कला/साहित्य

लयात्मक लहड

पुस्तक

विशुकुमार केसी नेपाली कविता लेखनमा ४० को दशकदेखि निरन्तर सक्रिय व्यक्ति हुन्। उनका कवितामा जीवनका विविध अनुभवमाथि समयको तीक्ष्ण अवलोकन, समाजप्रतिको आलोचनात्मक दृष्टि र मानवीय संवेदनशीलताको निरन्तर उपस्थिति पाइने गर्छ।

सरकारी सेवाबाट निवृत भएपछि केसीमा साहित्यिक सशक्तता अझ थपिएको छ । हालै उनको कवितासङ्ग्रह प्रकाशित भएको छ– ‘पागल हुन कहाँ सजिलो छ र ?’ ५७ वटा कविता संकलित यस सङ्ग्रहमा कविको जीवनदृष्टि, काव्य–विचार र सामाजिक यथार्थप्रतिको प्रतिबद्धता अभिव्यक्त भएको छ।

कवि केसी तथा उनको कवितासङ्ग्रहबारे कवि दिनेश अधिकारी लेख्छन्, ‘समय, सम्बन्ध, प्रकृति, परिवर्तन र भोगाइलाई टपक्क टिप्नुका साथै मान्छेका विभिन्न मनोदशालाई सरल भाषामा प्रभावकारी ढंगबाट प्रस्तुत गर्ने उहाँको क्षमता साँच्चिकै लोभलाग्दो छ।’

कवितासङ्ग्रहलाई सरसर्ती हेर्दा कविताहरू कुनै समयको भावनात्मक अभिलेख नभई समाज र समयको दर्पणझैं लाग्छ। कवितासङ्ग्रहमा कविले आफ्ना जीवन–अनुभव, सामाजिक पीडा, आशा–आकांक्षा र समयको विसङ्गतिलाई प्रस्तुत गरेका छन्।

‘जिन्दगी समयको नदी न हो

उकालो पहाड आए झर्नाझैं झर्नुपर्छ

समतल मैदानमा बगरसँग बात मार्दै

सुस्तसुस्त बग्नुपर्छ’

–‘हलुको जिन्दगी’ बाट  

सङ्ग्रहको शीर्ष कविता ‘पागल हुन कहाँ सजिलो छ र?’ मा हाम्रो समाजको रूढिवाद, असमानता, अन्याय र भ्रष्टाचारविरुद्ध आवाज उठाउनु सजिलो नभएको विम्ब प्रस्तुत गरेका छन्। यहाँ ‘पागल’ शब्द शाब्दिक नभई प्रतीकात्मक रूपमा प्रयोग भएको छ। ‘पागल’ हुनु भनेको परम्परागत सोचलाई अस्वीकार गर्नु, साहसिक रूपमा सत्य बोल्नु र स्वतन्त्र आत्मा भएर बाँच्नु हो। यस कविताले सङ्ग्रहकै वैचारिक मेरुदण्डलाई संकेत गर्छ।

‘बुगुल्टो निल्नुपर्छ

अगुल्टो ओकल्नुपर्छ

चेतनालाई च्यात्नुपर्छ

चिन्तालाई च्याप्नुपर्छ

अरे यार!

पागल हुन कहाँ सजिलो छ र?’

–‘पागल हुन कहाँ सजिलो छ र?’ बाट

सङ्ग्रहमा समावेश ५७ कविताले विविध विषयलाई सम्बोधन गरेका छन्। जहाँ सामाजिक यथार्थसँगै राजनीतिक चेतना पनि कविताले पस्किएका छन्। कविताभित्र विगत तीन दशकको राजनीतिक यात्राप्रतिको निराशा, संक्रमणकालीन अवस्थाको आलोचना र नेताप्रतिको अविश्वासको स्वर बलियो छ। कविले सरल रूपमा समाजमा व्याप्त भ्रष्टाचार, ढोँगीपन र असमानतालाई प्रहार गरेका छन्।

‘संयन्त्रहरू अलमलमा छन्

प्रयत्नहरू छलफलमा छन्

विश्वास गरे पनि नगरे पनि

भाग्यको भरोसा गर्न परेको छ

मेरो देश लकडाउनमा छ

दुनिया लकडाउनमा छ।’

