कला/साहित्य

बा: एक योद्धा:- सन्तानको सपना पूरा गराउन आफ्नै संसार गुमाउने बाबुको कथा

एउटी आमा आफ्नो कानको झुम्का बेच्न सुन पसल पुग्छिन्। ठीक त्यही समयमा अर्कोतिर उनकी बुहारी नयाँ झुम्का किनेर लगाइरहेकी हुन्छिन्। एउटै परिवारका दुई महिलाको यो विपरीत परिस्थितिले सन्तानको भविष्यका लागि अभिभावकले गर्ने त्याग र उनीहरूकै सपनाले निम्त्याउने पारिवारिक संकटलाई एकैपटक उजागर गर्छ।

यही दृश्यले चलचित्र ‘बा : एक योद्धा’को कथ्य र निर्देशक हरि लम्सालको प्रस्तुतिलाई प्रतिनिधित्व गर्छ। बाबुआमाको त्याग, सन्तानको महत्त्वाकांक्षा, पारिवारिक स्वार्थ र विदेश जाने मोहमा आधारित चलचित्रले नेपाली मध्यमवर्गीय परिवारभित्रको द्वन्द्वलाई पर्दामा उतारेको छ।

असोज ९ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले प्रदर्शनअघि नेपालगन्ज, दाङ, धरान, बुटवल र काठमाडौंमा आयोजित विशेष प्रदर्शनीबाट सकारात्मक प्रतिक्रिया पाएको थियो। काठमाडौं प्रिमियरपछि कलाकार हरिवंश आचार्यले चलचित्र हेर्दा आफू मनमनै रोएको प्रतिक्रिया दिएका थिए भने अभिनेत्री ऋचा शर्माले दिव्यदेव पन्तको अभिनयको विशेष प्रशंसा गरेकी थिइन्।  

तर भावनात्मक दृश्यले दर्शकलाई रुवाउनु मात्रै राम्रो चलचित्रको सम्पूर्ण मापदण्ड होइन। कथा कति नयाँ छ, पात्रहरूको व्यवहार कति विश्वसनीय छ र निर्देशकले दर्शकको संवेदनालाई कसरी प्रस्तुत गरेका छन् भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छन्। ‘बा : एक योद्धा’लाई यही दृष्टिबाट हेर्दा यसका प्रभावशाली पक्षसँगै केही सीमितता पनि देखिन्छन्।

परिचित कथामा पारिवारिक स्वार्थको नयाँ द्वन्द्व

नेपाली चलचित्रमा पछिल्लो समय अभिभावकको त्याग र सन्तानबाट उनीहरूले भोग्ने उपेक्षामा आधारित पारिवारिक कथाहरूले स्थान पाएका छन्। ‘पूर्णबहादुरको सारङ्गी’, ‘आ बाट आमा’ र ‘परान’जस्ता चलचित्रसँगै ‘बा : एक योद्धा’ले पनि पारिवारिक सम्बन्धको भावनात्मक पक्षलाई आफ्नो मुख्य आधार बनाएको छ।

यस चलचित्रको कथा रुद्रप्रसाद अधिकारी (दिव्यदेव पन्त) को मध्यमवर्गीय परिवारबाट सुरु हुन्छ। छोरी कृपा (सुहाना थापा) को विवाहको तयारीले घरमा खुसी छाएको छ। छोरीको विवाह सम्पन्न गर्न रुद्रप्रसाद आफ्नो आर्थिक हैसियतभन्दा माथि उठेर खर्च गर्न तयार छन्। तर यही निर्णयले परिवारभित्र असन्तुष्टि जन्माउँछ।

छोरा विशाल (सागर खनाल) ले बहिनीको विवाहका लागि ऋण लिएको भन्दै बाबुसँग असन्तुष्टि पोख्छ। दाजु र बहिनीबीचको ईर्ष्या तथा छोराको आर्थिक स्वार्थले बिस्तारै पारिवारिक सम्बन्धमा दरार ल्याउँछ।

