उज्यालोको पर्व तिहार
आफ्नै मन जलाएर
उज्यालो बनाइरहेको छु
आफ्नो आँगन।
यता विद्रोही देख्छु
मखमलीलाई
सयपत्री उस्तै लाग्छ
गोदावरीको मुहारमा
रौनक देख्दिनँ
खै!
के भएछ मलाई
दृष्टि बदलिएछ
मेरो नजरमा
सृष्टि बदलिएछ
मन रोएपछि
जताततै साउन बर्सिएको देख्छ
दुःखको बाढी आएपछि
बगाउँछन् सपनाका
सुन्दर महलहरू
पहिरोको सिकार हुन्छन्
वसन्त बोलाउने
आशाका मनोहर
डाँडापाखाहरू।
कृत्रिम उज्यालोको
लालीपाउडर
अनुहारभरि धसेर
नारदले जस्तै
ङिच्च दाँत देखाएर
देउसी र भैली
गाउँदै छु म
थरथर काँपेका हातले
मादल बजाउँदै
तिम्रो चालसँग
ताल मिलाउँदै
कम्मर मर्काई नाच्दै छु म।
अँध्यारो मनलाई
उज्यालो दियोले पनि
उज्यालो बनाउन सक्दैन
सक्दैन मनको
बाँझो खेतमा
तिहारका लागि
कुनै फूल फुलाउन,
छैनन् कुनै उत्साहका पालाचा
जसमा उमङ्गको तेल हालेर
आनन्दका दियो बालूँ।
त्यसैले
तिमीसँगै हिँडे पनि
सँगै हिँडेको नठान्नु
सँगै ताल मिलाएर नाचे पनि
नाचेको नसोच्नु
देउसी वा भैलोमा
तिम्रो लयसँग लय मिलाएँ
तर
मन मिलाउन सकिनँ
मन नमिलेसम्म
सबै मिलेजस्तो देखिए पनि
केही पनि मिल्दो रहेनछ।
मन त मेरो पनि छ
घरमा उज्यालो ढाक्ने
फूलै फूलले पूरै घर ढाक्ने
तर आफ्नै मनको
धपक्क बलेको उज्यालो
झ्याप्प निभेपछि
बाहिरको उज्यालो
पैंचो मागेर
कसरी मनाउनु उज्यालोको पर्व?
प्रकाशित: १ कार्तिक २०८२ १०:४२ शनिबार