कला/साहित्य

दर्शन र धर्मका चस्माले नदेखिने ज्ञानविज्ञान

अध्यात्म

मानवचिन्तनको वैश्विक परम्परामा युरोपकेन्द्रित चिन्तनका उपजलाई सर्वोच्च, प्रधान र सार्थक भन्ने कुरालाई धेरैले मान्दै आएका छन्। तथापि, तथ्य कुराचाहिँ पौरस्त्य (पूर्वीय) दार्शनिक परम्परा विश्वचिन्तनका इतिहासमा प्राचीन, सूक्ष्म र समृद्ध चिन्तनधारा हो।

संस्कृत भाषाको ‘दृश्’ (देख्नु) धातुबाट बनेको ‘दर्शन’ शब्दको व्युत्पत्तिगत अर्थ ‘दृश्यते अनेन इति दर्शनम्’ अर्थात् जसद्वारा तत्त्वको प्रत्यक्षीकरण वा साक्षात्कार गरिन्छ अथवा तत्त्वबोध हुन्छ या थाहा पाइन्छ, त्यही दर्शन हो भन्ने हुन्छ। पाश्चात्य परम्परामा प्रयोग हुने ‘फिलोसोफी’को उल्था वा पर्यायका रूपमा पनि ‘दर्शन’ शब्दको प्रयोग नेपाली वाङ्मयमा गरिने गरेको पाइन्छ। पौरस्त्य ‘दर्शन’ फिलोसफीको अन्तर्यसँग तुलनीय नै छैन किनभने ‘फिलोसफी’ले ‘दर्शन’सँग अर्थसम, अर्थसादृश्य वा अर्थसापेक्ष तीनै तहमा संगति राख्न सक्दैन। संस्कृत वाङ्मयमा प्रयुक्त ‘दर्शन’ले जीवन र जगत्को यथार्थ स्वरूपलाई प्रत्यक्ष अनुभूति गर्ने र दु:खनिवृत्ति हासिल गर्ने व्यावहारिक र प्रज्ञात्मक बाटो वा तरिकालाई बुझाउँछ।

हिमालयदक्षिणको भूखण्डमा विकसित भएका आस्तिक (वैदिक/आप्तवचनलाई अमान्य नठान्ने) सांख्य, योग, न्याय, वैशेषिक, मीमांसा, वेदान्तलाई आस्तिक वा वैदिक षड्दर्शन भनेर चिनिन्छ। नास्तिक (अवैदिक/वेदको प्रामाणिकता अस्वीकार गर्ने) दर्शनका रूपमा चार्वाक (लोकायत), बौद्ध र जैन प्रसिद्ध छन्। यीमध्ये सांख्य र बौद्ध दर्शनचाहिँ नेपाली भूमिबाटै उद्भव भएका दर्शन हुन्। सांख्य दर्शनका प्रवर्तक कपिलमुनिलाई मानिन्छ। उनी बसेको स्थलका रूपमा चिनिएको कपिलवस्तु नेपालमा विद्यमान छँदै छ।

यस्तै बुद्धदर्शनका प्रवर्तक शाक्यमुनि गौतमको जन्म लुम्बिनीमा भएको हुनाले बुद्धदर्शनको प्रवर्तनस्थल पनि नेपाल नै रहेको स्पष्ट छ। यी दर्शनसँगै अन्य केही दर्शन पनि नेपालको मौलिक दर्शनका रूपमा रहेका छन्, जसलाई पोन, बोन, किरात दर्शनका रूपमा हामी चिन्न सक्छौं। यी सबै दर्शनले निर्देश गर्ने सामाजिक र व्यक्तिगत जीवनपद्धतिलाई ‘धर्म’ भन्ने गरिएको छ। यी सबै धर्मदर्शनको अहिले पनि नेपाली सामाजिक प्रणालीमा सघन प्रभाव छ।

पौरस्त्य धर्मदर्शन र पाश्चात्य ‘रिलिजन’बिचको तात्त्विक भिन्नता

पाश्चात्य चिन्तनको ‘रिलिजन’ वा ‘सम्प्रदाय/ बद्धास्था’ र पौरस्त्य ‘धर्मदर्शन’बिच आधारभूत रूपमै थुप्रै भिन्नताहरू छन्, जसलाई हामी यसरी बुझ्न सक्छौं :

