कला/साहित्य

पुरानो सत्तल

लघुकथा

धार्मिक चेतनाले पुर्वजहरूले  सत्तल, चौतारी, ढुङ्गेधाराहरू बाटोघाटोमा थकित पथिकहरूको  विश्रान्तिका लागि बनाइदिन्थे। पुरातात्त्विक इट्टा, ढुङ्गा, टुँडाल र खम्बाहरू हराउँदै गए। कुनै ठाउँमा भने जीर्ण अवस्थामा भए पनि केही जीवित देखिन्छन्।

काठमाडौंको सहरी क्षेत्रमा भएको एउटा त्यस्तै सत्तलमा मानसिक सन्तुलन गुमाएकी एउटी युवती बस्थी। प्राय: शान्त स्वभावकी हुने भएकीले टोलबासीहरू खानलगाउन दिएर "अभागी आइमाई" भनेर त्यसकाे रेखदेख गर्थे। फोहरमैलाले त्यसकाे अनुहार कालै हुन्थ्याे। लुगाफाटो कुन रङ्गको हो छुट्याउन सकिँदैन थियो।

कहिलेकाहीँ त्यो गाला र ओठमा रातो रङ्ग पोतेर सडकको रेलिङमा उपरखुट्टी लाएर बसेर खुट्टा हल्लाउँदै  कर्णप्रिय स्वरमा हिन्दी तथा नेपाली गीत गाउँथी। बाटो हिंड्दा पनि त्यो सुनेर प्रभावित भएको थिएँ। मलाई उसकाे त्यो क्षमताको कदर हुन्थ्यो जस्तो लाग्थ्याे तर फेरि कुनै बेला धारेहात लगाउँदै, केको कुरा फलाक्दै धुरुधुरु रोइरहेकी हुन्थी। त्यो कताबाट आएर त्यहाँ बसेकी भन्ने कसैलाई पनि थाह थिएन। रातको चकमनतामा धेरै पिपासुको सिकार भैसकेकी त्यसलाई "बौलाही" को संज्ञा दिइएको थियो।

हेर्दा हेर्दै त्यो बौलाहीको पेट बढेको देखियो। त्यो बेला ऊ रिसाहा बघिनी जस्ती बनेकी थिई। खानेकुरा दिने मान्छेलाई पनि नजिकै आउन दिन्न थिई।

एकदिन साँझपख त्यो सत्तलबाट आएको पीडायुक्त चीत्कार सुनेर त्यतैपट्टि घुम्मिए। रगतको आहालमा क्रन्दन गरिरहेको नवजात शिशुलाई देखेर "दर्शालुहरू बहुलाहीले सन्तान जन्माइछ! कसकाे पापको पोको होला" भन्न थाले। त्यसैबीच बौलाहीले सँगै भएको चुलाको दर्शनढुङ्गा उचालेर हुलमा उभिएको एउटा पुरुषको टाउकोमा ताकेर प्रहार गरी।

प्रकाशित: २७ भाद्र २०८३ १३:१२ शनिबार