सूर्यमासअन्तर्गतको विक्रम संवत्को चौथो महिनाको नाम श्रावण हो। पूर्णिमाका दिनमा भोग गर्ने श्रवण नक्षत्रका नामबाट यस महिनाको नाम राखिएको हो। महिनाको पहिलो गतेलाई संक्रान्ति भनिन्छ। यस दिनबाट सूर्य मकर रेखाबाट कर्कट रेखामा प्रवेश गर्ने भएकाले यस संक्रान्तिलाई कर्कट संक्रान्ति पनि भनिन्छ। यसैले यस महिना (राशि) का स्वामी चन्द्रमा हुन्। सूर्यले अयन परिवर्तन गरी उत्तरायणबाट दक्षिणायण हुने यस दिनमा लुतो फाल्ने (कण्डारक पूजा), कर्णालीका डोल्पालगायतका जिल्लामा बेलुकी घरको छतमाथि आगो बालेर कर्कट संक्रान्ति मनाउने, थारूहरूको गुरिया पर्व र बैतडीको गुजरमा आजबाट वनारसी साउने मेला प्रारम्भ, देवपत्तनमा गंगामाई रथयात्रा पर्व, हरिशयनी एकादशी (तुलसीको वेर्ना सार्ने) व्रतपर्व, चतुर्मास व्रतारम्भ, गुरु पूर्णिमा (दिल्लापून्हि), व्यास जयन्ती, दक्षिणामूर्ति पूजा पर्व, मानसव्रतारम्भ आदि पर्व पर्छन्। सौरमासअनुसार श्रावणबाट वर्षा ऋतुको आरम्भ हुन्छ। श्रावण महिनाको सोमवार शिव–पार्वतीको व्रत बस्ने पनि चलन छ।
लुतो फाल्ने (कण्डारक पूजा) पर्व
श्रावण संक्रान्तिका दिन साँझमा लुतो फाल्ने गरिन्छ। कृषकहरूले धान रोपाइँ गर्दा हिलोले खाएर हात, गोडा र शरीरका विभिन्न अंगमा घाउ–खटिरा र लुतोको संक्रमण हुने र भविष्यमा पनि यसका कारण लुतो हुन सक्ने भएकाले रोपाइँ सकिएकाले लुतो फाल्ने चलन छ। रोपाइँ नसकिएका वा रोपाइँ नगरेकाहरूले लुतो फाल्नुपर्दैन। असार महिनाभर खेतमा काम गर्दा शरीर क्षीण भई हातगोडाका छाला खिइएर घाउ–खटिरा र लुतो आएकोसम्म पनि ख्याल हुँदैन।
यसरी खेतीको काममा हरेक दिन बिहान सबेरैदेखि साँझसम्म काम गर्दा हिलो, धुलो, मैलो र पसिना आदिले शरीरमा विभिन्न घाउ, खटिरा, दाद, लुतो आदिले ग्रस्त हुने भएकाले थारूहरूले असार मसान्तसम्म रोपाइँ सकेर साउने संक्रान्तिका दिन लुतो फाल्ने परम्परा रहिआएको छ।
यस दिन साँझ तुलसीको मोठमुनि गोबरले लिपेर शुद्ध भई पूर्वतिर फर्केर आसनमा बसी अर्घ थापिदियो, कलश र गणेश स्थापना गरी पहेँलो साटनमाथि रेखी हाली दर्शन ढुंगाको कण्डारक स्थापना गरेर कुश, तिल र जल हातमा लिएर संकल्प गर्दै ‘मम सपरिवारस्य लुताद्यरिष्टभय–निवारणार्थ कर्कटसंक्रान्तौ प्रदोषे कण्डारक पूजनमहं करिष्ये’ भनी दुनामा मास, तोरी हालेर सल्लाको दाउरा सात वटा, पानीसरो, देवीसरो, कुकुरदाइनो, उनिउँ, भलायो, लुतेझार, धानको