अहिले नेपालमा चलचित्र विकास बोर्डको अध्यक्षका उम्मेद्वारहरुका केही नाम बाहिर आयेका छन। यो शक्तिशाली पोस्टमा को आउला त , त्यसको निर्णय भने हुनु बाकी नै छ । हामी सबैले याद गर्नुपर्ने कुरा चाहिँ के हो भने बोर्डको अध्यक्ष हुनु भनेको एउटा प्रतिष्ठित पद सम्हाल्नु मात्र होइन यो त राज्य र नेपाली चलचित्र क्षेत्रबीचको पुल बन्ने जिम्मेवारी पनि हो।
चलचित्रको नीति, पूर्वाधार, बजार, प्रविधि, कलाकार, प्राविधिक, प्रदर्शन, वितरण र अन्तर्राष्ट्रिय पहुँचजस्ता धेरै विषयसँग यो पद जोडिएको हुन्छ । त्यसैले अब बोर्डको अध्यक्ष को बन्छ भन्ने प्रश्नभन्दा पनि अध्यक्ष बनेपछि के काम गर्छ भन्ने प्रश्न महत्वपूर्ण हुन्छ।
चलचित्र विकास बोर्ड ऐनले अध्यक्ष तथा बोर्डलाई चलचित्र क्षेत्रको नीति, योजना र कार्यक्रम निर्माण, अध्ययन तथा अनुसन्धान, निजी क्षेत्रलाई गुणस्तरीय चलचित्र निर्माणका लागि प्रोत्साहन, चलचित्रकर्मी तथा व्यवसायीबीच समन्वय र नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने कामसँग जोडेको छ। त्यसैले अध्यक्ष केवल कार्यक्रम उद्घाटन गर्ने वा सरकारी प्रतिनिधिका रूपमा देखिने पद होइन, चलचित्र क्षेत्रको दीर्घकालीन विकासका लागि दिशा देखाउने जिम्मेवारी भएको पद हो।
अध्यक्ष बन्न कलाकार, निर्देशक वा निर्माता नै हुनुपर्छ भन्ने कानुनी व्यवस्था छैन। तर चलचित्र क्षेत्रलाई नजिकबाट बुझेको, निर्माणदेखि प्रदर्शन र वितरणसम्मको वास्तविकता थाहा भएको, नीति र प्रशासन बुझ्ने तथा विभिन्न पक्षलाई एउटै ठाउँमा ल्याएर काम गर्न सक्ने व्यक्ति हुनु आवश्यक देखिन्छ। सबैभन्दा महत्वपूर्ण कुरा भनेको नेपाली चलचित्रलाई आगामी पाँचदेखि दस वर्षमा कहाँ पुर्याउने भन्ने स्पष्ट दृष्टिकोण हुनु हो।
अहिलेको मुख्य चुनौती :
आज नेपाली चलचित्रको समस्या चलचित्र बन्न नसक्नु मात्र होइन। चलचित्र बनेपछि त्यसलाई दर्शकसम्म कसरी पुर्याउने, लगानी कसरी सुरक्षित गर्ने र बजार कसरी विस्तार गर्ने भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ।
यसमा बजार, चलचित्र हल र बक्स अफिस एउटै शृंखलाका तीन पाटा हुन्। पर्याप्त र व्यवस्थित हल नहुँदा दर्शकसम्म पहुँच घट्छ। बजार सीमित हुँदा लगानी जोखिममा पर्छ। भरपर्दो बक्स अफिस र तथ्यांक नहुँदा वास्तविक बजार कति ठूलो छ भन्ने कुरा नै स्पष्ट हुँदैन। त्यसैले यी विषयलाई छुट्टाछुट्टै होइन, एउटै उद्योगको संरचनाका रूपमा हेर्न आवश्यक छ।
