लिम्चुङबुङ गाउँपालिका–२, ताम्छिला, उदयपुरमा जन्म भई त्रियुगा नगरपालिका–३, मोतिगडा, उदयपुरलाई कर्मथलो बनाउँदै शिक्षण र प्राध्यापन सेवामा रही माध्यमिक शिक्षक द्वितीय श्रेणीमा सेवारत रही समाजसेवा र साहित्य सिर्जन त्यसमा पनि निबन्ध लेखनमा रमाउने स्रष्टा पुण्य कार्कीको पहिलो निबन्धसङ्ग्रह ‘कविको छैठौँ इन्द्रिय’ (२०६०,) दोस्रो ‘एउटा हर्कलसको खोजी’ (निबन्धसङ्ग्रह, २०६३) , तेस्रो ‘रातको सुन्दरता’ (निबन्धसङ्ग्रह २०६९) , चौथो ‘जाग्रत आँखा’ (निबन्धसङ्ग्रह, २०७३) , पाँचौँ ‘बड्लङ बड्लङ’ (निबन्धसङ्ग्रह, २०७६) , छैठौँ ‘जराको शक्ति’ निबन्धसङ्ग्रह २०८२ साहित्यको उद्यानमा मगमगाएको पाइन्छ।
‘जराको शक्ति’ निबन्धसङ्ग्रहभित्र पैँतालिस थान सग्ला, पुष्ट, तन्नेरी, घतलाग्दा, मार्मिक निबन्धहरू सङ्गृही छन्। निबन्धकार कार्कीका अनुभव, अनुभूति, आफूले भोगेका, देखेका, सुनेका कुराहरूलाई टपक्कै टिपी निबन्धको जलप लगाई सुन्दर ढङ्गबाट उमारेको कार्य स्तुत्य रहेको छ।
कभरबाहेक तीन सय तेइस पेज छ। आवरण सुन्दर देखिन्छ, पछाडिको पातोमा व्यक्ति र संस्थाद्वारा उनका निबन्ध स्वादिलो, कसिलो, उच्चस्तरको रहेको मूल्याङ्कन गरिएको छ।
पहिलो निबन्ध ‘अन्न र आजादी’ रहेको छ। अन्तिमको ‘आत्मघातको तुलिकामा मृत्युको रङ’ छ। यसभित्रको भाग्यमानी पाँच नम्बरको निबन्ध ‘जराको शक्ति’ पेज पच्चिसदेखि पढ्न पाइन्छ। यसकै नामबाट निबन्धसङ्ग्रहकाे नाम ‘जराको शक्ति’ रहेको छ। मूल्य छ सय पचास रुपैयाँ मात्र, उदयपुर गाईघाटतिरका पुस्तक पसलहरूमा समेत सहज ढङ्गले बिक्री वितरण भइरहेको छ। एकपटक पढ्नै पर्ने पुस्तक छ।
समकालीन नेपाली निबन्ध मालाका एक सुवासित पुष्प पुण्य कार्की भनी प्राडा गोविन्दराज भट्टराईद्वारा पुण्यका निबन्धको मूलस्वर भनेको आफ्नो दृष्टि र भोगाइले बुझेको नेपालीको ग्राम्यता अर्थात् उदयपुर र पहाडी परिवेश त्यही हुर्केर बितिरहेको जीवनको शृङ्खला हो भनी मूल्याङ्कन गरिएकाे छ।
गहिरो चिन्तनका निबन्ध भनी वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन लेख्छन् – यस सङ्ग्रहका निबन्धहरूले समयको शक्ति जतिको बलवान् अरू केही नहुने प्रस्ट पारेको छ भनी मूल्याङ्कन गरेको छ साथै निबन्धहरूले उज्यालोको उपासना, प्रकृतिको सम्मान गरेको कुरा प्रस्टयाएको छ।
