एउटा आदिम प्रश्न जसले मानव सभ्यताको पहिलो बिहानीदेखि नै हाम्रो चेतनाको ढोका ढकढक्याइरहेको छ, ‘म को हुँ ?’ र ‘यो चराचर जगतमा मेरो उपस्थितिको अर्थ के हो ?’ बलराम अधिकारीको कृति ‘नारी-पुरुष अन्तरअस्तित्व र साहित्यमा त्यसको उपस्थिति’ को पहिलो अध्याय ‘अस्तित्व: उपस्थिति, पृथकता र स्वनिर्माणको समग्रता’ का अक्षरहरूको घना जङ्गलमा पस्दै गर्दा मलाई लाग्यो म कुनै पुस्तकको पाना मात्र पल्टाइरहेको छैन, बरु अस्तित्वको उबडखाबड पहाडमा एक्लै पदयात्रा गरिरहेको छु। यो यात्रा कुनै रमाइलो पिकनिक थिएन, बरु सार्त्रको ‘नोजिया’ (वाकवाकी) जस्तै आफैँभित्रको शून्यतासँगको जम्काभेट थियो।
लेखकले जब अस्तित्वलाई ‘उपस्थिति’ को रूपमा परिभाषित गरे, मलाई लाग्यो कति सरल तर कति जटिल सत्य। म यहाँ छु। तर मेरो हुनु र मेरो टेबलमा भएको कलमको हुनुमा के फरक छ ? अधिकारीको चिन्तनको गोरेटोमा हिँड्दै मैले बोध गरेँ, अस्तित्व केवल ‘हुनु’ मात्र होइन रहेछ। ढुङ्गा छ, माटो छ, म पनि छु तर मेरो ‘हुनु’मा चेतनाको यस्तो दियो बलिरहेको छजसले मलाई त्यो ढुङ्गाबाट अलग गराउँछ। मूर्त वस्तु र अमूर्त विश्वास (ईश्वर, आत्मा) बीचको द्वन्द्वमा उभिएर मानिसले आफ्नो अस्तित्वको नक्सा कोर्ने प्रयास गर्दो रहेछ।
नेपाली ‘अस्तित्व’ र अङ्ग्रेजी ‘इग्जिस्टेन्स’ बीचको पुल तर्दै मैले ल्याटिन शब्द ‘इग्जिस्टेर’ को गहिराइ नाप्ने मौका पाएँ, ‘अरूभन्दा पृथक् रहनु, अलग देखिनु।’
यही पृथकता नै मेरो परिचय हो। यदि म भीडमा हराउँछु, मेरो आवाज अर्काको कोलाहलमा विलीन हुन्छ भने, के म साँच्चिकै अस्तित्वमा छु ? यो प्रश्नले किर्केगार्डको चिन्ताग्रस्त अनुहार सम्झायो। पश्चिममा चलेको अस्तित्ववादको त्यो लामो बौद्धिक आँधी यो अध्यायमा स्पष्ट महसुस हुन्छ।
अस्तित्व सारभन्दा जेठो छ
म सार्त्रको जमानामा पुगेँ जहाँ दोस्रो विश्वयुद्धको बारूदको गन्ध अझै हावामा मिसिएकै थियो। मानिसको चिहानमाथि उभिएर सार्त्र चिच्याइरहेका थिए, “अस्तित्व सारभन्दा जेठो छ!”
परम्परागत दर्शनले मानिसलाई ईश्वरको योजना भन्दै आएको थियो, भाग्य निधारमा लेखिएको मान्थ्यो। तर सार्त्रले त्यो निधारको मसी पुछिदिए। कुनै कुर्सी बन्नुअघि सिकर्मीको दिमागमा त्यसको ‘सार’ तयार हुन्छ। तर मानिस पहिले आउँछ, संसारमा पछारिन्छ, अनि मात्र आफूलाई बनाउँछ। यो पढ्दा मलाई डर र रोमाञ्च दुवै भयो- म कुनै पूर्वनिर्धारित डिजाइन होइन रहेछु, म त खुल्ला क्यानभास रहेछु, जसमा म आफैँले रङ भर्नुपर्छ। यो स्वतन्त्रता कति भारी छ!