रूढविश्वास (डग्मा) विरुद्ध स्वतन्त्र जिज्ञासा : ‘रिलिजन’ले कुनै निश्चित पैगम्बर, एकै वटा पवित्र ग्रन्थ र अलौकिक ईश्वरमाथिको रूढविश्वासाग्रह (डग्मा) लाई अनिवार्य सर्त मान्छ। यसको विपरीत पौरस्त्य दर्शनमा ईश्वरविहीन प्रणालीहरू (जस्तै सांख्य, मीमांसा, चार्वाक, बौद्ध, जैन) ले पनि दर्शनको सर्वोच्च स्थान पाएका छन्।  

धर्मको मौलिक अर्थ (प्रकृतिको नियम) : पौरस्त्य चिन्तनमा धर्म भनेको ‘विश्वास’ वा ‘अन्धानुष्ठान’ नभई वस्तुको वास्तविक स्वभाव हो। ‘धारणाद् धर्म इत्याहु: धर्मो धारयते प्रजा:’ (महाभारत, कर्णपर्व ६९।५८) अर्थात् जसले धारण गर्छ, जसले विश्वको व्यवस्थालाई टिकाइराख्छ, त्यही धर्म हो। आगोको धर्म तातोपन हुनु, जलको धर्म शीतलता हुनुजस्तै मानवको धर्म प्रकृतिका शाश्वत नियमहरूसँग सामञ्जस्य कायम गर्नु हो।

ऋत (कस्मिक अर्डर) र कार्यकारण नियम : ऋग्वेदमा प्रतिपादित ‘ऋत’ (सृष्टिको प्राकृतिक तथा नैतिक नियम) पौरस्त्य धर्मको मूलधार हो। यो नियम कुनै व्यक्ति वा ईश्वरको स्वेच्छाचारिताबाट चल्दैन, बरु यो जगत्को स्वत:सिद्ध प्राकृतिक नियम हो।

तत्त्वमीमांसा र ज्ञानमीमांसाको विकास

पौरस्त्य दर्शनको ऐतिहासिक विकासक्रम मुख्यत: दुई वटा दार्शनिक खम्बामा अडिएको छ:  क. ज्ञानमीमांसा (प्रमाणशास्त्र) : कुनै पनि दर्शनले वस्तुको सत्यता जाँच्न प्रयोग गर्ने माध्यमलाई ‘प्रमाण’ भनिन्छ। ‘प्रमाकरणं प्रमाणम्’ (न्यायसूत्र) अर्थात् यथार्थ ज्ञान (प्रमा) प्राप्त गर्ने असाधारण साधन नै प्रमाण हो। प्रत्यक्ष (पर्सेप्सन) : इन्द्रिय र वस्तुको सन्निकर्षबाट हुने ज्ञान। चार्वाकले केवल प्रत्यक्षलाई मान्छ। अनुमान (इन्फरेन्स) : लिंग (हेतु) र लिंगी (साध्य) को व्याप्ति सम्बन्धका आधारमा गरिने ज्ञान। शब्द÷आप्तवचन (टेस्टिमोनी) : आप्त (यथार्थवक्ता) व्यक्तिको वचन वा वैदिक शब्द अधिक दर्शनले प्रमाण मान्छन् भने न्याय, मीमांसा र वेदान्तले उपमान, अर्थापत्ति, अनुपलब्धिलाई पनि प्रमाण मान्छन्।

ख. तत्त्वमीमांसा : जगत्को मूल उपादान र अन्तिम सत्य के हो भन्ने जिज्ञासाको उत्तर नै तत्त्वमीमांसा हो। यसअनुसार पौरस्त्य दर्शनविज्ञानमा अद्वैतवाद/मोनिज्म (सत्ता एउटै मात्र छ–वेदान्तको ब्रह्म), द्वैतवाद/ ड्वालिज्म (सत्ता दुई वटा भिन्न तत्त्वबाट बनेको छ– सांख्यको पुरुष र प्रकृति) र बहुत्ववाद (सत्ता अनेकौं स्वतन्त्र तत्त्वहरूबाट बनेको छ - वैशेषिकका परमाणु र द्रव्यहरू, जैनको अनेकान्तवाद) जस्ता दृष्टिभेद रहेका पाइन्छन्।

