पृथ्वीमा अटल भएर उभिरहेको
जसको शरीर र छाती टेकेर असंख्य
जिवात्माहरू जिएका छन्, रमाएका छन्
आफ्नो अस्तित्व जोगाउन कुदिरहेका छन्
तैपनि पहाड अनेकौं पीडा भए पनि
स्थिरता लिएर उभिरहन्छ
टक्क उभिरहन्छ
उसलाई न दिक्क लाग्छ न आतिन्छ
मात्र उसलाई अरु बँचाउनु छ
कहिले हावा छेकेर त कहिले खाद दिएर
जे परोस् ऊ सहन्छ
नहल्लिएर नै ऊ बाँचिरहन्छ
कहिलेकाही ऊ माथि भएर
जताततै हेर्दो हो
ऊभन्दा माथि अझै माथि अग्ला शिखर देख्दा
उसलाई झोक चल्दो हो
मैले नसहनु सहेको छु
मलाई माथ गर्दै ऊ माथि
अनि मुर्मुरिँदो हो
मलाई माथ गर्ने तँलाई
एकदिन खसाल्छु, ढाल्छु र निहुर्याउँछु
अझै रिसाउँदै भन्दो हो
तँलाई डढेलो लगाइदिएर
तसँग भएका अंसख्य जिवात्माहरू
मसँगै आउँछन् रमाउँछ्न्
यतिबेला ऊ बिर्सदो हो
ऊ र म
अस्तित्वका लागि सम्बन्धित छौ
ऊ लड्यो भने म गर्ल्यामगुर्लुम्म हुन्छु
म पनि नासिन्छु ऊ पनि नासिन्छ
अनि फेरि ऊ तल नियाल्दाे हो
उसलाई भेटौलाझैँ गरेर
माथि आकाश नियालेर उभिरहेका पहाड
अनि भन्दो हो
मलाई नउछिनेर अलमलिएकाहरू
उतै कुदिरहेका रहेछन्
न यिनीहरूको कुनै शक्ति छ मलाई भेट्न सक्ने
एकछिन उसलाई आनन्द जाग्दो हो
यतिबेला पनि ऊ विस्मरणमा पर्दो हो
कुनै पल बाढी आएर यी अल्मलिएकाहरू
लड्दा म पनि लड्दो हुँ!
एकछिन है पहाड
तिमी किन यति विघ्न घमण्ड गर्छौ
भोभो नगर अभिमान भो
धेरै तलतल ऊ धेरै तल हेर त
अविरल बग्ने ऊ त्यो खोलाले
पलपल हरपल निमेषनिमेष
तिमीलाई काटिरहेछ,खियाइरहेछ
वर्षातको पानी थपीथपी
लडाइरहेछ, आफ्नो रंग फेरिफेरि
बगाइरहेछ, डुबाइरहेछ
ऊ निरन्तर बग्छ, बगिरहन्छ
धेरै निलो भएर कहिले अनेकौं रूप लिएर
खोला पनि त तिम्रो ओझेलमा दिक्क मानेर
रविको किरण छेकेको देख्दा
सिधै किरण पाउने र तात्ने आशमा
अथकित भएर
तिम्रो पैताला काटिरहेछ, खियाइरहेछ
कणकणमा तिमीलाई रूपान्तरण गरिरहेछ
न ऊ स्थिर हुन्छ न थाक्छ न डराउँछ
उसलाई पनि त लाग्दो हो
एकपल अडियौ,
एकपल आराम गरौं
अलमलिऔं रमाऔं
भो ऊ त्यसो गर्दैन गर्दै गर्दैन
उसलाई त तिमीलाई ढाल्नु छ
आफूभित्र मिलाउनु छ
तिमीलाई भित्र पठाएर ऊ बाहिर निस्कनु छ
तिमीभन्दा कति तल हुनु भन्ने अभिमान उसमा छ
त्यही भएर ऊ हरपल
तिम्रो फेदैदेखि नै काटिरन्छ, खियाइरहन्छ
निरन्तर तिमीलाई ढालिरहन्छ
तिमीले खोलालाई पुर्न सक्तैनौ
कहिल्यै सक्तैनौ
ऊ नै तिमीमाथि हुन्छ
ढिलो हुन्छ तर पक्कै तिमीमाथि हुन्छ
न तिम्रो नढ्ल्ने सपनाहरू पूरा हुन्छन्
न खोलाको आराम गर्ने आश पूरा हुन्
निरन्तरनिरन्तर
पहाड ढलिरन्छ,पछारिरहन्छ
खोला झन् धारिलो धारिलो भएर
बगिरन्छ र उसलाई काटिरन्छ।
प्रकाशित: ४ श्रावण २०८३ १२:४२ सोमबार
-600x400.jpg)


