कला/साहित्य

समयलाई नै जवाफ बन्न दिएँ

कविता

हिजो घाँस काट्थेँ,

आज सपना बुन्दै छु

हिजो हातमा हँसिया थियो

काँधमा घाँसको भारी

अर्को हातमा किताब बोकेर

हिँड्थेँ म -सपना बोकी।

घामले निधार पोल्थ्यो,

पसिनाले शरीर भिज्थ्यो

तर आँखाभित्र एउटा सपना थियो,

“एकदिन केही बन्छु” भन्ने।

घाँस काट्दै अक्षर पढेँ,

दुःखसँगै भविष्य लेखेँ,

कहिले आँसु लुकाएँ

कहिले भोकसँगै किताब खोलेँ।

धेरैले भने, “यसले के नै गर्न सक्छ र?”

तर मैले जवाफ दिइनँ,

समयलाई नै जवाफ बन्न दिएँ।

आज त्यही हातमा

हँसियाको ठाउँमा कलम छ

हिजो अरूको खेतमा झुकेको शिर

आज आफ्नै सफलतामा उभिएको छ।

आमाको आँखामा खुसी छ,

बुबाको अनुहारमा गर्व,

हिजोको त्यो संघर्ष सम्झिँदा

आज पनि मन हुन्छ भावुक।

मलाई मेरो विगत लाज लाग्दैन,

त्यही घाँसका भारी मेरा गहना हुन्,

त्यही पसिनाका थोपा

आज मेरो सफलताका मोती हुन्।

हिजो घाँस काट्दै पढेको थिएँ,

आज आफ्नै भाग्य लेखेको छु -

संघर्षले मलाई रोक्न खोज्यो,

तर मैले संघर्षलाई नै

मेरो सफलताको बाटो बनाएँ।

प्रकाशित: ३१ श्रावण २०८३ ०८:२५ आइतबार