छोरीको सम्पन्न परिवारमा विवाह गराएपछि रुद्रप्रसादले महसुस गरेको खुसी धेरै समय टिक्दैन। एक्लो छोरा र बुहारीको क्यानडा जाने आकांक्षाले परिवारमा अर्को संकट निम्त्याउँछ। सन्तानको भविष्य बनाउन अभिभावकले गरेको त्याग अन्ततः उनीहरूकै जीवनमा कसरी भारी पर्छ भन्ने द्वन्द्वमा चलचित्र अघि बढ्छ।

कथा सरल र परिचित छ। यसको बल नयाँ घटनाक्रमभन्दा पनि मध्यमवर्गीय परिवारको आर्थिक विवशता, सम्बन्धभित्रको असमान अपेक्षा र बाबुको निःस्वार्थ प्रेममा निहित छ।

निर्देशन : साना दृश्यमा ठूलो पीडा

संगीतकारका रूपमा परिचित हरि लम्सालको यो पहिलो चलचित्र निर्देशन हो। चलचित्रको लेखन र पटकथा पनि उनकै हो।  

लम्सालले कथालाई जटिल बनाउन खोजेका छैनन्। उनले नेपाली समाजमा सहजै भेटिने पारिवारिक परिस्थिति, आर्थिक अभाव र सन्तानप्रतिको मोहलाई कथाको आधार बनाएका छन्। यसैले धेरै दृश्य बनावटीभन्दा पनि घरपरिवारमा घट्न सक्ने घटनाजस्ता लाग्छन्।

आमाले आफ्नो झुम्का बेच्दै गर्दा बुहारीले नयाँ झुम्का लगाएको दृश्य चलचित्रको प्रभावशाली निर्देशकीय प्रयोग हो। संवादको सहारा नलिई दुई फरक परिस्थितिलाई समानान्तर रूपमा प्रस्तुत गरेर निर्देशकले पारिवारिक असमानता र अभिभावकको त्याग देखाएका छन्।

चलचित्रको उत्तरार्धमा पारिवारिक द्वन्द्वले गम्भीर मोड लिन्छ। सुरुवातमा सामान्य देखिने असन्तुष्टि र स्वार्थले परिवारलाई कहाँसम्म पुर्‍याउन सक्छ भन्ने देखाउने प्रयास प्रभावकारी छ। विशेषगरी चरमोत्कर्षमा बाबुको पीडालाई केन्द्रमा राखिएको छ।

यद्यपि, केही ठाउँमा दर्शकलाई भावुक बनाउने प्रयास बढी भएको महसुस हुन्छ। पात्रहरूले भोग्ने एकपछि अर्को दुःखले कथालाई मार्मिक बनाए पनि घटनाक्रमको स्वाभाविकतामाथि प्रश्न उठाउने ठाउँ रहन्छ। चरमोत्कर्षको एउटा आगलागीसम्बन्धी दृश्यमा प्रयोग गरिएको दृश्य प्रभाव (भीएफएक्स) पनि अपेक्षाकृत कमजोर छ।

अभिनय : दिव्यदेवले काँधमा बोकेको चलचित्र

चलचित्रको मुख्य आकर्षण दिव्यदेव पन्तको अभिनय हो। आफ्नो वास्तविक उमेरभन्दा झन्डै दुई दशक जेठो बाबुको भूमिकामा प्रस्तुत भएका उनले रुद्रप्रसादको पीडा, विवशता र सन्तानप्रतिको प्रेमलाई संयमित ढंगले अभिव्यक्त गरेका छन्।

आर्थिक अभावमा पनि परिवारलाई खुसी राख्न खोज्ने बाबुको अनुहारमा देखिने तनावदेखि सन्तानकै कारण असहाय बन्नुपर्दाको अवस्थासम्म दिव्यदेवको अभिनय स्वाभाविक छ। कतिपय दृश्यमा उनका संवादभन्दा मौनता प्रभावशाली लाग्छ।

प्रिमियरपछि अभिनेत्री ऋचा शर्माले दिव्यदेवलाई चलचित्रको प्रमुख आकर्षणका रूपमा प्रशंसा गरेकी थिइन्। अभिनेत्री पुष्पा थिङ लामाले पनि उनको अभिनय र बाबुको पीडासँग जोडिएको संवादले आफूलाई छोएको प्रतिक्रिया दिएकी थिइन्।  

