कला/साहित्य

निर्माता खड्कालाई विभिन्न प्रतिष्ठित संघसंस्थाको सम्मान

सम्मानपछि नायक/निर्माता नबल खड्का। तस्बिरः महेश्वर

चलचित्रमार्फत राष्ट्रियता, देशभक्ति र इतिहास संरक्षणबारे सचेतना अभियान चलाउँदै आएका अभिनेता तथा चलचित्र निर्माता नवल खड्कालाई विभिन्न संघसंस्थाले लगातार दुई दिन सम्मान गरेका छन्। गएको आइतबार र सोमबार फरक-फरक प्रतिष्ठित संघसंस्थाहरूले खड्कालाई राष्ट्रियस्तरको सम्मान गरेका हुन्।

महान् सहिद भीमदत्त पन्तको जीवन संघर्ष, बलिदान र योगदानलाई चलचित्र ‘भीमदत्त’ मार्फत उतारेर नयाँ पुस्तासम्म पुर्याएको तथा मृत्युपश्चात सहिद घोषणा गराउन  महत्वपूर्ण योगदान दिएको उच्च मूल्याङ्कन गर्दै अखिल मजदुर किसान महासंघद्वारा खड्का सम्मानित भएका छन्। आइतबार एक कार्यक्रमका बीच भीमदत्त स्मृति दिवसको अवसर पारेर खड्कालाई सम्मान गरिएको हो।

संघीय राजधानी काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डे र किसान महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठले खड्कालाई संयुक्त रूपमा दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गरे।  

त्यसैगरी, अर्को देशभक्तिपूर्ण कथानक चलचित्र ‘काँडेतार’मार्फत देशको सीमा सुरक्षा, सीमा नियमन तथा सीमामा काँडेतारको बार लगाउनु पर्ने मुख्य विषयमा केन्द्रित भई नेपाल भारत सीमाको विषयलाई राष्ट्रिय बहसको रूपमा स्थापित गरेर जनचेतना फैलाएको योगदानस्वरुप खड्कालाई ‘जनजागरण स्रष्टा सम्मान–२०८३’ ले सम्मान गरिएको छ।

सोमबार जनसाँस्कृतिक महासंघ नेपाल, इन्द्रेणी साँस्कृतिक विकास केन्द्र र नारायणबाबु श्रेष्ठ स्मृति प्रतिष्ठानद्वारा आयोजित संयुक्त कार्यक्रममा खड्कालाई सम्मान गरिएको हो। उनलाई बागमति प्रदेशसभा सदस्य सरल सहयात्रीले दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गरे।

आइतबार र सोमबार लगातार दुई दिनमा आधा दर्जन संस्थाहरूबाट सम्मानित नायक तथा निर्माता खड्काले कार्यक्रममा महान् सहिद भीमदत्तको योगदानको स्मरण गरे। खड्काले देशभक्तिको विषय पछिल्लो पुस्तामा हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै राष्ट्र र राष्ट्रियताको विषयमा जनचेतना फैलाउनकै लागि आफू आबद्ध चलचित्र क्षेत्रमार्फत सक्दो योगदान गर्दै आएको बताए।

सहिद भीमदत्तको उद्गार सापट लिँदै खड्काले ‘कि त जोत हलो, कि त छोड थलो–बिना जोती हलो, अब हुन्न भलो, जनतालाई रोटी, रोजी, कपडा दे, नत्र गद्धी छोडी दे !’ भन्ने भीमदत्त बाणी नारा मात्र नभई जनअधिकार, सम्मान र न्यायको घोषणापत्रसमेत भएको बताए। खड्काको स्पष्टोक्ति थियो ‘भीमदत्त पन्त अन्याय, शोषण र सामन्ती व्यवस्थाविरुद्ध जीवनभर संघर्ष गर्ने महान् जनयोद्धा भएकाले उनको सम्मानस्वरुप भिमदत्त चलचित्र बनाएको हुँ।’ महान् सहिद भीमदत्तका अधुरा सपनाहरू पूरा गर्नु हरेक सच्चा नेपालीको परम् कर्तव्य हुने आवश्यक्ता औल्याउँदै त्यसैमा भीमदत्तको असली सम्मान हुनेमा जोड दिए।

चलचित्रको माध्यमबाट राष्ट्रियता, इतिहास संरक्षण, सीमा सुरक्षा र जनजागरणका क्षेत्रमा आफू सँधै लाग्दै आएको र जीवनभर र अभिनय अवधिभर लागिरहने प्रण पनि नायक खड्काले गरे।

प्रकाशित: १९ श्रावण २०८३ ११:२० मंगलबार