कला/साहित्य

कवितामा प्रेम, प्रकृति र सामाजिक चेतना

कविता

कवि मणिराज सिंह समकालीन नेपाली समाजका अन्तद्वन्द्वलाई भावुक, प्रतीकात्मक र संवेदनशील भाषामा अभिव्यक्त गर्ने स्रष्टा हुन्। ‘लोकतन्त्रको अस्मिता’ उनको पछिल्लो कवितासंग्रह हो। यस संग्रहका कवितामा जीवनका बाहिरी दृश्यभन्दा मानिसको अन्तरमनमा घटित हुने सूक्ष्म कम्पन, प्रेम, पीडा, स्मृति, प्रकृति, सामाजिक विसंगति र अस्तित्वको खोजलाई प्राथमिकता दिइएको छ। उनका कवितामा प्रेम केवल प्रणयको अनुभूतिमा सीमित छैन, त्यो स्मृति, प्रतीक्षा, पीडा, आशा र अस्तित्वको खोज हुँदै जीवनदर्शनसम्म विस्तार भएको पाइन्छ।

त्यसैगरी, प्रकृति केवल सौन्दर्यको पृष्ठभूमि होइन, मानवीय अनुभूतिलाई बोलाउने जीवित प्रतीक बनेको छ। बादल, जून, नदी, आकाश, फूल, घाम, धुवाँ, पात र हावा जस्ता प्राकृतिक बिम्बमार्फत कविले मनका अदृश्य तहलाई दृश्यात्मक बनाएका छन्।

‘जीवनको परिभाषामा फूलमाया’ कवितामा जीवनलाई फूलको कोमलता र काँडाको कठोरताबिच खोजिएको छ। फूल यहाँ सौन्दर्यको प्रतीक मात्र नभई जीवनको क्षणभंगुरता, प्रेम र संवेदनाको प्रतीक बनेको छ। धुवाँ, बादल, नदी र आकाशजस्ता बिम्बमार्फत मानिसको यात्रा र अनिश्चित नियतिलाई प्रस्तुत गरिएको छ।

‘घाम, दुःख, सुख र मुस्कान’ मा प्रेम र आत्मीयताको अनुभूति नदी, पत्र, घर, भित्तामा उम्रिएका दुबो, बादल र मौन सुवासजस्ता बिम्बमार्फत अभिव्यक्त भएको छ। दुःख र मुस्कानलाई सँगसँगै राख्नुले जीवनमा उज्यालो र अँध्यारो एक अर्काका पूरक हुन् भन्ने दार्शनिक भाव प्रस्तुत गर्छ।

‘बादलमा जून’ कवितामा प्रेम र सौन्दर्यको कल्पनालाई प्रकृतिको विशाल क्यानभासमा उतारिएको छ। आकाश, जून, कोसीको जलप्रवाह, पात, श्वास र समयका पदचाप भावनात्मक संसारका प्रतीक बनेका छन्। ‘बादलमा जून’ स्वयं अस्पष्टताबिचको उज्यालो, दुरीभित्रको निकटता र अँध्यारोभित्रको आशाको सुन्दर प्रतीक बनेको छ।

‘उज्यालो बोकेर लुकेको आकाश’ मा अनुभूति अझ अन्तर्मुखी र अस्तित्ववादी देखिन्छ। सम्भावनाको उज्यालो बोकेर पनि परिस्थितिले मानिसलाई ढाकिरहन सक्छ भन्ने गहिरो जीवन प्रतीक यहाँ भेटिन्छ। कविताको अन्तर्धारा निराशामा टुंगिँदैन, यसले पुनः प्रेम, आनन्द र सम्भावनातर्फ फर्कने संकेत गर्छ।

यस संग्रहका कविता प्रेम र प्रकृतिको कोमल संसारमा मात्र सीमित छैनन्। ‘रुँदै छ मन अझै पनि’ कवितामा व्यक्तिगत पीडा सामाजिक तथा राजनीतिक यथार्थसँग जोडिएको छ।

कालो बिरालो, कालो पेट, विचारशून्य स्वार्थ, फासीवाद, साम्यवादी गुलाब, सत्ता र उन्मादजस्ता प्रतीकले कविको सामाजिक चेतना, विद्रोही स्वभाव र मानवीय न्यायप्रतिको आकांक्षा प्रकट गर्छन्।

यसरी कवि मणिराजका कवितामा दुई धार समानान्तर रूपमा प्रवाहित छन्– एकातिर प्रेम, प्रकृति र सौन्दर्यको कोमल संसार र अर्कातिर विसंगति, पीडा, सत्ता, अन्याय र विद्रोहको कठोर संसार। यी दुई धारको मिलन नै उनका कविताको मौलिक शक्ति हो।