बिउ, असारेफूल, धसिंग्रे, दारिम, आरु, नासपाती, सुन्तला, सामो, घोगा लागेको मकै आदि त्यतिबेला उपलब्ध सबै फलफूल र फुरौला आदि पक्वान्न नैवेद्य चढाएर लुते देवता (गण्डारक राक्षस) को पूजा गर्ने र अन्तमा दाउराका छेस्का बालेर नाङ्लो ठटाउँदै शंखघण्ट बजाएर ‘वारि गाउँले, पारि गाउँले, लुतो लैजा’ भन्दै बलेका ती छेस्का परतिर फ्याँकेर वर्षामा लागेका सबै घाउ–खटिरा र लुतो जाओस् भनी नाङ्लो ठटाउँदै घरभित्र पस्छन्।
यसरी लुतो फालिसकेपछि त्यस वर्ष घाउ, खटिरा, लुतो आदिको भए हुँदैन भन्ने विश्वास गरिन्छ। पूजाको बेला राखेका मास, तोरी त्यही दुनामा उम्रेमा घरका परिवार कसैलाई पनि रोग लाग्दैन भन्ने जनविश्वास छ। कहीं–कहीं लुतो फालिसकेपछि त्यो आगोमा डढेका जडीबुटीहरूको आगो तापेमा रोग लाग्दैन भनी घरका सबैजनाले त्यो आगो ताप्ने चलन पनि छ।
आजभोलि लुतो फाल्ने चलन प्रायः हराउँदै गएको सन्दर्भमा कतिपय ठाउँमा केटीकेटी जम्मा भएर बेलुकी सामूहिक रूपमा लुतो फालेर रमाइलो गर्न थालेका छन्। यसले सांस्कृतिक महत्त्वको रूपान्तरण हुन थालेको छ। कर्णालीका डोल्पालगायत जिल्लामा यस दिन बेलुकी सबैले घरको छतमाथि दाउरा र झिक्रा बालेर लुतो पर्व मनाउँछन्।
वर्षा ऋतुमा नदीमा स्नान गर्ने सम्बन्धमा कर्कट र सिंह मास (साउन र भदौ महिना) मा नदीहरू रजस्वला हुने भएकाले समुद्रसहित नदीमा ननुहाउनु भनी यसरी उल्लेख गरेको पाइन्छ–
सिंहकर्कटयोर्मध्ये सर्वा नद्यो रजस्वलाः
तासु स्नानं न कुर्वीत वर्जयित्वा समुद्रगाः।
–कात्यायन स्मृति १०/५
अर्थात् सूर्य कर्कट राशिमा प्रवेश गरेदेखि सिंह राशिमा प्रवेश नगरेसम्म (कर्कट संक्रान्तिदेखि सिंह संक्रान्तिसम्म) सबै नदीहरू रजस्वला मानिन्छन्। त्यस समयमा समुद्रमा मिसिने (महानदी) बाहेक अन्य नदीहरूमा स्नान गर्नु हुँदैन।
तर, सोही स्मृतिमा त्यस सम्बन्धमा यसरी स्पष्ट पारेको पनि पाइन्छ–
उपाकर्मणि चोत्सर्गे प्रेतस्नाने तथैव च
चन्द्रसूर्यग्रहे चैव रजोदोषो न विद्यते।
चातुर्मासमा खान नहुने कुराहरू: आयुर्वेदका अनुसार श्रावणदेखि कात्तिकसम्मको चार महिनामा निषेधित खानेकुराहरू– पहिलो महिना (साउन) मा साग, मुला र अमिलो, दोस्रो महिना (भदौ) मा दही र मोही, तेस्रो महिना (असोज) मा दुध र करेला, कात्तिकमा नौनी, घिउ र भन्टा नखानू साथै यस अवधिमा द्विदलीय र बहुबीजी गेडागुडी, मुला, कुभिन्डो आदि खानुहुँदैन भनी