कला/साहित्य

लाेभी आँखा

लघुकथा

१) लोभी आँखा

- किन चोरिस् पेट?

- मैले हैन हातले?

आँखाले बोटभरि सुन्तला फलेको देखेर मनलाई लोभ्याइदियो।

मैले भने तँ, ‘किन लोभिन्छस् मन! तैंले खाने हैन त?’ 

आँखाले मलाई भन्यो, ‘मैले खाने हैन, खुट्टालाई बोट नजिक जा भनेर अह्राए मात्र!’

मैले खुट्टालाई भने, ‘तैंले खाने हैन किन जान्छन् भने?’

खुट्टाले भन्यो, ‘भैगो नि त! म हातलाई गएर फल टिप भनिदिन्छु।’

हातले टिपेर ल्यायो, आफूले नखाई सुन्तला छोडाएर मुखमा हालिदियो!

मुखले पनि मुखमै नराखी चपाएर पेटमा पठायो!

सुन्तला मालिकले रिसले चूर हुँदै सुन्तला चोरलाई ‘चोरर यही पेटले खाएको हैन?’ भन्दै पेटै पेटमा हिर्कायो।

उता दुखाइको असर त फल देख्ने आँखालाई पर्‍याे र अँश्रुधारा बग्न थाल्यो।

आँखा लोभी, मन पापी भनेको, हो रैछ!

लघुकथाकार प्रार्थना खनाल

२) ध्यानको उपज

‘गुरु सुनाउनुहोस् न हिजो पनि सुनिएन।’  धर्मगुरूलाई शिष्यहरूले आग्रह गरे।

धर्मगुरुले लौ त भन्दै सुरू गरे, स्वर्गका राजा इन्द्रलाई सुँगुररूप धारण गरेर नर्कमा आउन मन लाग्यो र आए। विष्णुले सुँगुरधारी इन्द्रलाई नर्कबाट स्वर्ग फर्काउन प्रयास गरे। स्वर्गमा सुख पाउने लालसा देखाउँदा नर्कमा जस्तो दिसापिसावको आहलमा डुब्न नपाउने र बिस्टा खान नपाउँदा दुःखित हुनुपर्ने परिस्थिति आउने कुरा सुँगुरले व्यक्त गरे।

धर्मगुरु भन्छन्, ‘यो एउटा उदाहरण मात्र हो। मानिस पनि यस्तै लोभमा फसेर आफ्नो सुन्दर जीवन सुँगुरको झैं दलदलमा  फसाइरहेछन्। न आफूलाई चिन्छन् न त जीवनलाई सफल मार्गतिर लाग्छन्?’

एक शिष्यले साेधे, ‘जीवनलाई सफल मार्गतिर लैजान के गर्ने त गुरुदेव?’

हामी क्षणभंगुर जीवन स्वर्ग ठानेर भ्रममा बाँचिरहेछौं। मीठा खाना, नाना, मोजमस्ती, आनन्द आदि। यी सबै क्षणिक हुन्। हामीले लिएर जाने केही छैन। बरू दिएर जान सक्छौं। त्यसका लागि चिन्तन गरौं। त्यसबाट निस्किएका उपज समाजमा छरौं। जुन मथेर निस्केको नौनीझैं स्वादिलो हुन्छ। त्यो नै कीर्ति  हो। विश्वमा यस्ता जल्दाबल्दा व्यक्तित्वहरू छन् जसले कलाकार, साहित्यकार, वैज्ञानिक, आविष्कारक आदि भएर आफ्नो सुगन्ध छरेर क्षमता प्रदर्शन गरे।  

प्रकाशित: २ चैत्र २०८२ ११:५९ सोमबार