अब नेपाली चलचित्रको बजार काठमाडौंमा मात्र सीमित राखेर पुग्दैन। देशभित्र नयाँ बजार खोज्नुपर्नेछ भने विदेशमा रहेका नेपाली दर्शकसम्म पनि व्यवस्थित रूपमा पुग्नुपर्नेछ। भारत, खाडी मुलुक, मलेसिया, अष्ट्रेलिया, अमेरिका, जापानलगायतका ठाउँमा नेपाली चलचित्रको सम्भावना खोज्न सकिन्छ। त्यस्तै ओटीटी र डिजिटल माध्यमलाई पनि अब चलचित्र उद्योगकै बजारका रूपमा हेर्नुपर्ने अवस्था छ।
तर योजना बनाउनुअघि तथ्यांक चाहिन्छ। वर्षमा कति चलचित्र बन्छन्, कति लगानी हुन्छ, कति चलचित्रले लगानी उठाउँछन्, देशभर कति हल छन्, दर्शकको अवस्था कस्तो छ, विदेशबाट कति आम्दानी भइरहेको छ, कति रोजगारी सिर्जना भएको छ र सरकारी सहयोगको प्रभाव कस्तो छ भन्ने स्पष्ट तथ्यांक आवश्यक छ। त्यसैले नयाँ नेतृत्वले सुरुवातमै नेशनल तयार गर्ने दिशामा काम गर्नुपर्छ।
अबको बाटो : पाँचवटा आधार
नेपाली चलचित्र क्षेत्रलाई बलियो बनाउन बोर्डले सबै काम आफैं गर्ने होइन। बोर्डको मुख्य काम वातावरण बनाउने हो। त्यसका लागि पाँचवटा विषयलाई प्राथमिकतामा राख्न सकिन्छ।
क) राम्रा प्रतिभाको उत्पादन
राम्रा पटकथा, लेखक, निर्देशक र प्राविधिक उत्पादनमा जोड दिनुपर्छ। नयाँ प्रतिभालाई अवसर दिनुपर्छ। तर सहयोग रकम बाँड्नेभन्दा पनि राम्रो कथा र राम्रो चलचित्र बन्ने आधार तयार गर्ने नीति आवश्यक छ।
ख ) चलचित्र हल र प्रदर्शन पूर्वाधार
देशभरका हलको अवस्था अध्ययन गरेर आवश्यक सुधार र विस्तारको योजना बनाउनुपर्छ। पुराना हललाई संरक्षण र स्तरोन्नति गर्ने तथा चलचित्रको पहुँच कम भएका ठाउँमा नयाँ प्रदर्शन केन्द्र विकास गर्ने सम्भावना खोज्नुपर्छ।
ग) बजार र वितरण
नेपाली चलचित्रको बजार नेपालभित्र मात्र सीमित नराखी विदेशमा रहेका नेपाली दर्शकसम्म व्यवस्थित रूपमा पुर्याउने वातावरण बनाउनुपर्छ। ओटीटी , डिजिटल प्लेटफर्म र नयाँ वितरण प्रणालीलाई पनि उद्योगको भविष्यसँग जोडेर हेर्नुपर्छ।
घ ) अन्तर्राष्ट्रिय पहुँच
नेपाललाई विदेशी चलचित्र छायांकनको सम्भावित गन्तव्यका रूपमा विकास गर्न सकिन्छ। छायांकन अनुमति, कर तथा शुल्क, उपकरण, स्थानीय जनशक्ति र अन्य प्रक्रियालाई सहज बनाउँदै सम्बन्धित निकायसँग समन्वय गर्ने काम बोर्डले अघि बढाउन सक्छ।
ङ ) चलचित्र सम्पदाको संरक्षण
पुराना चलचित्रका रिल, पोस्टर, गीत, पटकथा, तस्बिर तथा अन्य ऐतिहासिक सामग्री संरक्षण गर्नुपर्ने आवश्यकता छ। राष्ट्रिय चलचित्र अभिलेख र डिजिटल अभिलेखको कामलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्छ। आज संरक्षण नगरिएका सामग्री भोलि इतिहासबाटै हराउन सक्छन्।
पहिलो १०० दिन : घोषणा होइन, कामको सुरुवात