स्कन्दपुराणको चातुर्मास प्रकरणमा भनिएको छ– चारै वर्ण र चारै आश्रमका मानिसहरूले चातुर्मास्यमा यी चार व्रत नित्य रूपले पालन गर्नुपर्छ। पहिलो महिनामा साग (शाक) नखाने व्रत गर्नुपर्छ। दोस्रो महिनामा दही त्याग्ने व्रत गर्नुपर्छ। तेस्रो महिनामा दुध त्याग्ने व्रत र चौथो महिनामा (अर्को श्लोकले स्पष्ट गरेझैं) द्विदल अन्न (दलहन) त्याग्ने व्रत गर्नुपर्छ। हे विप्रेन्द्र ! चौथो महिनामा द्विदल धान्य (मसुर, मुग, मास आदि), धेरै बिउ भएका फल तथा तरकारी र भन्टा त्याग्नुपर्छ। विद्वान्हरूले यी व्रतलाई नित्यपालनीय बताएका छन्।
श्रावण महिनामा शिव–पार्वतीको महिमा
श्रवण नक्षत्रको भोगका नामबाट नामांकित श्रावण महिना सूर्यनारायण मकर रेखाबाट कर्कट रेखामा प्रवेश गर्ने भएकाले यस संक्रान्तिलाई कर्कट संक्रान्ति भनिएको हो। वर्षका १२ महिनामध्ये यस महिनालाई शिवजीको प्रिय महिना मानिन्छ। उमा (पार्वती) लाई बिहे गरी शिवलोक जानुभएका शिवजी लामो समयसम्म ससुराली फर्कनुभएन। पार्वती पनि माइत फर्कन पाउनुभएको थिएन। छोरी–ज्वाइँलाई हिमालय पर्वतले धेरै पटक निम्तो पठाउनुभएको थियो तर पनि उहाँहरू जान पाउनुभएको थिएन। शिवजी पार्वतीलाई समेत थाहा नदिई कहिले राजहंस भएर मानसरोवरमा जलक्रीडा गर्ने, कहिले मृग बनेर वनविहार गर्ने, कहिले किरात रूप लिएर घुम्न थाले। यसबाट पार्वती दिक्क थिइन् भने लामो समयसम्म माइत फर्कन नपाएकाले माइतीलाई न्यास्रो पनि लागेको थियो। महादेवलाई धेरैतिर खोजिन् तर कहीं पनि पाउन नसकेकाले दिक्क भएर मृगस्थलीमा बसेर शिवलिंग बनाएर त्यहीं एउटा कुण्ड बनाई त्यस कुण्डको जल चढाएर शिवजीको आराधना गरेर बसिन्।
आफ्नी छोरीको यस्तो अवस्था देखेर पर्वतराज हिमालय छोरी उमा भएको ठाउँ आए र छोरीसँगै बसी शिवजीको आराधना गरी बसे। यो कुरा शिवजीले थाहा पाएर त्यही शिवलिंगबाट आफ्नो ज्योतिस्वरूपको दर्शन दिनुभयो। हिमालय र उमाले प्रसन्न भएर शिवजीको स्तुति गरे। उमा र पर्वतराज हिमालयको स्तुतिले प्रसन्न भएका शिवजीले हिमालयलाई ‘कुन कारणले मेरो आराधना गर्नुभयो ? के इच्छा छ, वर माग्नुहोस्’ भन्दा पर्वतराज हिमालयले हात जोरेर बिन्ती गरे, ‘हे शम्भो ! विवाहपछि हजुर मेरो घरमा सवारी नहुनुभएको धेरै काल भयो। अबदेखि हरेक वर्ष शिव–पार्वती दुवैजना एक महिनासम्म मेरो घरमा बसिदिनुपर्यो’ भन्दा शिवजीले ‘हुन त हुन्छ तर म सधैं एकै स्थानमा बसिरहन सक्दिनँ। हरेक वर्षको श्रावण महिनामा म पार्वतीसहित मृत्यमण्डलको हिमवत्खण्डमा बिताउनेछु। ’
