कला/साहित्य

द्रौपदीको चित्रणलाई लिएर ‘पाँच पाण्डव’ विवादमा, हरिवंश र बसन्तको बचाउ

नेपाली चलचित्र ‘पाँच पाण्डव’ प्रदर्शनमा आउनुअघि नै विवादमा तानिएको छ। चलचित्रको प्रचार सामग्री गीत र अभिनेत्री इभा गिरीको प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहेका बेला अभिनेता हरिवंश आचार्य र निर्देशक बसन्त निरौलाले चलचित्र नहेरी पूर्वाग्रहका आधारमा धारणा नबनाउन आग्रह गरेका छन्। 

कार्तिक २० गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्रको दोस्रो ट्रेलर मंगलबार सार्वजनिक गरिएको छ। चलचित्रमा इभा गिरीलाई महाभारतकी द्रौपदीसँग जोडेर प्रस्तुत गरिएको भन्दै विवाद चर्किएको हो। टिकटकबाट चर्चामा आएकी गिरीले यही चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गर्दैछिन्।  

प्रचार सामग्रीबाट सुरु भएको विवाद 

‘पाँच पाण्डव’ को प्रचारका लागि सार्वजनिक गरिएको पोस्टरमा इभालाई महाभारतकी द्रौपदीको पहिरन र अवतारमा प्रस्तुत गरिएको थियो। त्यसपछि सार्वजनिक भएका प्रचार सामग्रीमा उनको बोल्ड प्रस्तुति देखिएपछि आलोचना थप बढेको हो। 

हालै सार्वजनिक गीत ‘राजा चाहियो छ’ मा क्यासिनोको पृष्ठभूमिमा द्रौपदीलाई आइटम डान्स गराइएको भन्दै केही दर्शक तथा धार्मिक अभियन्ताले आपत्ति जनाएका छन्। अभिनेत्री गिरीले सामाजिक सञ्जालमा बनाएको बोल्ड छविलाई समेत विवादसँग जोडेर टिप्पणी भइरहेको छ। 

द्रौपदी महाभारतकी महत्त्वपूर्ण पात्र हुन्। उनलाई नारी उत्पीडन, अन्यायविरुद्धको प्रतिवाद, सहनशीलता र बौद्धिकताको प्रतीकका रूपमा व्याख्या गरिन्छ। पाँच पाण्डवकी पत्नी बनेको प्रसङ्गदेखि कौरव सभामा वस्त्रहरणको प्रयास र सुमेरु पर्वतमा जीवनको अन्तिम घडीमा पतिहरूले छाडेको प्रसङ्गसम्म द्रौपदीको चरित्रले महिला अस्मिता र पुरुषप्रधान सत्तामाथि गम्भीर प्रश्न उठाउँछ।  

यही संवेदनशील पात्रसँग चलचित्रको प्रचार सामग्री जोडिएपछि यसको प्रस्तुतिलाई लिएर प्रश्न उठेका हुन्। यद्यपि, चलचित्रको पूर्ण कथावस्तु सार्वजनिक भइसकेको छैन र प्रदर्शनअघि नै यसलाई महाभारतको पात्रको अपमानसँग जोडेर विरोध गरिएको छ।

‘महाभारतमा आधारित चलचित्र होइन’ 

चलचित्रमा मुख्य भूमिकामा रहेका वरिष्ठ अभिनेता हरिवंश आचार्यले चलचित्र नहेरी गीत, दृश्य वा प्रचार सामग्रीका आधारमा समग्र चलचित्रमाथि धारणा बनाउनु न्यायोचित नहुने बताएका छन्। 

मंगलबार आयोजित कार्यक्रममा उनले विवाद अस्थायी विषय भएको उल्लेख गर्दै भने, ‘विवाद अस्थायी कुरा हो। चलचित्र नहेरी अनुमानको भरमा मात्र विवाद उब्जाउनु सही होइन। हामीले केही गलत गरेका छैनौँ।’ 

आचार्यले सामाजिक सञ्जालमार्फत पनि चलचित्रको विषयवस्तुबारे स्पष्ट पार्ने प्रयास गरेका छन्। उनका अनुसार ‘पाँच पाण्डव’ महाभारतको कथामा आधारित चलचित्र नभई समकालीन नेपाली समाजको कथावस्तुमा आधारित चलचित्र हो। महाभारतबाट एउटा सानो विम्ब मात्रै ग्रहण गरिएको र केही पात्रका नाम कथाको सन्दर्भमा प्रयोग गरिएको उनको भनाइ छ। 

‘चलचित्रमा महाभारतकी द्रौपदीको चरित्र वा भूमिका समावेश गरिएको छैन,’ आचार्यले भनेका छन्। उनले चलचित्रको पूर्ण कथावस्तु र प्रस्तुति बुझेपछि मात्रै धारणा बनाउन दर्शक, शुभचिन्तक तथा सरोकारवालालाई आग्रह गरेका छन्।

‘चलचित्र नहेरी बहिष्कार गर्नु गलत’  

निर्देशक बसन्त निरौलाले पनि चलचित्र नहेरी एउटा गीत वा छोटो क्लिपका आधारमा बहिष्कारको अभियान चलाउनु गलत भएको बताएका छन्। उनका अनुसार चलचित्रमा धर्मसम्बन्धी विषयमा कुनै गल्ती नगरिएको र निर्माण पक्ष समाजप्रति जिम्मेवार रहेको छ। निष्कर्षमा पुग्नुअघि चलचित्र हेर्नुपर्ने उनको आग्रह छ। 

‘चलचित्र नै नहेरी केवल एउटा गीत वा सानो क्लिपको भरमा आइटम डान्स गरायो भन्दै बहिष्कारको अभियान चलाउनु बिल्कुलै गलत हो,’ निरौलाले भने, ‘एक पटक चलचित्र हेरौँ अनि केही भनौँ।’  

चलचित्र प्रदर्शनपछि त्यसमा धर्मविरोधी सामग्री रहेको वा महाभारतका प्रसङ्गलाई तोडमरोड गरिएको प्रमाणित भए जवाफ दिन तयार रहेको पनि उनले बताएका छन्। तर, चलचित्र नहेरी अहिले नै पूर्वाग्रही भएर विरोध गर्नु उचित नहुने उनको भनाइ छ। 

‘पाँच पाण्डव’ मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी र दीपाश्री निरौलालगायत कलाकार मुख्य भूमिकामा छन्।

चलचित्र प्रदर्शनअघि प्रचार सामग्रीका आधारमा उठेका प्रश्नलाई निर्माण पक्षले सिर्जनात्मक स्वतन्त्रता र कथावस्तु बुझ्ने विषयसँग जोडेको छ भने आलोचकहरूले द्रौपदीजस्तो सांस्कृतिक तथा पौराणिक पात्रको प्रस्तुतिप्रति चासो व्यक्त गरेका हुन् । 

प्रकाशित: १८ कार्तिक २०८३ १३:०१ बुधबार