– ‘लकडाउन’ बाट

सङ्ग्रहले मानवीय संवेदना र अस्तित्वबोधलाई महत्त्वसाथ उठाएको छ। जीवन, मृत्यु, पीडा, आशा र निराशाबिचको सम्बन्ध कवितामा बारम्बार आएको छ। कविले व्यक्तिगत पीडालाई सामूहिक पीडासँग गाँसेका छन्। कवि आफैंमा प्रेमिल स्वभावका व्यक्तित्व हुन्। सङ्ग्रहले प्रेम र आत्मसंवादलाई सहज पस्किएको छ। केही कवितामा प्रेमात्मक आत्मसंवादका साथमा दार्शनिक चिन्तन पनि  भेटिन्छ।  

‘न देख्छु म कसैलाई

न मलाई देख्छ कसैले

मेरा लागि न घाम उदाउँछ

मेरो न जुन झुल्कन्छ

तिमी नहुँदा मेरो आकाश पनि मधुरो लाग्छ।’

–‘तिमी नहुँदा’ बाट

सङ्ग्रहका केही कविताले विद्रोह र मुक्तिको आवाज बोलेका छन्। ‘पागल बन्न कहाँ सजिलो छ र’ कविता नै समाजको मौनता तोड्ने हिम्मत हो। त्यसैले सङ्गृहीत कतिपय कविता विद्रोही मात्र होइनन्, स्वतन्त्रताको खोजीमा समेत सक्रिय छन्।

केसीका कविताको मुख्य विशेषता मध्ये एक हो  -सरल तर धारिलो भाषा। उनले जटिल प्रतीकात्मकताभन्दा बढी स्पष्ट र प्रहारात्मक शैली रोज्ने गरेको पाइन्छ। पागल, सपना, रात, रगत, समयजस्ता प्रतीकलाई बारम्बार प्रयोग गरिएको छ। कवितामा राजनीतिक विडम्बनाको व्यङ्ग्यात्मक प्रस्तुति छ। व्यङ्ग्यको धारिलो प्रयोगले कवितालाई सामाजिक आलोचनामा प्रभावकारी बनाएको छ।

‘बिर्सेछ कि यसले फोटो खिच्न

या बिग्रियो यो ठाँडो

अचेल मेरो क्यामराले

मेरो गाउँको तस्बिर

बेग्लै खिच्न थालेको छ।’

–‘बिग्रेको क्यामरा’ बाट

सङ्ग्रहका अधिकांश कविता मुक्तछन्दमा छन्। कतिपयमा लय कमजोर भए पनि विचारको बलले कवितालाई प्रभावशाली बनाएको छ। कवितामा जीवन र मृत्यु, सत्य र असत्य, मुक्ति र बन्धनबारे प्रश्न उठाइएको छ। कवि आफूलाई केवल समयको आलोचक मात्र होइन, जीवन–अर्थको खोजी गर्ने चिन्तकका रूपमा पनि प्रस्तुत गर्छन्। जीवनको बोधमा नोस्टाल्जिक भएर केसी दसैं सम्झन्छन् र लेख्छन्।

‘भुटेर धान

ताल मिलाएर उडकलमा

कुटेको चिउराको बास्ना नै मिठो हुन्थ्यो

खल्पी हालेर गालेको काँक्राको अचार

नखाँदै पनि मुख रसाउँथ्यो

र पो, दसैं आएको मज्जा हुन्थ्यो।’

–‘दशैं आएको मज्जा’ बाट

सङ्ग्रहका कविताले पाठकलाई भावनात्मक मात्र होइन, बौद्धिक रूपमा पनि चुनौती दिन्छन्। कविले समाजका यथार्थहरूलाई ऐनाजस्तो प्रस्तुत गरेका छन्, जसमा पाठकले आफ्नै अनुहार देख्छन्। कविताले प्रश्न उठाउने शक्ति बोकेका छन् भने कवितामा आशाको स्वर पनि छ। निराशाबिच पनि कवि अझै स्वतन्त्रताको खोजमा उभिन्छन्, जुन नेपाली समाजका लागि प्रेरणादायी छ।  

प्रकाशित: १२ पुस २०८२ ०९:४१ शनिबार