त्यहाँ म हप्तामा ६ दिन अन्य स्थानमा विचरण गरे तापनि हरेक सोमबार भने म भक्तहरूका लागि पार्वतीसहित शिवलिंगहरूमा बस्नेछु भनी पर्वतराज हिमालय र पार्वती (उमा) लाई वचन दिनुभएको कुरा स्कन्दपुराणको हिमवत्खण्डमा स्कन्दकुमारले अगस्त्यमुनिलाई बताउनुभएको छ। यसरी उमा र पर्वतराज हिमालयले स्थापना गरेको शिवलिंगको नाम पर्वतेश्वर र उमाले बनाएको कुण्डको नाम उमा कुण्ड रहन गयो। पर्वतेश्वर ज्योतिर्लिंग भगवान् शिवका ६४ ज्योतिर्लिंगमध्ये ५८औं ज्योतिर्लिंगका रूपमा स्थापित छ। यसप्रकार हरेक वर्ष साउन महिनामा शिव–पार्वती पृथ्वीको यसै हिमवत्खण्डमा आउनुहुने र हप्ताका अन्य बार विभिन्न स्थानमा घुमे पनि सोमबारचाहिँ पार्वतीसहित शिवजी स्थापित शिवलिंगहरूमा रहनुहुने भएकाले हिन्दु नरनारीहरू श्रावण महिनाका सोमबार शिव मन्दिरहरूमा गई शिव–पार्वतीको पूजा–अर्चना गर्छन्।
शिवलोकबाट शिव–पार्वती पृथ्वीमा झर्दा पृथ्वीमा जताततै हरियाली देखेर माइतीलोकमा उमंगले रमाउँदै पार्वतीले प्रकृतिसापेक्ष हरिया, पहेँला र राता चुरा, पोते र शृंगारमा सजिएर आफ्ना बालसखीहरूसँग रमाउन थाल्नुभयो। पार्वतीले गरेको शृंगार देखेर उनका सखीहरूले पनि त्यसैगरी हरिया, पहेँला र राता पहिरन एवं शृंगारले युक्त भई रमाउन थालेकाले त्यस बेलादेखि पृथ्वीमा नारीहरूले साउनका सोमबार यस्तै शृंगार गरी रमाउन थाले।
श्रावण संक्रान्ति अयन परिवर्तन, ऋतु परिवर्तन, मास परिवर्तन एवं राशि परिवर्तनसमेत हुने संक्रान्ति भएकाले यस दिन बिहान सबेरै स्नान गरी नित्यकर्मपश्चात् ब्राह्मण पुरोहितका मुखबाट कर्कट श्रवण महिमा सुन्ने र ब्राह्मणलाई सिदादान दिने वा भोजन गराउने चलन छ। श्रावण महिनाका सोमबार व्रत बस्ने चलन छ। नक्षत्रमण्डलका स्वामी चन्द्रमा भएका र शिवजीले चन्द्रमालाई शिरमा धारण गर्नुभएकाले सोमबार शिवजीको प्रिय वार बन्न गयो। शिवजीको एक नाम सोम पनि हो।
सनातनीहरूले श्रावण महिनाको पहिलो सोमबारदेखि अन्तिम सोमबारसम्मका सबै सोमबारहरूमा बिहान सबेरै स्नान गरी घरको नित्य पूजादि गरेर शिवजीको पूजा गर्छन्। दिनभर व्रत बसेर शिव मन्दिरहरूमा गएर विधिपूर्वक गंगाजल, गाईको दुध, बेलपत्र, सुपारी, फूल, धतुरो आदि चढाएर गौरीसहित भगवान् शिवको पूजा–अर्चना गरी घर आई शिवपुराण भन्ने वा सुन्ने र बेलुका शिव आरती गरी निराहार वा फलाहार गरेर सोमवारे व्रतकथा भन्ने वा सुन्ने र सके शिवभजन, कीर्तन गाएर जाग्राम बस्ने गर्नुपर्छ। सोह्र सोमवारे व्रत बस्ने इच्छा गर्नेहरूले साउनको पहिलो सोमबारबाट सुरु गरेर १६ वटा सोमबारपछि समापन सांगे गर्नुपर्छ। अझ प्रदोषको दिन पहिलो सोमबार परेमा झन् राम्रो मानिन्छ।
