कला/साहित्य

तिम्रो मेरो साथ छुट्यो तर तिम्रो याद छुटेन

मुक्तक

१) मुक्तक

तिम्रा यादहरू सागर जस्ता गहिरा छन् यहाँ

समाल्न र जोगाउन कठिन पहिरा छन् यहाँ

पलपल तिम्रै यादको सर्कोमा हिक्का छुट्छ

यस्तो लाग्दैछ तिम्रा कानहरू बहिरा छन् यहाँ।

२) मुक्तक

घाइते मुटु हातमा लिईकन बजार हिंडेको छु

एक पैसाको सोमत किन्न हजार दिएको छु

तिमी आफूलाई आफैंले समाल भन्दै छु फेरि

कतै पनि नझुकाई तिम्लाई नजर दिएको छु।

३) मुक्तक

तिम्रो मेरो साथ छुट्यो तर तिम्रो याद छुटेन

सिसा जस्तै चर्कियो फुट्यो दिल फेरि जुटेन

नाता टुट्यो भाग्य लुट्यो सम्झियो मन दुख्छ

फुट्यो तिम्रो प्रेमको चिम तथापि स्मृति फुटेन।

४) मुक्तक

सँगै बसेर तिमीसँग केही कुरा गर्नु छ

खाएका कसमहरू अपूरा पुरा गर्नु छ

बरु थोरै धैर्य गर केहीबेर प्रतीक्षा गर

छिरल्लिएको मन पोकापन्तुरा गर्नु छ।

५) मुक्तक

पख न साँझ, दु:खका दियो बल्नु छ मैले

सोच न बिहान, संघर्षका रहर फल्नु छ मैले

न खुम्चियोस् पहाड, कत्ति न ढलोस् आस्था

उज्यालोका लागि अब संसार बदल्नु छ मैले।

प्रकाशित: १८ आश्विन २०८३ ११:०२ आइतबार