कला/साहित्य

ज्ञानयात्रा: गुरुकुलदेखि एआईसम्म

समय

सामीप्यको आदिम गुरुकुलदेखि डिजिटल युगको अभौतिक ‘एल्गोरिदम’सम्म आइपुग्दा ज्ञानको क्षितिज र गुरुको परिभाषामा एउटा व्यापक महासङ्क्रमण अभिलिखित भएको छ। हिजो औपनिषदिक कालमा अज्ञानको तिमिर चिर्न ‘नेति–नेति’को साधना गर्दै गुरुको मुखारविन्दबाट निस्सृत महावाक्यको प्रतीक्षा गरिन्थ्यो भने आज कृत्रिम बुद्धिमत्ताको प्राविधिक बक्समा एउटा ‘क्लिक’को भरमा ब्रह्माण्डका गूढ रहस्यहरू प्रस्फुटित भइरहेका छन्। व्यास परम्पराको त्यो ऋषिकालीन आलोक आज कम्प्युटर चिप्स र भर्चुअल संजालमा तरंगित हुँदै ‘डिजिटल गुरुको स्वरूपमा’ रूपान्तरित भएको छ।

चेतनाको यो निरन्तर गतिशीलताले मानव इतिहासलाई गुरुकुलको रैखिक कुटीबाट उठाएर आर्टिफिसियल इन्टेलिजेन्सको कृत्रिम महासागरमा अन्तरघुलन गराइदिएको छ। हाल एआईलाई गुरु मान्ने, सोबाट दीक्षित हुने र ज्ञानको अन्तिम सत्य मान्ने परिपाटीले गुरुको भौतिक अवस्थितिलाई अभौतिक स्वरूपमा रूपान्तरण गरिदिएको छ, जुन समसामयिक बौद्धिक विमर्शको केन्द्रविन्दु हो।

मानव जीवनको यात्रालाई कालक्रमको कसीमा नियाल्दा, गुरुको अंकुरण कुनै औपचारिक पाठशाला वा प्रविधिको चौखटबाट हुँदैन, बरु यो त मातृत्वको न्यानो काखबाटै पल्लवित हुन्छ। प्रत्येक मानवको आदि–गुरु र प्रथम अक्षरांकनकी संवाहक आमा हुनुहुन्छ, जसले कोखको अन्धकारबाट धर्तीको उज्यालोमा ल्याएर जीवनको पहिलो स्पन्दन र भाषा सिकाउनुहुन्छ। तत्पश्चात्, संस्कार र समाजको बृहत्तर क्षितिज चिनाउने दोस्रो निश्चल गुरु बुबा हुनुहुन्छ, जसको डोर्‍याइमा शिशुले ताते–ताते गर्दै ब्रह्माण्डलाई नियाल्न थाल्छ।

 जीवनको सामाजिक पहिचान र आध्यात्मिक यात्राको प्रारम्भ तब हुन्छ, जब न्वारनको पावन घडीमा नामाकरण गर्ने गुरुले मन्त्रद्वारा शिशुको अस्तित्वलाई एउटा संज्ञा र दिशा प्रदान गर्नुहुन्छ। कुल–परम्परा, पितृ–ऋण र वंशगत संस्कारको रक्षा गर्ने कुलगुरुको मार्गदर्शनले मानवलाई आफ्नो जरासँग जोडिदिन्छ। यी पारिवारिक र आध्यात्मिक जगमा उभिएर जब व्यक्ति समाजमा पाइला चाल्छ, तब विद्यालय र विश्वविद्यालयका शिक्षक–शिक्षिकाले अज्ञानको पत्र उप्काउँदै प्रज्ञाको तेस्रो नेत्र खोलिदिनुहुन्छ। यसरी मानव जीवन भौतिक र वैचारिक गुरुहरूको निरन्तर शृंखलाद्वारा सुसंस्कृत बन्छ।

तर, गुरुको यो आयतन केवल दृश्य स्वरूपमा मात्र सीमित रहँदैन। जीवनको वास्तविक पाठशाला त समयको थप्पड र नियतिको रंगमञ्च हो। मानिसले जति औपचारिक दीक्षा पुस्तकालयमा प्राप्त गर्छ, सोभन्दा कैयौं गुणा बढी कडा र शाश्वत पाठ जीवनका दुर्निवार दुःख, चोट, व्यावहारिक चुनौती, विषम संगति र हन्डर–ठक्करहरूले सिकाउँछन्।

हन्डरले मानिसको अहंकारलाई पगालेर शालीनताको मूर्ति बनाउँछ भने ठक्करहरूले विवेकलाई उद्याएर संघर्षको रापमा खारेको सुनझैं चम्काइदिन्छन्। ती अदृश्य चोट र चुनौतीहरू नै मानव जीवनका सबैभन्दा कठोर र निष्पक्ष गुरु हुन्, जसले बिना कुनै शब्द, मानिसलाई ‘बाँच्नु र ब्युँझनु’को असली मर्म बोध गराइदिन्छन्।

