कला/साहित्य

रगत बगोस् देश बेचिन्न, कुनै सरकारसँग!

मुक्तक

१) मुक्तक

चौतारीको पिपल जस्तै अडिरहन पाउँ

सफलताले चुमोस शिखर बढीरहन पाउँ

योभन्दा अरु चाह केही छैन मलाई

धर्ती सृष्टि गर्ने शास्त्र पढीरहन पाउँ।

२) मुक्तक

चिया बगानको पातभित्र लुकामारी गर्न आयो  

कुहिरोको काखहुदै जुनको सितल झर्न आयो,

घामजस्तो तातो मुस्कान ओठमा टाँसी हिँड्दा

चियावारीको रङ्गमञ्चमा रहरहरु हर्न आयो।

३) मुक्तक

अविश्वासले घेरीएको शहरदेखी डरलाग्छ

अमृतले भरिएको जहर देखी डर लाग्छ

भुकम्पझैं पराकम्पन समाजको दोहोरि रहँदा

समाजले नै हल्लाएको घरदेखी डरलाग्छ।

४) मुक्तक

हिमालको शिर झुक्ने छैन, कुनै बजार सँग

रगत बगोस देश बेचिन्न, कुनै सरकार सँग

नेपाली हौं, आँधीसँग ठोक्किएर बाँच्छौँ

ढल्न सक्छ शरीर,झुक्दैनौँ कुनै गद्दार सँग।

५) मुक्तक

आकसको किनाराझैँ रंङ्गीचङ्गी बन्न पाउँ

उनकै हात समाएर प्रियसी हुन भन्न पाउँ

झिसमिस रात हाम्रैसामु जुनेले शित पोख्दा

उनकै काखमा ढल्किएर नौ लाख तारा गन्न पाउँ।

६) मुक्तक

डिभीपिआर त्यागी बस्ने आँट छदैछन्

समृद्वीका नारा लाउने ढाँट छदैछन्

परिश्रममा रमाएर जीवन जिउनलाई  

हिमाल पहाड तराईका फाँट छदैछन्।

प्रकाशित: ४ श्रावण २०८३ ०८:०१ सोमबार