ग्रामीण रूपान्तरणको वेदना पनि संग्रहको महत्त्वपूर्ण पक्ष हो। ‘गाउँ हराएको छ गाउँमा’ कवितामा लोकभाका, आँगन र बालबालिकाको खेलजस्ता परम्परागत गाउँले जीवनका बिम्बसँग रेमिट्यान्स, टेलिभिजन र मोबाइल रिङटोनजस्ता आधुनिकताका प्रतीकलाई आमनेसामने राखिएको छ। दोहोरिरहने ‘गाउँ हराएको छ अचेल गाउँमा’ भावले गाउँको बदलिँदो पहिचान र वर्तमानप्रतिको असन्तुष्टिलाई मार्मिक बनाएको छ।

यसैगरी ‘टुकुचाको पदचाप’ मा प्रदूषित र क्षीण हुँदै गएको टुकुचा नदीलाई ‘बिचरा’ पात्रका रूपमा मानवीकरण गर्दै वातावरणीय चिन्तालाई भावनात्मक गहिराइ दिइएको छ। अन्त्यमा बगरमा ‘लहलह दुबो’ मौलाउने आशाले निराशाबाट सम्भावनातर्फको संकेत गर्छ।

‘साँढेको साम्राज्यमा भक्ल’ मुसहरू सामाजिक यथार्थका दृष्टिले संग्रहको तिखो कविता देखिन्छ। सीमान्तकृत मुसहर समुदायको श्रम, शोषण र विवशतालाई कविले करुण तर स्पष्ट भाषामा प्रस्तुत गरेका छन्। ‘मर्दामर्दै पनि बाँचेको छ, बाँच्दाबाँच्दै पनि मरेको छु जस्तो अभिव्यक्तिले जीवनको गहिरो विडम्बनालाई दार्शनिक तहमा पुर्‍याउँछ।

‘स्वतन्त्रताको नयाँ कथा’ मा वर्णमालाबाट सगरमाथाको टुप्पोसम्म पुग्ने रूपकमार्फत व्यक्तिगत र राष्ट्रिय स्वतन्त्रताको अर्थ खोजिएको छ। ‘विश्वासघाती समय’ मा अन्धकार, हुरी–बतासजस्ता बिम्बमार्फत अस्तित्वगत निराशा र आत्मद्वन्द्व व्यक्त गरिएको छ भने ‘सम्झना बेथानचोक यात्राको’ मा स्थानीय भूगोललाई दृश्यात्मक र उपमामय शैलीमा प्रस्तुत गरिएको छ।

भाषागत तथा शैलीगत दृष्टिले संग्रहका कविता सरल, स्वाभाविक र संवेदनात्मक छन्। कतिपय स्थानमा लोकजीवनसँग नजिकका शब्द तथा प्रकृतिका दृश्यात्मक पदावलीको प्रयोगले आत्मीयता बढाएको छ। उपमा, रूपक, प्रतीक, मानवीकरण र दृश्यबिम्ब कविका प्रमुख काव्यिक उपकरण देखिन्छन्।

मुक्त छन्दमा लेखिएका कवितामा लयात्मक गद्यकाव्यको प्रभाव भेटिन्छ। विगत र वर्तमान, शुद्धता र भ्रष्टीकरण, आशा र निराशा तथा प्रेम र पीडाबिचको द्वन्द्वले धेरै कविताको आन्तरिक संरचना निर्माण गरेको छ। कतिपय ठाउँमा अलंकारको प्रयोग केही भारी भए पनि विषयवस्तुको गहिराइ र भावनात्मक इमानदारीले त्यसलाई सन्तुलित गरेको छ।

समग्रमा ‘लोकतन्त्रको अस्मिता’ भित्रका कविता प्रेमका कविता मात्र होइनन्, यी जीवनलाई बुझ्ने, भोग्ने र प्रश्न गर्ने कविता हुन्। शीर्षकले संकेत गरेझैं व्यक्तिगत अस्मितादेखि सामूहिक पहिचानसम्मका प्रश्न यस संग्रहको अन्तरधारामा प्रवाहित छन्।

कविको सौन्दर्य चर्को घोषणामा भन्दा बिम्बभित्र लुकेको अर्थमा छ। कहिले बादलमा जून भएर, कहिले धुवाँमा फूल भएर, कहिले नदीको प्रवाह भएर र कहिले मौन मनको कम्पन भएर कवि पाठकसँग संवाद गर्छन्। कविता पढिसकेपछि तिनका बिम्ब र भाव मनमा रहिरहन्छन् र पाठकलाई आफ्नै जीवन, प्रेम, पीडा, समाज र समयतर्फ फर्केर हेर्न बाध्य बनाउँछन्।

प्रकाशित: १० आश्विन २०८३ १३:५५ शनिबार