कला/साहित्य

फल लागेको बोट

लघुकथा

म सधैंझैं रेलको यात्रामा निस्के। ठन्डी महिना विहानको चिसो मौसम, ज्यान तताउन पसलबाट तातो कफी किनेर रेलमा चढेँ।

रेलमा यात्रुहरूको खचाखच थिए। म पनि त्यही भिडमा थपिएँ। रेल ठाउँठाउँमा रोक्दै गइरहेको थियो।

रेलको दौडमा हातको कफी एक्कासी छचल्केर अगडि सिटमा बसिरहेका एक यात्रुको ज्यानमा नमजाले पोखियो। म एकदम डराएँ। दुई हात जोडी बिन्ती बिसाएँ तर उहाँले सहर्ष रूमालले आफ्नो ज्यानको कफी स्वयम् पुछ्नुभयो। माफी स्वीकारेकोमा म पनि खुसी भएँ।

उहाँको मुखमा आक्रोशको सट्टा मुस्कान देखेर मलाई झन् अचम्म लाग्याे र मुस्कानको रहस्य खोज्न इच्छा जाग्यो र सोधें, ‘मेरो कफीले तपाईंको कपडा बिगारिदिएँ तर तपाईंले त गालीको बदला मलाई उल्टै मुस्कान दिनुभो नि! तपाईको ठाउँमा अरू कोही भएको भए आज मलाई गालीबेइज्जतको वर्षा बर्सिन्थ्यो होला। धन्यवाद हजुर!’

उहाँले फेरि मुस्कुराउँदै जवाफ दिनुभो, ‘हामी मानव हो जानीजानी गल्ती कसैले गर्दैनन्। यी गल्तीहरू अन्जानमा हुने कुरा हो। हजार गल्तीबाट एउटा उत्कृष्ट काम गर्न सक्षम हुन्छौँ हामी। त्यसैले मप्रति धेरै लज्जित नहुनुस्। म बुझ्छु। हुन्छ भने लिनुस् यो एउटा मेरो उपहार?’

बडो अचम्म र भावुकतासाथ मैले उहाँको पुस्तक उपहार ग्रहण गरेँ र हेरे। शीर्षकमा  ‘गल्तीहरू” कृतिको पछाडि कभरमा नामसहितको उहाँको चेहेरा देखेँ। त्यसपछि मैले अनुभुति गरेँ। फल लागेका बोट अवश्य झुक्दा रहेछ।

प्रकाशित: २१ वैशाख २०८३ ०८:३८ सोमबार