कला/साहित्य

आमा, देश र माटो

कविता

बेरेर उन्मादको एक सर्को माया

उमारेर माटामा इन्द्रेणी सपनाहरू

फुलाउन आइमाई रहरहरू

आमा फिँजाउनुहुन्छ कुँजिएका पँखेटा

कोरलेर सुनौला आकाश जस्ता विचारहरू  

 

 

चलाएर जीवनको जीर्ण चर्खा

टाँसेर निधारमा सक्लो जून

कुल्चिएर पाइताले सिङ्गो घाम

भर्नुहुन्छ जीवनमा रङहरू

जब सपना भत्काउन उद्येलित चिलहरू

आउँछन् टाउकोमा फनफनी बादलहरू बेरेर

उन्दै आफ्नै सुन्दर कलाले दृष्टिहरू

उमार्छिन् आफूलाई जीवनका गराहरूमा  

 

 

हुर्काएर परिश्रमी मेहनतहरू

बेचेर निष्ठावान् पौरखहरू

रोपेर देशप्रेम

उठाएर सिमानाका जङ्गे पिलर

बनाएर शिर सगरमाथा

फर्फराउनुहुन्छ चन्द्र सूर्य अङ्कित झण्डा  

 

छरेर विश्वास

कोरेर हरियाली वसन्त

बोकेर अदम्य साहस

स्वर्गका रङ कसेका

सुनौलो पर्वतमालाहरू नियाल्दै

बनाएर पाइतालाले डोबहरू जोडेर गोरेटो

परपर उडिरहेका बच्चाहरूलाई

आमा फर्काउनुहुन्छ गुँडमा  

 

 

अनि

सिकाएर अहिलेका बच्चाहरूलाई दुःख

पढाएर हराउँदै गएको नैतिकताको पाठ

थमाएर देशको सक्लो नक्सा

स्वर्गबाट झरेको एक टुक्रा रारा बोकेर

आमा भन्नुहुन्छ -

देश–माटो

माटो–सिर्जना

देश माटो सिँगार

जहाँ एक मुठी श्वास

निर्धक्क फेर्न सकिन्छ।

प्रकाशित: ७ भाद्र २०८३ ०६:३४ आइतबार