सोमवारे व्रतका सम्बन्धमा श्रावणमास भन्नाले सूर्य मिथुन रेखाबाट कर्कट रेखामा प्रवेश गरेपछि मकरमास सुरु हुने भएकाले संक्रान्तिपछिका सोमबारहरूमा व्रत बस्नुपर्छ। सोमवारे व्रतको महिमा– स्कन्दपुराणको ब्रह्मोत्तर खण्डका अनुसार अघि पौराणिककालमा चित्रवर्माकी पुत्री सिमन्तिनीले पूर्वजन्मको कर्मले यस जन्ममा विवाहपश्चात् १४ वर्षकै उमेरमा उनका पतिको मृत्यु भई कलिलै उमेरमा विधवा हुनुपर्ने कुरा ऋषि मैत्रेयपुत्री (याज्ञवल्क्यकी पत्नी) का मुखबाट सुनेपछि उनकै सल्लाहअनुसार श्रावणका सोमबार व्रत बसेर शिव–पार्वतीको आराधना गरिन्। उनको आराधनाबाट खुसी भएर माता पार्वतीले उनलाई अटल सौभाग्यको वरदान दिनुभएकाले उनी कहिल्यै विधवा हुनुपरेन भन्ने सन्दर्भ यस्तो थियो–
अपरस्त्वब्रवीद्विप्रो ब्राह्मणस्तेजसाऽधिकः
चतुर्दशे वयस्यस्याः वैधव्यं समुपस्थितम्।
–अध्याय ८.२४
अर्थात् अर्का तेजस्वी ब्राह्मणले भने– यस कन्याले चौध वर्षको उमेरमा वैधव्य भोग्नुपर्ने योग छ।
सा मैत्रेयीं ययौ साध्वीं याज्ञवल्क्यस्य योषितम्
उवाच प्रणता भूत्वा सौभाग्यस्य विवृद्धये।
–अध्याय ८.२८–२९
अर्थात् त्यसपछि सिमन्तिनी याज्ञवल्क्य ऋषिकी पत्नी मैत्रेयीकहाँ पुगिन् र विनयपूर्वक प्रणाम गरेर आफ्नो सौभाग्य वृद्धि हुने उपाय बताइदिन आग्रह गरिन्। मैत्रेयीले उनलाई भगवान् शिव–पार्वतीको पूजा गर्दै सोमवारे व्रत गर्न निर्देशन दिन्छिन्–
सोमवारे व्रतं कार्यं श्रावणे वै यथाविधिः
शक्तेनोपोषणं कार्यमथवा निशिभोजनम्।
अपुत्रो लभते पुत्रं निर्धनो धनवान् भवेत्
अविद्यो लभते विद्यामिति धर्मविदो विदुः।
अर्थात् पति डुबेर मृत्यु भएको ठानिएपछि पनि उनले मैत्रेयीले सिकाएको सोमवारे व्रत त्यागिनन्। यसरी शिव–पार्वतीको सोमवारे व्रतका कारण पार्वती खुसी भएर उनलाई अटल सौभाग्यवतीको वरदान दिनुभएकाले उनका पति चन्द्रांगद नागलोकमा जीवितै रहे र नागराज तक्षकले उनलाई फिर्ता दिए। अन्ततः सिमन्तिनीले आफ्ना पति पुनः प्राप्त गरेरै छाडिन्।
प्रकाशित: २ श्रावण २०८३ ०६:१८ शनिबार