चिन्तनमा वैज्ञानिक संशय, जिज्ञासा र अनुभवआश्रितता

पौरस्त्य दर्शन खाली मनकल्पित विश्वास वा अन्धविश्वास हुन् भन्ने भ्रमले धेरैलाई ग्रस्त गरेको पाइन्छ। आध्यात्मिकतालाई अभौतिक दूरनियन्त्रित अन्धविश्वास र अनुष्ठानका रूपमा बुझ्ने बौद्धिकहरूको त बिगबिगी नै छ। पौरस्त्य दर्शन/विज्ञानअनुसार अध्यात्म मानिसभन्दा परको अलग्गै कुरा नभएर मानिसमा प्रकृतिनिस्सृत प्राकृतिक गुण नै हो। यसैले प्रकृतिका तीन विशिष्ट सत्ता (आधिदैविक, आधिभौतिक र आध्यात्मिक) हुनाले कल्पना नभएर विज्ञानले अँगाल्ने संशय र अनुभवआश्रिततामा आधारित तथ्यका रूपमा यसलाई लिइएको पाइन्छ।

प्रश्न र संशयबाट प्रारम्भ : वैदिक दर्शनमा कुनै पनि सिद्धान्त स्थापित गर्नुअघि ‘संशय’को निवार्य चरण पार गर्नुपर्ने विधिलाई अनिवार्य मानिएको छ। ‘नानुपलब्धे न निर्णीते अर्थे न्याय : प्रवर्तते, किन्त्त्वनुपलब्धे’ (न्यायभाष्य १।१।१), अर्थात् नदेखेको वा पूर्ण निर्णय भइसकेको विषयमा न्याय प्रवृत्त हुँदैन, जहाँ संशय हुन्छ त्यहाँ परीक्षण र तर्क प्रवृत्त हुन्छ भनिएको छ।बृहदारण्यको पनिषद्को ‘नेति नेति’ (यो पनि होइन, यो पनि होइन) को पद्धति भनेकै अहिलेको वैज्ञानिक ‘फाल्सिफिकेसन’ (असत्यता परीक्षण) भनेजस्तै हो।  

कारण–कार्य÷परिणाम नियम : बौद्ध दर्शनको ‘प्रतीत्यसमुत्पाद’ (कारणबिना कार्य उत्पत्ति हुँदैन) र सांख्यको ‘सत्कार्यवाद’ (कार्य उत्पत्ति हुनुअघि कारणमा सूक्ष्म रूपमा विद्यमान हुन्छ) दुवैले भौतिक विज्ञानको ऊर्जा संरक्षणको नियम (इनर्जी कन्जर्भेसन ल) सँग प्रत्यक्ष सामञ्जस्य राख्छन्।

योगको प्रयोगात्मक विज्ञान : पतञ्जलिको योग दर्शन आत्म–परीक्षण र मनको नियन्त्रणको एउटा प्रयोगात्मक र अनुभवआश्रित मनोविज्ञान हो, जहाँ साधक आफैं प्रयोगकर्ता र प्रयोगशाला दुवै हुन्छ।

पौरस्त्य नौ दर्शन : जीवन र जगत्को अर्थ खोजीको सारतत्त्व

चार्वाक (लोकायत) दर्शन : चार्वाक/ बृहस्पतिले प्रवर्तन गरेको यस दर्शनले केवल चार वटा भूतपदार्थ तत्त्व (पृथ्वी, जल, तेज, वायु) को सत्तालाई मात्र स्वीकार गर्छ। अन्य सबैले पृथ्वी, जल, तेज, वायु र आकाश तत्त्वको सत्ता स्वीकार गर्छन्, जसलाई पञ्चतत्त्व भनिन्छ तर उनले आकाशलाई स्थायी सत्ता नमानेका हुनाले नै उनको लोकायत दर्शनलाई चारवाक (पृथ्वी, जल, तेज, वायु) भनिँदै आएको छ।

यो दर्शनले चेतनशीलता वा चेतनालाई भूतपदार्थको संयोजनबाट स्वत: उत्पन्न हुने उत्पादन मान्छ। ज्ञानमीमांसास्वरूप यसले प्रत्यक्ष (इन्द्रियसन्निकर्षता)लाई मात्र प्रमाण वा ज्ञानविज्ञानको आधार मान्छ। अनुमान र शब्द प्रमाणलाई नमान्ने हुनाले यस दर्शनलाई प्रत्यक्ष देहवाद भनेर पनि चिनिन्छ।

