कला/साहित्य

स्वास्थ्य विमा

लघुकथा

‘तपाईंलाई के हुन्छ?’ विरुको‌ प्रेसर चेक गर्दै डाक्टरले भने।

‘सधैँ यहाँ दुखिरहन्छ डाक्टर साव!’ पेटको दाहिनेतिर इसारा गर्दै विरुले जवाफ दियो।

धेरै दिनको लगातार पेटको दुखाइपछि विरू उपचारका लागि अस्पताल पुगेको थियो।

डाक्टरले रगत र पिसाबको जाँच गर्न लेखिदिए। डाक्टरले भनेबमोजिम उसले ल्यावमा गएर रगत र पिसाब दियो।

ल्यावका कर्मचारीले भने, ‘रिपोर्टका लागि पर्सि आउनुस!’

दुखाइको पीडा दाँतले किड्दै ऊ फर्क्यो।

पर्सिपल्ट ऊ ल्यावको रिपोर्ट लिएर डाक्टरकहाँ पुग्यो। रिपोर्ट जाँच्दै डाक्टरले भने, ‘तपाईंको मृगौलामा त गम्भीर समस्या देखियो!’

लघुकथाकार राजन कार्की ‘पाजु’

‘ओहो, डाक्टर साव! के गर्न पर्ला अब?’ चिन्ता मिश्रित स्वरमा विरुले सोध्यो।

‘भिडियो एक्स-रे नगरी यसै भन्न सकिन्न, तुरुन्त एक्स-रे गरेर रिपोर्ट ल्याउनुस्।’ एक्स-रे गर्ने आदेश दिंदै डाक्टरले भने।

असह्य पीडा दाँतले चबाउँदै विरू ल्यावतिर गयो र भिडियो एक्स-रे का लागि अनुरोध गर्‍याे।

ल्यावका कर्मचारीले रजिष्टर हेर्दै विरुतिर फर्केर जवाफ दिए, ‘तपाईंको पालो अर्को महिनाको २७ गते, फुल पेमेन्ट गर्नुहुन्छ भने आजै हुन्छ!’

विरु, हातको विमा कार्ड निरुत्तर हेरिरह्यो!

प्रकाशित: १९ पुस २०८२ ११:५३ शनिबार