पुण्यको पुण्य–कृति ‘जराको शक्तिमा घोत्लिँदा’ भनी वरिष्ठ पत्रकार तथा इतिहासकार कौशल चेम्जोङ लेख्छन्। दार्शनिक भाव बोकेको यस सङ्ग्रहका धेरैजसो निबन्धले सामाजिकीकरणको विराट यात्रा र आविष्कारलाई अभिरेखाङ्कन गरेको प्रतीत मिल्छ भनी मूल्याङ्कन गरिएको कार्य स्तुत्य रहेको छ।
कार्कीको निबन्धको मूल स्वर भनेको आफ्नो दृष्टि र भोगाइले बुझेको नेपालको ग्राम्य अर्थात् उदयपुर र पहाडी परिवेश, त्यही हुर्केर बितिरहेको जीवनको शृङ्खला छताछुल्ल भएर उम्लेको छ। प्रत्येक रचना जीवनवादी छन्, कति ठाउँमा हास्य चेत पाइन्छ। यो कार्कीको एउटा कला हो। धेरै निबन्धमा अतीत, स्मरण र त्यसको प्रेम छ। समाजका क्रियाकलापको अति सूक्ष्म निरीक्षण गरी निबन्ध लेख्न सफल भएकाे मेराे ठम्याइ छ।
पुण्यका निबन्धहरूमा दार्शनिक, मनोवैज्ञानिक भाव बोकेका उम्दा निबन्ध यस सङ्ग्रहमा छन्। विषयवस्तु र पात्रको चयन हेर्दा भुइँमान्छेहरू वास्तविक नायक ठानिएका छन्। निबन्धका विषयहरू शासकीय गुणगान नभएर हाम्रो समाजको भोगाइको बेलिविस्तारको फेहरिस्त भएर आएका छन्। विभिन्न स्वाद र बान्कीका निबन्धहरू पठनीय छन्।
समाजको यथार्थ केस्राकेस्रा छुट्याउन सामर्थ्य राख्ने निबन्धकारले आफूलाई उभ्याएर सफल निबन्धकारमा दरिनुभएको कार्य स्तुत्य रहेको छ। ‘शालिकको चरो’ निबन्ध एक शक्तिशाली निबन्ध हाे। कपिल सिंह र चतुरनाथलाई साङ्केतिक पात्रको रूपमा उभ्याएर मान्छे अजम्मरी छैन। जुनसुकै मानिसको पनि जीवन विपुल करिस्मा एकदिन योग नरेन्द्रको शालिकको चराजस्तै भुर्र उडिजान्छ भन्ने सत्य उपस्थापना गरिएको छ।
आजको बालबालिका साँच्चै नै भरिया बनेका छन्, पाठशालामा गुरुवर्गको विचारको भारी बोकिदिने भरिया बनेका छन् पेज दशमा पढ्न पाइन्छ।
निबन्ध तेह्र ‘जङ्गी नेताको राष्ट्रवाद’ यसमा लेखिएको छ – राष्ट्रवादको नाउँमा विकृत राजनीतिले उब्जाएको पराधिन र परतन्त्री व्यवस्थाप्रति तीव्र घृणा ओकल्दै निबन्धकारले कथित जङ्गी नेताको कामकाजप्रति कटाक्ष गरेका छन्। जनताले कसलाई विश्वास गर्ने, विश्वासघाती नेता र अगुवाहरूप्रतिको तीव्र रोष पोखेको कुरा यसमा पढ्न पाइन्छ।
अठार नम्बरको निबन्ध ‘कुम्ले लाटाहरू’ पढ्न पाइन्छ। कुम्ले लाटो र सुतार साइलोलाई तुलना गरेको छ। पात्रहरू दयनीय भए पनि तिनीहरूबाट जीवन सिक्नलायक र लगनशीलता देखाएको छ। अनौठो भ्रममा बाँचेको छ। कुम्ले बिहानदेखि बेलुकासम्म जे जति चिज टिप्छ, धोक्रामा सँगाल्छ ती सबै उसको सम्पत्ति हो। प्रत्येक चिज उसको निम्ति अमूल्य छन्। जतन गरेर राखेको छ। उसको काममा बाधा हाल्दा रिसाउँछ, कुम्ले आवाजविहीन छ, निबन्धकारले उसलाई प्रतीकका रूपमा खडा गरी चिरकालसम्म जीवन्त तुल्याएको छ।