यहाँ म ‘स्वतन्त्र सावयव व्यक्ति’ (Free Organic Individual) को अवधारणासँग ठोक्किएँ। स्वतन्त्र, सावयव र व्यक्ति - यी तीन शब्द त्रिवेणी बनेर बगेका छन्। थोमस फ्लिनदेखि सार्त्रसम्मका विचार साभार गर्दै लेखक भन्छन्, मानिसको अस्तित्व स्थिर पोखरी होइन, निरन्तर बगिरहने नदी हो। ‘म छु’ भन्ने चेतना नै अस्तित्वको प्रस्थानबिन्दु हो।
कलमको दृष्टान्तले मलाई निकै तान्यो। कलम एउटा वस्तु हो, जसको नियति लेखकको हातमा छ। तर लेखक कर्ता हो- के लेख्ने, कतिखेर लेख्ने, वा लेख्दै नलेख्ने भन्ने छनौट उसमा सुरक्षित छ। म अहिले यो निबन्ध लेखिरहेको छु; चाहूँ भने अहिले नै बन्द गरेर बाहिर निस्कन सक्छु। यो ‘सक्नु’ नै मेरो अस्तित्वको प्रमाण हो। वस्तुस्थितिले मलाई घेरेको छ- मेरो शरीर, विगत, समाज। म चराजस्तै उड्न सक्दिनँ, यो मेरो सीमा हो तर यो सीमाभित्र पनि म अनन्त सम्भावना खोज्न सक्छु। हामी जेलको कोठाभित्र थुनिएका तर आकाश हेर्न सक्ने कैदी हौँजसको कल्पनालाई कुनै पर्खालले छेक्न सक्दैन।
ऐनाहरूको कोठा र ईश्वरको मृत्यु
यो अध्याय पढ्दा म ऐनाहरूको कोठामा छु जस्तो लाग्यो। जता हेर्छु ‘म’ नै देखिन्छु, तर हरेक प्रतिबिम्ब फरक छ। एउटा प्रतिबिम्ब सार्त्रको ‘नजिया’ को पात्र रोक्विटिनजस्तै एक्लो र विरक्त छ; अर्को नित्सेको ‘जराथ्रुस्ट्र’ जस्तै पहाडको चुचुरोबाट चिच्याइरहेको छ- “ईश्वर मरिसके!”
ईश्वरको मृत्यु केवल धार्मिक सत्ताको अन्त्य थिएन, त्यो त मानिसले आड लाग्ने अन्तिम खम्बा ढल्नु थियो। जब आकाशबाट ईश्वरको छत्रछायाँ हट्यो, मानिस टुहुरो र नितान्त एक्लो भयो। अब उसले आफ्नो पाप र पुण्यको भारी आफैँ बोक्नुपर्ने भयो। यही एक्लोपन, यही शून्यताबाट अस्तित्ववादी सङ्कट जन्मिन्छ।
त्यो सङ्कट कस्तो हुन्छ ? लेखकले पास्कलको एउटा भनाइ उद्धृत गरेका छन्, जसले मेरो मुटुमा चिसो पसायो– “यो अनन्त ब्रह्माण्डको मौनताले मलाई तर्साउँछ।” हामी सानो ग्रहमा छोटो समयका लागि आएका यात्री हौँ। अगाडि अनन्त काल, पछाडि अनन्त काल– यी दुई अनन्तबीच हाम्रो जीवनको झिल्को कति निरर्थक लाग्छ !
तर अस्तित्ववाद केवल निराशाको दस्तावेज होइन रहेछ; यो ब्युँझिएको चेतनाको उद्घोष पनि हो। जब मानिसले आफू एक्लो छु भन्ने थाहा पाउँछ, तब आफैँसँग संवाद गर्न थाल्छ। ‘स्वानुचिन्तन’ (Self-reflection) को यो प्रक्रिया लेखकले कलात्मक ढङ्गले व्याख्या गरेका छन्। जरथुस्त्र आफ्नो हृदयसँग बोल्छन्, रोक्विटिन ऐनामा हेर्दै आफैँलाई प्रश्न गर्छन्, र म पनि यो निबन्ध लेख्दै आफैँसँग संवाद गरिरहेको छु– “के म साँचो अर्थमा बाँचिरहेको छु कि केवल सास फेरिरहेको छु?”