बृहस्पति भन्छन् : यावज्जीवेत् सुखं जीवेद् ऋणं कृत्वा घृतं पिबेत्। भस्मीभूतस्य देहस्य पुनरागमनं कुत:।। अर्थात् जबसम्म बाँचिन्छ, सुखपूर्वक बाँच्नुपर्छ, ऋण खोजेर भए पनि घिउ (मिष्ठान्न /उत्तम भोजन) खानुपर्छ किनभने एक पटक चितामा शरीर जलेर भस्म भएपछि फेरि के फर्केर आउँछ र ? यसले ईश्वरको मात्र होइन, आत्मा, परलोक, स्वर्ग, नरक पूर्वजन्म– पुनर्जन्मजस्ता अदृश्य कुराहरूलाई पूर्णत: अस्वीकार गर्छ। चार्वाकका अनुसार आनन्दपूर्वकको जीवनचक्र र मरण नै अन्तिम मुक्ति हो। त्यसैले मानिसले मृत्युपछिको कुनै अज्ञात लोक वा पुनर्जन्मको चिन्ता नगरी वर्तमान जीवनलाई नै पूर्ण रूपमा सुखमय बनाउनुपर्छ भन्ने लोकायत दर्शनको सन्देश रहेको छ।

बुद्धदर्शन : शाक्यमुनि गौतम बुद्धप्रवर्तित बुद्धदर्शनको सारतत्त्व चार आर्यसत्य (दु:ख, दु:खसमुदय, दु:खनिरोध, दु:खनिरोधगामिनी प्रतिपदा हुन् र त्यसको समाधान अष्टांगिक मार्गको अवलम्बन हो।

जगत्का सम्पूर्ण वस्तुहरू प्रत्येक क्षण परिवर्तनशील छन् (क्षणभंग/अनित्यतावाद, स्थिर र नित्य आत्मा (तत्त्व) को अस्तित्व छैन, चेतनाको प्रवाह (सन्तति) मात्र छ (अनात्मवाद) र ‘अस्मिन् सति इदं भवति’ अर्थात् यो भएमा यो हुन्छ भन्ने कारण–कार्यको निरन्तर शृंखलाको स्वीकृति (प्रतीत्यसमुत्पाद) बुद्धदर्शनको चुरो हो। अनुभव नगरी कसैले भन्दै आएको वा कतै भनिएको छ भन्ने कुरालाई प्रमाण नमान्नु बुद्धदर्शनको मूल विशेषता हो, जसले उनको दर्शनलाई अवैदिक दर्शनका रूपमा वर्गीकृत ग¥यो।

जैनदर्शन : ऋषभदेव (प्रथम तीर्थंकर) या महावीरद्वारा प्रतिपादित यो दर्शनले संसारलाई जगत् जीव (चेतन) र अजीव (अचेतन – पुद्गल, धर्म, अधर्म, आकाश, काल) गरी दुई मूल तत्त्वमा विभाजित छ भन्ने मान्छ। वस्तुका अनन्त धर्म हुन्छन् र कुनै पनि सत्य एकांकी हुँदैन भन्ने यसको दर्शनको सारतत्त्व हो।

सांख्यदर्शन : महर्षि कपिलमुनिद्वारा प्रवर्तित सांख्यदर्शनको नाम जीवन र जगत्को संख्यात्मक व्याख्यामा आधारित भएकाले रहन गएको हो। यसले विराट अकृत–प्रकृतिका पच्चिस (२५) तत्त्वका अन्तरक्रियाबाट संसार र जगत् सञ्चालित छ भन्ने यसको निचोड छ। पुरुष नित्य, चेतन, अकर्ता, साक्षी, बहुल छ भने प्रकृति त्रिगुणात्मकी (सत्त्व, रजस्, तमस्), जड, नित्य, सृष्टिको मूल उपादान भएर क्रियाशील रहन्छ।