बिस नम्बरको ‘तस्बिरको वीर’ निबन्धले के सन्देश दिन्छ भने मान्छेले राम्रो कर्म गरेको छ भने ऊ जीवित हुँदै मानसम्मान दिनुपर्छ। तस्बिरको पूजा गर्ने परिपाटीको अन्त्य गरौं भन्ने कुरा गरेको छ।
सत्ताइस नम्बरमा रहेको निबन्ध ‘जुराफको प्वाल’ बडो मार्मिक रहेको छ। निबन्धकार शिक्षक, त्यसमा पनि प्रधानाध्यापक भएको नाताले प्रशासनिक तथा शैक्षिक कामको सिलसिलामा जिल्ला शिक्षा कार्यालय उदयपुरमा शिक्षा अधिकारीको कोठामा प्रवेश गर्दा जुत्ता खोलेर जाँदा आफ्नो मोजामा प्वाल परेको ख्यालै नगरी भित्र पस्दा शिक्षा अधिकारीले व्यङ्ग्य गरेको प्रसङ्ग छ।
एकतिस नम्बरको निबन्ध ‘पूर्णकालीन विद्यार्थी हुन नपाएको पीडा’ छ। जो निबन्धकारको आफ्नै पीडा, आफूले भोगेको कुराहरू प्रस्तुत गरेकाे छ। निबन्धकारले नढाँटी लेखेका छन्, यो एउटा हिम्मत पनि हो। सङ्घर्षको कथा हो, यसद्वारा प्रेरणा प्राप्त हुन्छ। पढ्नै पर्ने पुस्तक रहेको छ। संस्मरणात्मक आत्मपरक निबन्ध रहेको छ। आफ्ना भोगाइहरू यसमा छन्।
तेत्तिस नम्बरमा रहेको ‘सहानुभूतिको पीडा’ निबन्धमा बनियावादी समाजतर्फ उन्मुख हुँदै गएको हाम्रो समाजको अवसरवादी र अमानवीय चरित्रको पोल निबन्धकारले धोती खुस्काइदिएका छन्। सहानुभूति दर्साउनेहरूको नकारात्मक मनसुवालाई आक्राेश व्यक्त गरेको यस निबन्धमा अहिलेका कथित समाजसेवी र सहयोगीहरूको कुरूप अनुहार देखाउन सक्षम छ।
पेज २३६ मा रहेको ‘कोरोना काल सिर्जनाको स्वर्णिम’ काल निबन्ध रहेको छ। यो समयमा नयाँ नयाँ स्रष्टाहरूले फस्टाउन पाए। विद्युतीय माध्यमद्वारा आफ्ना सिर्जना राखी सिक्ने अभ्यास गरी साहित्यकार बनेका धेरै सर्जक छन् तर कार्की सरले यो समयमा थप सिर्जना गरेका कुराहरू मुखरित छ। कोरोनाको अनुभव पहिले श्रीमतीलाई कोरोना लागेको, त्यसपछि आफूलाई त्यसपछि छोरीलाई यिनै कुराको संस्मरण भोगाइहरू यसभित्र पढ्न पाइन्छ।
त्यसैगरी आज हातमा भोलि घाटमा, खरिजुकाहरू, कोरोना सक्रमणः एक अनुभूति, क्षणभङ्गुरता, नयाँ कलेवरमा गुलामी, पाकेको इँटा, आत्मघातको तुलिकामा मृत्युको रङ गरी पैँतालिस थान निबन्ध सबै पढौँपढौँ लाग्ने छन्। उनका निबन्धहरू अनुभूतिजन्य भोगाइका अभिव्यञ्जनाका रूपमा लिन सकिन्छ। मानिसका भोगाइलाई नै ज्ञानको सबैभन्दा ठूलो स्रोत हामीले मान्दछौँ र त्यही मान्यताको आधारमा मोफसलका कार्कीले दुःखले राष्ट्रिय रूपमा प्रतिनिधित्व गर्छ भन्ने किच्किचाउनुपर्ने कुनै कारण छैन।
