कला/साहित्य

बुबाको पुरानो स्कुटर चढ्न लाज मान्ने त्यो ठिटो, आज सर्वाधिक महँगो ‘सुपरस्टार’

कन्नड अभिनेता नवीन कुमार गौडा अर्थात् ‘यश’ को बहुप्रतिक्षित चलचित्र ‘टक्सिक’ प्रदर्शनको तयारीमा छ। सानैदेखि अभिनयमा रुची भएका उनी चलचित्र उधोग भन्दा बाहिरबाट आएका हुन्। यश हाल दक्षिण भारतीय चलचित्रका सर्वाधिक पारिश्रमिक लिने अभिनेता मध्य पर्छन्।

उनी दक्षिण भारतीय मात्र नभई समग्र भारतीय सिनेमा उद्योगमै सर्वाधिक महँगा र प्रभावशाली अभिनेताका रूपमा यश अग्रपंक्तिमा आउँछन्।

दुई दशकभन्दा लामो अभिनय यात्रा तय गरिसकेका यश स्वभावैले सानैदेखि केही जिद्दी थिए। परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण उनले आफ्नो किशोर अवस्थामा फुर्सदको समय निकालेर ‘डेलिभरी ब्वाय’ का रूपमा समेत काम गर्नुपरेको थियो।

हालै एक अन्तर्वार्तामा आफ्नो बाल्यकाल र कलेज जीवनका संघर्षका पाटाहरू खोल्दै यशले जीवनका ती अप्ठ्यारा दिनहरूको स्मरण गरेका छन्। विद्यालय पढ्दासम्म सबै साथीहरूको अवस्था समान लागे पनि कलेज पुगेपछि भने आफू र साथीहरूको पारिवारिक हैसियतबीचको ठूलो खाडल महसुस भएको उनले सुनाए।

कलेजका अधिकांश साथीहरूसँग आफ्नै महँगा बाइक र कार हुन्थे, लगाउनका लागि राम्रा-राम्रा ब्रान्डेड कपडाहरू हुन्थे। तर यशसँग भने बुबाको एउटा पुरानो स्कुटर मात्र थियो।

त्यो समय सम्झिँदै उनले भनेका छन्, ‘त्यो पुरानो स्कुटर चलाएर कलेज जाँदा मलाई निकै लाज लाग्थ्यो। साथीहरूले कतै मलाई यो अवस्थामा देख्लान् कि भन्ने ठूलो डर मनमा हुन्थ्यो।’

त्यो उमेरमा साथीहरूको रवाफ देख्दा आफूभित्र एक किसिमको हीनताबोध जन्मिने गरेको र कसैको नजरमा नपरी कलेज पुग्ने कोसिस गर्ने गरेको उनी सम्झिन्छन्।

तर, समय सधैँ एउटै रहेन। त्यही हीनताबोध र अभावलाई शक्तिमा बदल्दै यशले नाटक र टेलिभिजन धारावाहिकबाट आफ्नो अभिनय यात्राको जग बसाले।

उनका बुबा अरुण कुमार गौडा कर्नाटक स्टेट रोड ट्रान्सपोर्ट कर्पोरेसनमा बस चालक थिए। छोरा यश चलचित्र क्षेत्रमा एउटा स्थापित र चिनिएको अभिनेता बनिसक्दा समेत उनका बुबाले लामो समयसम्म बस चलाउने काम छाडेका थिएनन्। पछि मात्रै यशको आग्रहमा उनले त्यो कामबाट विश्राम लिएका थिए।

ब्लकबस्टर चलचित्र ‘केजीएफ’ र ‘केजीएफ-२’ ले यशको जीवनमा युगान्तकारी मोड ल्याइदियो। ‘रक्की भाइ’ को भूमिकामा उनले दिएको दमदार प्रस्तुतिले उनलाई दक्षिण भारतको सीमाबाट बाहिर निकालेर ‘प्यान इन्डिया’ सुपरस्टार बनायो। यस सफलताले उनको पहिचान मात्र बदलेन, उचाइ पनि ह्वात्तै बढायो।

यश आफ्नो पारिश्रमिकका विषयमा पनि फरक व्यावसायिक दृष्टिकोण राख्छन्। उनी केवल अग्रिम पारिश्रमिक मात्र लिँदैनन्, चलचित्रको बक्स अफिस कलेक्सनबाट हुने नाफाको निश्चित प्रतिशत समेत लिने गर्छन्।

यसको अर्थ, यदि कुनै कारणले चलचित्र व्यावसायिक रूपमा असफल भएर लगानी उठ्न सकेन भने त्यसको आर्थिक जोखिम यश स्वयंले पनि बेहोर्छन्।

मेहनत, लगनशीलता र दृढ इच्छाशक्ति भए भाषा, भूगोल र पारिवारिक पृष्ठभूमि कहिल्यै पनि सफलताको बाधक बन्दैन भन्ने ज्वलन्त उदाहरण हुन् यश। उनले प्राप्त गरेको असाधारण स्टारडम, सम्पत्ति र ख्यातिको बाबजुद पनि उनी व्यक्तिगत जीवनमा उत्तिकै सरल, भद्र र जमिनसँग पनि जोडिएका छन्

प्रकाशित: ६ भाद्र २०८३ १५:४६ शनिबार