‘ए, नानी! आज त मेरो चस्मा बनाएर लेइदेन है, सारै अप्ठ्यारो भो!’ अफिस हिंड्न लागेको छोरालाई उनले अनुनय गरे।
‘अफिसको कामले मलाई कहाँ फुर्सद हुन्छ र बा, चस्मासस्मा बनाउन! ऐले त्यसैले काम चलाउनु, फुर्सद मिलेपछि बनाएर ल्याइदिम्ला नि।’ सुरजले झर्किंदै जवाफ दियो।
घरि बावुको घरि हजुरबाको अनुहार हेर्दै कुरा सुनिरहेको ११ बर्से छोरा विनमको हात समाएर ‘हिंड स्कुल!’ भन्दै सुरज निस्कियो।
केही महिनाअघि उनको चस्मा भाँचिएर लाउनै नहुने भएको थियाे। छोरासँग दैनिक अनुनय गर्थे उनी तर उनको अनुनय अरण्यरोदन सावित हुन्थ्यो।
‘कहाँ जान लागेकी बुहारी! मेरो चस्मा पनि बनाएर लेइदेउ न है?’ बाहिर निस्कन लागेकी बुहारीलाई उनले अनुरोध गरे।
‘म भियाउँदिनँ! किन चाहियो ऐले? छोराले पछि बनाएर ल्याइदिन्छु भनेकै छ त!’ भन्दै विमला निस्किइन्। लामो सुस्केरा लिंदै उनी ओछ्यानमा पल्टिए।
बेलुका सबै भेला भए। विमलाले सबैलाई खाना खान बाेलाइन्। विनमले हजुरबालाई डोर्याउँदै ल्याएर मेचमा बसाउँदै भन्यो, ‘हजुरबा! आज त तपाईंको जन्मदिन भनेको हैन?’
‘होहो! बस् अब खाना खान!’ विमलाले खाना दिंदै छोरालाई झपारिन्।
विनम हजुरबाको छेउमा गयो र खल्तीबाट चस्मा झिकेर लगाइदियो र ताली बजाउँदै भन्यो, ‘हेप्पी बर्थडे हजुरबा!’
प्रकाशित: २० मंसिर २०८२ १२:५६ शनिबार