उनको विचारको स्पष्टता लेखाइको गहिरो प्रभाव, सरितप्रवाह, उद्धरण र दृष्टान्तका अनेक कथा, पूरा कथा, विम्ब, प्रतिविम्ब, रूप र सार सबै कुरा शीर्षकैपिच्छे एकुन्टा तरङ पैदा गर्न उनका निबन्ध समक्ष छन् यो कुरा मेरो ठोकुवा हो।
यसभित्रका निबन्धहरूमा दार्शनिकता, राजनीतिक र सामाजिक पृष्ठभूमिमा पोथी काव्य हुन्, यसभत्रि विचार छ, विमर्श छ, सत्यता छ, प्रेरणादायी छ, उदाहरण छ र गहन जीवनदर्शन र भोगाइ छ। रमाइलो पक्ष निबन्धकारको आफ्नै पन छ। निबन्धलाई लेख्ने, त्यसलाई भन्ने सरल र सुन्दरशैली लोभलाग्दो छ। यो पुण्यको लेखन शैली नै हो भन्ने कुरा उनका अन्य निबन्धका कृतिहरूको अध्ययन गर्दा पनि थाहा लाग्छ।
एक कुशल शैक्षिक प्रशासन, समाजसेवी, कवि, कथाकार, यात्रासाहित्य, जीवनी लेखन, बालसाहित्यकार, अनुवादक, असल अभिभावक, अर्थात् साहित्य लेखन विधाका हरेक पाटामा सशक्त ढङ्गले आफ्नो उपस्थिति देखाएका निबन्धकार कार्की लेखनीमा पनि उत्तिकै सक्रिय रहेको प्रमाण ‘जराको शक्ति’ एक उदाहरण हो भन्दा फरक पर्दन।
पुण्यका निबन्धमा इतिहासलाई उधिन्दै कथा उद्धरण गर्ने वर्तमानप्रतिको मनोवेगलाई उडान गराउने र भविष्यप्रति आशा जगाउने प्रवृत्तिका उनको निबन्धगत विशेषता छ। राजनीतिक, सामाजिक, विसङ्गतिले उब्जाएका विकृतिहरू निदानका निम्ति उपायहरू पहिल्याउन समेत सहयोग पुग्ने छ।
यो ‘जराको शक्ति’ निबन्धसङ्ग्रह एक उत्कृष्ट निबन्ध सङ्ग्रह रहेको मेरो ठम्याइरहेको छ। एकपटक पाठकले पढिदिनुहुन अनुरोध छ। निबन्धकारलाई बधाई तथा शुभकामना छ। लेखनी यात्रा जारी रहोस्। उनले थुप्रै सङ्घसंस्थामा आबद्ध रही केही थान पुरस्कार सम्मान पनि प्राप्त गरेका छन्।
पाठकको दृष्टिकोणबाट म केही लेख्न चाहन्छु यसको लेखनको मूल्याङ्कन गर्दा मूल्य छ सय पचास कर्म हो तैपनि आम पाठकका लागि मूल्य अलि बढी नै भयो कि? दोस्रो कुरा निबन्धकारको मन्तव्य पनि पढ्न पाएको भए अति सुस्वादु लाग्ने थियो कि? तेस्रो कुरा सीमा मिचिएको, छिमेकीका अतिक्रमण, किसानका समस्या, महँगीका कुरामा पनि थप कुरा आएको भए झनै राम्रो हुन्थ्यो कि? चौथो कुरा फिकरको सट्टा फिक्री, तरकिवको सट्टा उपाय जस्ता कुरा पनि छ। यसको बाबजुद यो ‘जराको शक्ति’ निबन्धसङ्ग्रह उत्कृष्ट छ। फेरि पनि लेखकलाई धन्यवाद छ।
प्रकाशित: १८ चैत्र २०८२ ०८:५० बुधबार