जसको ‘स्व’ छैन, ऊ आफैँसँग संवाद गर्न सक्दैन; ऊ भीडको भेडा मात्र हुन्छ, जो गोठालाको इसारामा हिँड्छ। अस्तित्ववादले हामीलाई त्यो बथानबाट निस्केर ‘सिंह’ बन्न आह्वान गर्छ।
बसको यात्रा र जेसीको छनौट
अध्यायको मध्यतिर ‘बसको यात्रा’ को विम्बले मलाई झस्कायो। जीवन एउटा बसको यात्राजस्तै हो -भीड, गर्मी, पसिनाको गन्ध, धक्कामुक्का। कोही उभिएका छन्, कोही सिट ओगटेर बसेका। बाहिर उही पुराना दृश्य दोहोरिइरहन्छन्। जेसीलाई लाग्छ यो बसबाट जहाँ ओर्लिए पनि ओर्लिने ठाउँ उही हो; पचास वर्षपछि ओर्लिनु र अहिले ओर्लिनुमा के फरक ? यो विम्बले आधुनिक मानिसको निरर्थकताबोधलाई सटिक चित्रण गर्छ। यदि गन्तव्य मृत्यु नै हो भने, यात्रा लम्ब्याउनुको औचित्य के?
मार्सिया नोर्मनको नाटक ‘नाइट, मदर’ मा जेसी आत्महत्याको निर्णय गर्छिन्- आवेगमा होइन, एकदमै शान्त र सचेत भएर। उनी आफ्नो जीवनलाई थोत्रो घर मान्छिन्जहाँ बस्नुको अर्थ छैन। उनले रोजेको मृत्यु पनि उनको ‘छनौट’ हो। सार्त्रले भनेजस्तै, “हामी स्वतन्त्र हुन अभिशप्त छौँ।” बाँच्ने कि मर्ने - यो निर्णय पनि हाम्रै हातमा छ। समाजले आत्महत्यालाई कायरता वा पाप भन्लातर अस्तित्ववादी दृष्टिबाट त्यो पनि चरम स्वतन्त्रताको प्रयोग हो। (यसको अर्थ आत्महत्याको प्रोत्साहन होइन, बरु मानिसको निर्णयक्षमताको पराकाष्ठा देखाउनु हो।)
सङ्कटबाट पारका तीन बाटा
लेखकले अस्तित्वको सङ्कटबाट पार पाउने तीन विकल्पको चर्चा गरेका छन्जुन मलाई पौराणिक कथाका तीन बाटोजस्तै लागे।
पहिलो बाटो -समर्पण, किर्केगार्डको बाटो। जब मानिस तर्क र बुद्धिको सीमामा पुगेर चारैतिर अन्धकार देख्छ, तब ‘विश्वासको फड्को’ (Leap of Faith) मार्दै ईश्वरको शरणमा पर्छ। तर यो अन्धो भक्ति होइन, सचेत निर्णय हो। डुब्नै लागेको मानिसले परालको त्यान्द्रो समाएझैँ सङ्कटमा परेको मानिसले ईश्वरलाई समाउँछ, र त्यही मिलनमा पूर्णता भेट्टाउँछ।
दोस्रो बाटो-स्वतन्त्रता र स्वनिर्माण, नित्से र सार्त्रको बाटो, काँडाले भरिएको। यहाँ कुनै ईश्वर छैन, कुनै पूर्वलिखित नियम छैन। मानिसले आफ्नो बाटो आफैँ खन्नुपर्छ, के सही र के गलत भन्ने मानक आफैँ तय गर्नुपर्छ। “म आफ्ना लागि आफैँ सूर्य हुँ,” भन्छन् जराथ्रुस्ट्र। पुरानो मान्यताको घर भत्किँदा त्यही भग्नावशेषमा उभिएर नयाँ महल बनाउनु, आफ्नो कर्म र परिवेशलाई आफैँ अर्थ दिनु नै स्वतन्त्रता हो। यो बाटोको मानिस ‘अतिमानव’ बन्दै समाजले थोपरेको नैतिकताको खोल च्यातेर मौलिक नैतिकता निर्माण गर्छ।