नयाँ अध्यक्षले पहिलो १०० दिनलाई ठूला घोषणा गर्ने समयभन्दा पनि चलचित्र क्षेत्र बुझ्ने, समस्या पहिचान गर्ने र आगामी कामको आधार तयार गर्ने समयका रूपमा लिनुपर्छ। त्यसका लागि पाँचवटा प्राथमिकता पर्याप्त हुन सक्छन्।
क) उद्योगको वास्तविक अवस्था बुझ्ने।
निर्माता, निर्देशक, कलाकार, प्राविधिक, लेखक, वितरक, प्रदर्शक, हल व्यवसायी, ओटीटी तथा डिजिटल प्लेटफर्म र सम्बन्धित सरकारी निकायसँग प्रत्यक्ष छलफल गर्ने।
ख ) तथ्यांक र रिपोर्ट तयार गर्ने।
चलचित्र निर्माण, लगानी, हल, दर्शक, बजार, रोजगारी, बक्स अफिस र विदेश बजारसम्बन्धी उपलब्ध तथ्यांक संकलन गरेर उद्योगको वास्तविक चित्र सार्वजनिक गर्ने।
ग) चलचित्र हल, बक्स अफिस र बजारका तत्कालीन समस्या पहिचान गर्ने।
देशभरका हलको अवस्था हेर्ने, बक्स अफिस प्रणालीलाई व्यवस्थित बनाउने र नेपाली चलचित्रको आन्तरिक तथा बाह्य बजार विस्तारका लागि प्रारम्भिक योजना बनाउने।
घ ) प्रतिभा र नीति विकासको काम सुरु गर्ने ।
पटकथा, लेखन, निर्देशन र प्राविधिक क्षेत्रमा नयाँ प्रतिभाका लागि तालिम तथा कार्यशाला सुरु गर्ने र पुराना नीति तथा नियम कहाँ सुधार गर्नुपर्छ भन्ने अध्ययन अघि बढाउने।
ङ ) दीर्घकालीन योजना र पारदर्शिता कायम गर्ने।
आगामी पाँचदेखि दस वर्षको स्पष्ट कार्यदिशा सार्वजनिक गर्ने र बोर्डले गर्ने काम, प्राथमिकता तथा प्रगतिबारे नियमित रूपमा चलचित्र क्षेत्रलाई जानकारी दिने।
चलचित्र विकास बोर्ड आफैं चलचित्र बनाउने संस्था होइन। यसको काम चलचित्र बनाउनेहरूलाई आवश्यक वातावरण, नीति र संरचना उपलब्ध गराउनु हो। अन्ततः कुनै अध्यक्ष सफल भयो कि भएन भन्ने कुरा उसले कति कार्यक्रम गर्यो, कति बैठक बस्यो वा कति पटक मञ्चमा देखियो भन्ने कुराले मात्र निर्धारण हुँदैन। उसको कार्यकालमा चलचित्र उद्योग कति व्यवस्थित भयो, बजार कति विस्तार भयो, नयाँ प्रतिभाले कति अवसर पाए, हल र प्रदर्शन प्रणालीमा के सुधार आयो, तथ्यांक र बक्स अफिस कति पारदर्शी भयो र नेपाली चलचित्र अन्तर्राष्ट्रिय बजारमा कति अगाडि बढ्यो भन्ने कुराले परिणाम देखाउनेछ।
त्यसैले अब चलचित्र विकास बोर्डको अध्यक्षका लागि ठूलो प्रश्न अध्यक्ष कुन पार्टीको कोटाबाट आएको होइन नेपाली चलचित्रलाई आगामी पाँचदेखि दस वर्षमा कहाँ पुर्याउने भन्ने स्पष्ट योजना के छ, र त्यसलाई काममा उतार्ने क्षमता कति छ ? भन्ने हुनपर्छ।।
अब अध्यक्षलाई पदले होइन, कामले चिनिने समय आएको छ। त्यही भयेर सरकारले अध्यक्ष छान्दा आफ्ना र पराया नगरी कुशल व्यक्ति छानोस्।
प्रकाशित: ९ आश्विन २०८३ १९:४३ शुक्रबार