कला/साहित्य

कानुन

लघुकथा

‘यहाँ पञ्चलाल भन्ने को हुनुन्छ?’ गाउँका सबै पञ्चभलाद्मीहरू चौतारामा भेला भएर गाउँको समसामयिक विषयमा भलाकुसारी गरिरहेका बेला सबैको ध्यान सो आवाजले खिच्यो। सबै आवाज आएतिर क्वारक्वार्ती हेर्न थाले। 

दुई प्रहरी हत्कडी बोकेर खडा थिए।

‘किन र सर? मै हुँ पञ्चलाल!’ जुरुक्क उठेर पञ्चलालले आश्चर्य मान्दै आफूलाई परिचित गरायो।

‘तपाईलाई अदालतले १० वर्ष कैद सजाय तोकेको छ!’ प्रहरीको यो जवाफले सबै अवाक् भए।

करणीको आरोपमा पञ्चलालविरूध्द अदालतमा मुद्धा चलिरहेको थियो। गाउँका भद्रभलाद्मीले उसलाई जमानीमा छुटाएर ल्याएका थिए।

गाउँका मुखियाले छक्क पर्दै सोधे, ‘उसले समाजसमक्ष माफी माग्यो। हामीले सबैको सहमतिमा दुवैको विवाह समेत गराइदियौं अब फेरि किन जेल, प्रहरी भाइ?’

जवाफमा प्रहरीले स्पष्ट पार्दै भने, ‘मुखिया बा! ऐले पञ्चलालले पीडितसँग विहे नै गरे पनि  ऊबेला उसले गरेको त्यो व्यवहार त अपराध नै थियाे नि!’

प्रकाशित: ३० जेष्ठ २०८३ १३:४० शनिबार