तेस्रो बाटो, अलिक अँध्यारो-स्वध्वंस। यो केवल शारीरिक आत्महत्या होइन। लेखकले जैविक र प्रतीकात्मक गरी दुई प्रकार देखाएका छन्। जैविक स्वध्वंस शरीरको अन्त्य हो, जस्तो जेसीले रोजिन्। तर प्रतीकात्मक स्वध्वंस त हामीमध्ये धेरैले बाँचिरहेको जिन्दगी हो- जिउँदो लास भएर बाँच्नु, आफ्नो इच्छा र मौलिकता मारेर समाजको साँचोमा आफूलाई ढाल्नु। अरूले भनेको बाटोमा हिँड्दा शरीर त जिउँदो हुन्छतर ‘स्व’ मरेको हुन्छ।
जिम्मेवारीको भारी
अध्यायको अन्त्यतिर जिम्मेवारीको बोधले मलाई गहिरो प्रभाव पार्योद। सार्त्रको प्रसिद्ध भनाइ छ- युद्धमा सिपाही मारिन्छन् भने त्यसको जिम्मा म पनि लिन्छु, किनकि मैले युद्ध रोक्न केही गरिनँवा म त्यही समाजको हिस्सा हुँ जसले युद्ध निम्त्यायो। अस्तित्ववादले मानिसलाई स्वतन्त्र मात्र बनाउँदैन, भयानक रूपमा जिम्मेवार पनि बनाउँछ। म जे छु, त्यसको जिम्मा मैले लिनुपर्छ; मेरो असफलताको दोष न ईश्वरलाई, न भाग्यलाई, न बाल्यकालको परिवेशलाई दिन सक्छु। “म को हुँ ?” को उत्तर “म त्यही हुँ, जो मैले आफूलाई बनाएँ” मा गएर टुङ्गिन्छ।
यही विन्दुमा ‘व्यक्ति’ को अर्थ गहन बन्छ- “खास, एकल, अलग र अविभाज्य।” समाजले हामीलाई भीडको हिस्सा बनाउन खोज्छ, जात, धर्म, लिङ्ग, पेसाको ट्याग लगाएर वर्गीकरण गर्छ तर अस्तित्ववादी दृष्टिले हरेक व्यक्ति एउटा सिङ्गो ब्रह्माण्ड होजो अरूसँग तुलना हुन सक्दैन। ‘प्रामाणिक’ जीवन बाँच्न त्यो भीडबाट अलग भई आफ्नो निजी एकान्तमा आफैँलाई भेट्न जरूरी छ।
विस्फोटक चेतना र प्रतीकात्मक मृत्यु
जसपर्सको भनाइमार्फत लेखकले नित्सेको ‘विस्फोटक चेतना’ प्रस्तुत गरेका छन्, “म आवेगको तलमा बारम्बार खसें, तर त्यस अतलबाट आफूलाईसिधै माथि उठाएँ... थरथर काप्दै म समाउने भर खोज्छु।”
यो केवल नित्सेको होइन, सङ्कटमा परेको हरेक सचेत मानिसको साझा अनुभव हो। पुराना मान्यताका खम्बा ढल्दा, ईश्वरको सुरक्षाकवच च्यातिँदा मानिस अन्धकार खाडलको डिलमा उभिन्छ। त्यो रिक्ततालाई मानिसले आफ्नै भित्रबाट नयाँ मूल्य र मान्यताको सिर्जना गरेर भर्नुपर्छ। सङ्कटबाट भागेर होइन, त्यसको आँखामा आँखा जुधाएर मात्र मानिसले आफ्नो वास्तविक अनुहार देख्छ।जराथ्रुस्ट्रको हाँसो त्यही सङ्कटमाथिको विजयको हाँसो हो, जसमा पीडा पनि छ र पीडालाई जितेर प्राप्त गरेको आनन्द पनि।
