खेल्न गएकी छोरी सितल रूदै आएकी देखेर सिमाले सोधी, ‘के भयो किन रोएकी?’
शीतल ले रुँदै भनी, ‘मलाई रविले पिट्यो!’
शीतल र रवि दाजुभाइका एकै दामले छोराछोरी, सँगै खेल्थे तर करेसो जोडिएको घर भए पनि दाजुभाइको त्यति राम्रो सम्वन्ध थिएन।
‘हिजो पनि पिट्यो, आज पनि गाला रातो हुन्जेल पिटेछ। ए, तँलाई त्योसँग नखेल भनेको हैन, आज पनि त्याईं पुगिस् अरू साथी थिएनन?’ उल्टै छोरीलाई झपारी र जेठानीतिर इंगित गर्दै भनी, ‘हैन यिनीहरूले किन यतिसारो हेपेका हँ! यिनीहरूको झाँक्को नझारी भएन।’
सिमा छोरीलाई तान्दै विमलाको घरतिर फरिया सुर्कदै पुगी।
‘एss, दिदी! बाहिर निस्क?" सिमा घर अगाडि पुगेर कुर्लीई।
‘हैन फेरि के भो? टोलै थर्किने गरी किन चिच्याकी!’ देवरानीको कर्कश ध्वनि सुनेर विमला फरियाको सप्कोले कम्मर कस्दै बाहिर निस्किई।
‘के भो रे? तिम्रो छोराले हिजो मेरो छोरीलाई पिट्यो, आज पनि गालै रातो हुने गरी पिटेछ। यसरी सहन सकिन्न!आफ्नो छोरालाई ठिक ठाउँमा राख नत्र ठिक हुन्न।" सिमाले चोर औँला ठड्याउँदै चुनौती दिई।
हल्ला सुनेर छिमेकीहरू पनि भेला भैसकेका थिए।
‘राख्दिनँ! लु के गर्छेस् हेरौं त!’ उ पनि के कम, सिमाको मुखमा औंलो ठड्याउन पुगी।
तिलले पहाडको रूप लियो। हेर्दा हेर्दै दुवै कपाल लुच्छालुछ गर्न थाले।
‘होइन ल हेर! के भएका यी देवरानी जेठानी! झगडा गर्न पो थालेछन्! हैन के भयो फेरि?’ माझाघरकी रम्भा भिड पन्साउँदै आएर दुवैलाई छुटाउँदै भनी।
‘विमलाको छोरोले सिमाको छोरीलाई पिट्यो रे, त्यसैको निहुँमा यी आमाहरु लुच्छालुछ गर्दैछन्।’ भिडबाट कसैले भन्यो।
‘अनि उनीहरू त खेल्दैछन् त!’ रम्भाले आँगनको कुनातिर इंगित गर्दै भनी।
सबैको ध्यान तेतै सोझियो, जहाँ रवि र सितल मस्त खेलिरहेका थिए।
प्रकाशित: ११ आश्विन २०८३ ०८:०८ आइतबार