कला/साहित्य

हतार-हतारमा

कविता

मज्जाले नबाँची बाल्यकाल

हतारहतारमा –

मज्जाले नरमाई तरुणवय

हुर्किनुको हतारले

मान्छेले छाडेर जान्छ कहिल्यै नफर्किने यावत् उमेर।

हतारहतारमै छाडेर जान्छ मान्छेले –

आमाको काख,

बाको साथ,

पर्खनै नसकी पर्खाइको विरक्तिले पहिलो प्रेम।

हतारहतारमा मित्रहरू/प्रेमिकाहरू/प्रेमीहरू बन्छन्/छुट्छन्

सम्बन्धहरू जोडिन्छन्

सम्बन्धहरू तोडिन्छन्।

हतारमै हुने हुन् प्रेम

हतारमै हुने हुन् यौन

हतारमै हुने हुन् विवाह

हतारमै सकिने हुन् हनिमुन।

अभागी भ्रूणहरूको –

हतारमै हुने हुन् भ्रूणहत्या

या पेटभित्रै हतारहतारको भविष्यवाणीसहित

हतारमै जन्मिने हुन बच्चाहरू।

यी सडकमा मान्छेहरू हेर्नुस्

यी सडकमा गाडीहरू हेर्नुस्

कति हतारहतारमा कुदिरहेछ सहर।

हतारहतार जन्ती हिँडेका

हतारहतार मलामीबाट फर्केका

हतारहतार हतास हुने

हतारहतार खुस हुने

बाँच्न पनि हतार हतार गरिरहेका मान्छेहरू हेर्नुस्।

तपाईलाई हतार भएको हुन सक्छ

हतारहतारमा लेखिएको यो एक मुठ्ठी अकविता पढ्नुस्

छिटो खुसी हुनुस्

या छिटोछिटो रिसाउनुस्।

तर याद गर्नुस्,

हतारहतारमा बाँचेको मान्छेले –

बाँचेको छु भनेर थाहा पाउन

लामो फुर्सद निकाल्नुपर्छ।

प्रकाशित: २७ जेष्ठ २०८३ ०७:१७ बुधबार