तर सबैले जराथ्रुस्ट्र बन्ने साहस गर्न सक्दैनन्, अनि जन्मिन्छ प्रतीकात्मक स्वध्वंसको त्रासदी। “जीवित भएर पनि चेतनाशून्य जीवन बाँच्ने मानिस प्रतीकात्मक रूपमा ध्वस्त भइरहेको हुन्छ।”
कति मानिस सास फेर्दै, कार्यालय जाँदै, बिहे गर्दै, सन्तान जन्माउँदै छन् तर के उनीहरू साँच्चै बाँचिरहेका छन् ? जब म अन्तरआत्माको आवाज दबाएर ‘समाजले के भन्ला’ भन्ने डरले निर्णय लिन्छु, तब आफ्नै ‘स्व’ को हत्या गरिरहेको हुन्छु। जब थाहा हुँदाहुँदै यो जागिर, सम्बन्ध वा जीवनशैली मेरो होइन भनी ‘सुरक्षा’ को नाममा टाँसिइरहन्छुतब जिउँदो लास बनिरहेको हुन्छु। मेसिनको पुर्जाको के अस्तित्व ? उपभोक्तावादी समाजले हामीलाई त्यही आज्ञाकारी उपभोक्ता, मुक दर्शक, प्रणालीको दास बनाउन खोजिरहेको छ।
तर आशाको दियो पनि छ। जिजेकका अनुसार मानिस प्रतीकात्मक मृत्युबाट ‘पुनर्जीवित’ हुन सक्छ। यो पुनर्जीवन त्यही ‘कृत्रिमताको खबटा’ फोरेर बाहिर निस्कनु हो - त्यो क्षण जब मानिस भन्छ, “अब पुग्यो ! म अरूको लागि होइन, आफ्नै सत्यको लागि बाँच्नेछु।” इब्सनको ‘अ डल्स हाउस’ की नोराजसले वर्षौं आज्ञाकारी श्रीमती र प्यारी पुतली भएर बाँचिन्, अन्ततः घर, सुरक्षा र झुटो प्रेम त्यागेर ढोका बन्द गर्दै बाहिर निस्किन्। त्यो ढोका बन्द हुँदाको आवाजले युरोपको नैतिकतालाई मात्र होइन, मानव अस्तित्वको जडतालाई नै हल्लायो। त्यो प्रतीकात्मक मृत्युबाट ब्युँझिएको क्षण थियो।
अस्तित्व : बन्दै जाने प्रक्रिया
समग्रमा, यो अध्याय दार्शनिक सिद्धान्तको सङ्ग्रह मात्र होइन रहेछ; यो एउटा ऐना रहेछ, जसमा हामी आफ्नो कुरुप र सुन्दर दुवै अनुहार देख्न सक्छौँ। ‘पृथकता’ ले सिकायो– अरूभन्दा फरक हुनु अपराध होइन, त्यो मेरो शक्ति हो; भीडमा नअटाउनु कमजोरी होइन, विशिष्टता हो। ‘स्वनिर्माण’ ले जिम्मेवारी दियो- मेरो जीवनको मूर्तिकार म आफैँ हुँ; छेनी र हतौडा मसँग छ, कस्तो मूर्ति बनाउने त्यो मेरो हातमा छ।