कृपाको भूमिकामा सुहाना थापाले यसअघिका आफ्ना चलचित्रभन्दा फरक अभिनय प्रस्तुत गरेकी छन्। पारिवारिक सुखदुःखसँग जोडिएको उनको चरित्रमा भावनात्मक उतारचढाव छ। विशेषगरी बाबुसँगको सम्बन्ध र परिवारमा आएको संकटका दृश्यमा उनको अभिनय प्रभावकारी देखिन्छ।

आमाको भूमिकामा झरना थापाले पनि सन्तानका लागि आफ्ना इच्छा र आवश्यकता त्याग्ने महिलाको चरित्रलाई विश्वसनीय बनाएकी छन्। वास्तविक जीवनका आमा–छोरी झरना र सुहाना पर्दामा पनि सोही सम्बन्धमा प्रस्तुत हुनु चलचित्रको अर्को रोचक पक्ष हो।

छोरा विशालको भूमिकामा सागर खनालले पारिवारिक स्वार्थ र महत्त्वाकांक्षाबाट निर्देशित पात्र निर्वाह गरेका छन्। बुहारीको भूमिकामा सुप्रज्ञा शर्माको संवाद र दृश्य सीमित भए पनि कथाको द्वन्द्व निर्माणमा उनको भूमिका महत्त्वपूर्ण छ। अनिल बुढाथोकीको अभिनय सन्तुलित छ भने शिशिर सिवाकोटीका केही दृश्य नाटकीय लाग्छन्।

भावनात्मक प्रस्तुति बलियो, कथामा नवीनताको अभाव

‘बा : एक योद्धा’को मुख्य चुनौती यसको कथावस्तु नै हो। अभिभावकले सन्तानका लागि सर्वस्व गुमाउने र पछि सन्तानबाटै उपेक्षित हुनुपर्ने विषय नेपाली चलचित्रका दर्शकका लागि नयाँ होइन।

त्यसैले चलचित्र हेर्दा कतिपय घटनाक्रमको अनुमान पहिले नै गर्न सकिन्छ। विशेषगरी छोराबुहारीको विदेश जाने आकांक्षा र बाबुको आर्थिक विवशताबीच उत्पन्न द्वन्द्व परिचित लाग्छ। कथामा सन्तानका निर्णयपछाडिका आर्थिक तथा सामाजिक कारणलाई अझ गहिरोसँग प्रस्तुत गरिएको भए पात्रहरू थप बहुआयामिक बन्न सक्थे।

यद्यपि, चलचित्रले छोरी र छोराप्रति परिवारभित्र राखिने फरक अपेक्षा, वैदेशिक मोह तथा सन्तानको भविष्य निर्माणमा अभिभावकले चुकाउने मूल्यजस्ता विषयलाई एकै ठाउँमा ल्याएको छ। पारिवारिक प्रेम र आर्थिक स्वार्थबीचको संघर्ष नै यसको मूल विषय हो।

समग्रमा ‘बा : एक योद्धा’ परिचित कथावस्तुमा बनेको भावनात्मक पारिवारिक चलचित्र हो। निर्देशक हरि लम्सालको सरल प्रस्तुति, केही प्रभावशाली दृश्य र विशेषगरी दिव्यदेव पन्तको स्वाभाविक अभिनय यसका उल्लेखनीय पक्ष हुन्।

नयाँ कथावस्तु, अप्रत्याशित मोड र जटिल चरित्र खोज्ने दर्शकका लागि चलचित्रमा सीमितता छन्। तर पारिवारिक सम्बन्ध, बाबुआमाको त्याग र सन्तानको महत्त्वाकांक्षाले निम्त्याउने द्वन्द्वमा रुचि राख्ने दर्शकलाई यसले भावनात्मक रूपमा जोड्न सक्छ।

चलचित्रको समापनमा पुग्दा सन्तानको भविष्यका लागि आफ्नो वर्तमान समर्पण गर्ने अभिभावकको भविष्यको जिम्मेवारी कसले लिने भन्ने भावुक प्रश्न दर्शकमाझ देखा पर्नेछ ।

प्रकाशित: ९ आश्विन २०८३ २०:२८ शुक्रबार