कला/साहित्य

अन्तिम यात्रा

कविता

फलाक्न थाल्यो धामीले

सुन्न है थाल्यौं हामीले।

 

रिसिया गाउनु मन छैन

बाटो लगाउनु डर छैन

बढीमा गयौ बेसरी

बुढेसकाल लाग्यो त्यसरी

जन्मेर आयौ जसरी

फुकाऊँ गाठो कसरी

ए मनुखे छाया!

नहेरी जाऊँ है दायाँ र बायाँ।

 

छोडेर जाँदैछौ एक्लो बास

उडेर पुग्ला कहाँ स्वास

सुसेल्नु छाड्यौ तिमीले  

विश्वास गर्‍यौं हामीले  

मलिबास अब काटी लेऊ  

सेतो कात्रो खोजी देऊ

ए मनुखे छाया!

नहेरी जाऊ है दायाँ र बाँया।

 

झरेर जाँदा यो आँसु  

बाँच्नेका लागि के हाँसू

फर्केर आउँथ्याे याम सधैं

सिमसिम पानी बर्सिन्थ्यो

धुरीमा घाम चर्किन्थो

नापिलित्मा चरी गीत गाउँथ्यो  

उँभौली जब आउँदैन

उँधौली कहाँ आउँछ र?  

ए मनुखे छाया!

नहेरी जाऊँ है दायाँ र बायाँ।

 

जीवनको आँधी बगेर

मनुख्य चोला लु हेर

फर्केर आई चोखिंदा

अन्तिम पाइला रोकिंदा

एक बारको जुनी सकिंदा  

सन्तानको आँसु पोखिंदा

ए मनुखे छाया!

नहेरी जाऊँ है दायाँ र बायाँ।

 

लु हेर माथि आकाशमा

सजाए तिमीलाई बाकसमा

माया त रैछ बन्धकी  

शून्य पो लाग्यो जिन्दगी

गलाको आँसु पिएर

पाइलामा ढिलो चालेर

चोखो त्यो घरमा छाडेर  

तीन मुठी खान दिएर

ए मनुखे छाया!

नहेरी जाऊँ है दायाँ र बायाँ।

 

मिल्यो है मिल्यो जोखाना  

कुन बाटो गयौ लौ भन?  

 

मेरो त बाटो सजिलो छ

माथि है माथि आकाश छ  

तलमा तल पृथ्वी छ  

वरि र परि हावा छ

तातो न तातो आगो छ  

पानीको बाटो शीतल छ ...

 

यसरी पो आप्पाहरू  

खै कहाँ हो कहाँ जानु हुँदोरहेछ

पञ्चतत्त्व भई जुगजुग बाँचिरहन।

प्रकाशित: १७ श्रावण २०८३ ०८:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App