अब म फेरि त्यही कलमलाई हेर्छु। त्यो कलम एउटा ‘वस्तु’ हो, जसको ‘सार’ कारखानाबाट निस्कनुअघि नै तय भइसकेको थियो- लेख्नु। उसले कहिल्यै ‘म आज लेख्दिनँ, गीत गाउँछु’ भन्न सक्दैन; ऊ पूर्णतः परतन्त्र ‘इन- इटसेल्फ’ हो तर म त्यो कलम होइन- म ‘फर–इटसेल्फ’ हुँ, कर्ता हुँ। कलम मेरो हातमा छ, म कलमको हातमा छैन। मेरो निधारमा कुनै कारखानाको छाप छैन। यही ‘कर्ता भाव’ नै अस्तित्वको चुरो रहेछ, जसलाई नबुझ्दा हामी आफूलाई वस्तु ठान्छौँ। म ‘सावयव’ छु- सङ्घटित, गतिशील, स्वभावगत। मभित्र भावनाको ज्वारभाटा, आवेगको आँधी र कमजोरीको खाडल छ। म पूर्ण गिलास होइन, म रित्तो भाँडो हुँ जसलाई आफ्नै कर्म र छनौटले भर्न सक्छु; यही अपूर्णताले मलाई पूर्ण बन्ने अनन्त सम्भावना दिन्छ।
स्वतन्त्रता के हो त ? बन्धनको अभाव मात्र होइन, बरु भयानक जिम्मेवारी रहेछ। सार्त्र भन्छन्, “यदि व्यक्ति स्वतन्त्र छैन भने पनि यो उसैको रोजाइ हो।” “म बाध्य थिएँ, परिस्थितिले यस्तो बनायो” भन्ने बहानालाई अस्तित्ववाद ठाडै अस्वीकार गर्छ। बाध्य हुनु, विद्रोह नगर्नु, चुपचाप सहनु– त्यो पनि मेरो छनौट हो। म अतीतको कैदी होइन, भविष्यको निर्माता हुँ।
मैले बुझेँ, अस्तित्व कुनै गन्तव्य होइन रहेछ। “म भइसकेँ” भन्नु नै अस्तित्वको अन्त्य रहेछ; अस्तित्व त “म बन्दै छु” को निरन्तर प्रक्रिया रहेछ। हिजोको म र आजको मबीचको यात्रा, अनि आजको मबाट भोलिको मतर्फको अनिश्चित छलाङ- यही नै ‘अस्तित्व : उपस्थिति, पृथकता र स्वनिर्माणको समग्रता’ रहेछ। साहित्य त त्यही छलाङको, त्यही कम्पनको, त्यही सङ्घर्षको अभिलेख रहेछ।
अब म काठमाडौँका गल्लीहरूमा निस्कन्छु, जहाँ मानिसको भीड छ। कोही तरकारी किन्दै, कोही हर्न बजाउँदै, कोही चिया पसलमा देशको राजनीति सराप्दै। तर अब मेरो हेराइ फरक छ- म उनीहरूभित्र पनि त्यही सङ्कट, छटपटी र सम्भावना देख्छु। कोही ‘जेसी’ को बसमा यात्रा गरिरहेका होलान्, कोही ‘रोक्विटिन’ जस्तै वाकवाकी मानिरहेका, कोही ‘नित्से’ जस्तै पहाड चढ्ने तयारीमा। हामी सबै एउटै रङ्गमञ्चका पात्र हौँ, तर हाम्रो पटकथा लेखिएको छैन। हामीले बोल्ने हरेक संवाद, चाल्ने हरेक कदमले नै यो नाटकको अन्त्य तय गर्नेछ।
टी. एस. एलिएटको 'उजाड भूमि' (द वेस्ट ल्यान्ड) को लन्डनजस्तै मेरो काठमाडौँ पनि धुवाँ र धुलोले ढाकिएको छ। तर यो धुलोभित्र पनि कतै न कतै चेतनाको आगो दन्किरहेको छ। यो पुस्तकको पहिलो अध्यायले मलाई त्यो आगो सल्काउने दियासलाई दिएको छ। बाँकी त त्यो आगोमा म आफूलाई कति जलाउन सक्छु, त्यसमा भर पर्छ। खरानी भएर उड्नु वा खारिएर निस्कनु– विकल्प मेरो हातमा छ। र यही विकल्पको स्वतन्त्रता नै मेरो अस्तित्वको सार हो।
प्रकाशित: २४ श्रावण २०८३ ०९:३४ आइतबार