आमा चाहन्थिन् - आफ्नो घर सानै भए पनि न्यानो होस्, चारैतिर उज्यालो किरणले चम्कियोस्। भोकमा मिठो स्याउका बोट सेताम्मे मसिनो जे भए पनि पेट भर्न पाइयोस्।
उता भने लामो यात्रामा थाकेको, वृद्ध यात्रीरूपी पुरानो वर्ष पराजित रावण जस्तै देखिएको थियो। उसले आमाको शरीरको च्यातिएको कपडा सिलाउन त सकेको थिएन। नयाँ फेर्ने कुरा त परै जाओस्। काला धर्सा अनुहारभरि पोतिएका थिए। दुःख र पीडाको चाङ लागेको थियो। न त अहंकारलाई पखाल्न सकेको थियो तैपनि अन्तिम सास फेर्दै थियो।
यस्तो अवस्थामा आमाको सपना बिपना बन्ने कुरा त कल्पना समेत गर्न सकिँदैनथ्यो।
यता नयाँ वर्षले हिजोका दिनमा आमाले खेप्नुपरेका चुनौती परैबाट देखेको थियो। शान्त तर अटल भएर घरभित्र प्रवेश गर्न खोज्दै थियो। आमाको अनुहारमा देखिएका विकृत पखाल्न आइरहेको थियो। आमालाई समृद्ध बनाएर रामराज्य कायम गर्ने आश्वासन दिंदै पनि थियो।
आमाले शङ्काउँदै भनिन्, ‘तँ पनि शुभारम्भका बेला मात्र त होला नि चिल्ला र चिप्ला कुरा गर्ने। पछि तेरो पनि उही ताल त होला नि।’
प्रकाशित: ३ वैशाख २०८३ १०:५५ बिहीबार