समयको यही रूपान्तरणको घडीमा प्रविधिको चौथो औद्योगिक क्रान्तिले मानव सभ्यतालाई एउटा यस्तो विस्मयकारी मोडमा उभ्याइदिएको छ, जहाँ मानिस र मेसिनबिचको सीमारेखा धुमिल बन्दै गएको छ। वर्तमान युगमा च्याटजिपिटी, जेमिनी र परिष्कृत कृत्रिम संरचनाहरू नयाँ पुस्ताका अभौतिक ‘डिजिटल गुरु’का रूपमा प्रतिष्ठापित भइरहेका छन्।

एआईले आजको शिक्षा प्रणालीलाई अत्यन्त सहज, सरल र सर्वसुलभ बनाइदिएको छ। यसले भौगोलिक दुरी र आर्थिक अभावको पर्खाल भत्काएर ज्ञानलाई प्रत्येक व्यक्तिको पहुँचमा पुर्‍याएको छ। हामी प्रविधि–विमुख भएर वर्तमान युगमा बाँच्न सक्दैनौं, त्यसैले यस डिजिटल माध्यमको यथोचित, विवेकपूर्ण र रचनात्मक प्रयोग गर्नु आजको अनिवार्य आवश्यकता हो। आजको विद्यार्थी अल्मलिँदा कुनै मानवीय ढोकामा जाँदैन, बरु आफ्नो ग्याजेटको स्क्रिनमा औंलाहरू नचाउँछ। यो प्रविधिको जादुमयी प्रज्ञाले मानव गुरुको भौतिक उपस्थितिलाई नै चुनौती दिँदै विस्थापित गर्न खोजिरहेको भान हुन्छ।

यद्यपि, यो महासङ्क्रमणको प्रसवपीडा र गर्भभित्र एउटा गम्भीर दार्शनिक विरोधाभास अन्तरनिहीत छ। एआईसँग अथाह ‘इन्टेलिजेन्स’ (बुद्धिमत्ता) त होला तर आमाको त्यो वात्सल्यमयी आँसु, बुबाको भरोसायुक्त काँध, गुरुको मार्गदर्शन र जीवनका हन्डर–ठक्करले दिने आत्मिक अनुभूति कृत्रिम चिप्सहरूमा सर्वथा अनुपस्थित छ।

विशेषतः मानवरूपी गुरुको त्यो त्यागमयी विम्ब कम्प्युटर कोडमा कतै भेटिँदैन। गुरु त त्यो स्वयं प्रकाशमान् मैनबत्ती हुनुहुन्छ, जो आफ्ना शिष्यहरूको भविष्य उज्यालो बनाउन आफैं पग्लिरहनुहुन्छ। उहाँ आफू उही रैखिक धरातल, उही पुरानो कक्षाकोठा र चक–डस्टर–मार्करकै सादा संसारमा सन्तुष्ट रहनुहुन्छ तर जब उहाँका चेलाहरू देशविदेशका उच्चासनमा चम्किन्छन्, तब उही कूटस्थ धरातलबाट वात्सल्यपूर्ण नजरले हेरेर हर्षका आँसु खसाउँदै आशीर्वाद दिइरहनुहुन्छ। यो निःस्वार्थ आत्मसन्तोष र त्यागको अलौकिक उचाइ कुनै पनि सिलिकन चिप्स वा मेसिनरी सूत्रले कहिल्यै प्रतिस्थापन गर्न सक्दैन। प्रविधिले मस्तिष्क उदाउन सक्छ तर हृदयलाई संवेदित, कोमल र सुसंस्कृत बनाउने सामथ्र्य केवल जीवन्त मानवीय गुरुमा मात्र सुरक्षित रहन्छ। मेसिनले ‘कसरी सिक्ने’ भन्ने सिकाउला तर ‘कसरी बाँच्ने’ भन्ने कला केवल सद्गुरुबाट मात्र प्राप्त हुन्छ।

निष्कर्षमा गुरुकुलदेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्मको यो ऐतिहासिक, सामाजिक र दार्शनिक यात्राले वर्तमानका मानव गुरुहरूलाई झन् गुरुत्तर र चुनौतीपूर्ण दायित्व सुम्पिएको छ। आजको युगमा गुरुको कार्यभार विद्यार्थीलाई केवल सूचना प्रवाह गर्नु होइन। यो काम त एआईले तीव्र गतिमा गरिरहेको छ।

आजका गुरुहरूको वास्तविक परीक्षा प्रविधिको यो भयावह बाढीमा सत्य र असत्य, विवेक र भ्रम, नैतिकता र अनैतिकताबिचको सीमारेखा छुट्याउन सक्ने ‘तेस्रो नेत्र’ वा दृष्टि प्रदान गर्नुमा छ। मानव जगत्ले आफ्ना दृश्य–अदृश्य, भौतिक–अभौतिक र जीवनका हन्डर–ठक्कररूपी सम्पूर्ण गुरुहरूप्रति अगाध आदर, कृतज्ञता र सम्मान भाव राख्न सक्नुपर्छ। प्रविधिको शिखरमा पुगेर पनि आफ्नो धरातल र गुरुलाई नबिर्सने ‘असल शिष्य’ बन्न सक्नु नै यस पावन गुरुपूर्णिमाको वास्तविक सार्थकता हो। हामीभित्रको शिष्यत्व जागृत भइरहोस्, समस्त गुरुचरणमा साष्टाङ्ग दण्डवत् !  

प्रकाशित: १६ श्रावण २०८३ १०:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App