलाई सिँगारी चट्ट पारिदिउँला

पैताला टेक्ने ठाउँ नरम राखिदिउँला!

 

कहिले हो तिमीले वाचाकसम खाने

पर्खेरै बित्ने भो कहिले तिमीलाई लाने

तिमी मुस्कुराए त जूनै टिपिदिउँला

पैताला टेक्ने ठाउँ नरम राखिदिउँला!

४) गीत

तिमी जति रिसाऊ, एकदिन फकाइहाल्छु

मायाले बाँधी तिमीलाई, एकदिन सताइहाल्छु!

 

सम्झनाको रुमाल च्यातिसक्यौ कि

प्रेमले उन्या माला फ्याँकिसक्यौ कि

मनमा छ भाव कस्तो एकदिन बताइहाल्छु

मायाले बाँधी तिमीलाई एकदिन सताइहाल्छु!

 

यो मनदेखि त्यो मन नबढाऊ दूरी

कलेजीमा प्यारको नचलाऊ छुरी

तिम्रो मनभित्र हक एकदिन जताइहाल्छु

मायाले बाँधी तिमीलाई, एकदिन सताइहाल्छु!                 

प्रकाशित: १५ कार्तिक २०८२ १५:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App