प्राकृतिक उद्विकास : प्रकृति र पुरुषको सन्निकर्षले महत्तत्त्व (बुद्धि), अहंकार, पाँच (५) तन्मात्रा (रूप, स्पर्श, गन्ध, रस र शब्द), ११ इन्द्रिय (पाँच ज्ञानेन्द्रिय + पाँच कर्मेन्द्रिय+ मन) र पाँच महाभूत (पृथ्वी, अप, तेज, वायु र आकाश) गरी २५ तत्त्व बन्छन्। यिनै २५ तत्त्वका आधारमा अन्तरीक्षमा विश्वव्रह्माण्ड सञ्चालित छ।

योगदर्शन : महर्षि पतञ्जलिप्रणीत यो दर्शनको मूल सिद्धान्त ‘योगश्चित्तवृत्तिनिरोध:’ अर्थात् चित्तका वृत्तिहरूको निरोध गर्नु नै योग हो र योगका आठवटा अंग यम, नियम, आसन, प्राणायाम, प्रत्याहार (बहिरंग) तथा धारणा, ध्यान, समाधि (अन्तरंग) अवलम्बनद्वारा सत्य र मोक्ष दुवै सम्भव हुन्छ भन्ने यसको मुख्य सन्देश छ।

न्यायदर्शन : महर्षि अक्षपाद गौतमप्रणित यो दर्शन सारत: प्रमाणशास्त्र र तर्कशास्त्रमा आधारित अन्वीक्षा गर्नु हो। यो साध्य–साधन दर्शन हो। सत्यनिरूपणका निमित्त अत्यावश्यक पर्ने १६ वटा पदार्थ /शब्दार्थ (प्रमाण, प्रमेय, संशय, प्रयोजन, दृष्टान्त, सिद्धान्त, अवयव, तर्क, निर्णय, वाद, जल्प, वितण्डा, हेत्वाभास, छल, जाति, निग्रहस्थान) को तत्त्वज्ञानबाट सत्यतथ्य सिद्ध (सांसारिक) हुन्छ र मोक्ष (परमार्थिक) प्राप्त हुन्छ भन्ने यसको मूल सन्देश हो।

चार प्रमाण (प्रत्यक्ष, अनुमान, उपमान, शब्द) का माध्यमबाट कुनै पनि संशयपूर्ण विषयमा रहेको जिज्ञासालाई प्रतिज्ञा, हेतु, उदाहरण आदिका माध्यमबाट निष्कर्ष निकाल्न वाद, प्रतिषेध प्रयोजन, सिद्धान्त, तर्क आदि साधनद्वारा सत्यनिरूपण गर्नु र जल्प, वितण्डा, छल, हेत्वाभास, जाति, निग्रहस्थानजस्ता न्यायाभासहरूबाट सत्यको खोजीलाई जोगाउनु यो दर्शनको प्रयोजन हो।

वैशेषिक दर्शन : महर्षि कणादद्वारा प्रवर्तित वैशेषिक दर्शन आज भनिने गरेको भौतिक विज्ञानको पौरस्त्य धरातल हो। यसले संसार/जगत्को सूक्ष्म एकाइ परमाणुलाई मान्छ र सात वटा पदार्थ (द्रव्य, गुण, कर्म, सामान्य, विशेष, समवाय र अभाव) लाई विश्वभौतिक सत्ताका रूपमा स्वीकार गर्छ। यसअनुसार प्रत्येक नित्य द्रव्यमा एउटा स्वत: व्यावत्र्तक धर्म हुन्छ, जसलाई ‘विशेष’ भनिन्छ। यसैबाट यो दर्शनको नाम ‘वैशेषिक’ रहन गएको हो।

मीमांसादर्शन : महर्षि जैमिनीद्वारा प्रतिपादित यो दर्शन मूलत: अर्थापन दर्शन हो। वेदको कर्मकाण्ड (कार्यविधि) र धर्मको व्याख्या गर्नु यसको मूल काम हो। धर्मको जिज्ञासाद्वारा सत्यताको अर्थ गर्नु यसको सार हो। वेद अपौरुषेय र नित्य छन्। शब्द र अर्थको सम्बन्ध नित्य हुन्छ। यज्ञ–यागादि कर्मद्वारा ‘अपूर्व’ (अदृश्य फल) उत्पन्न भई मोक्ष मिल्छ भन्ने यस दर्शनले संशय निवारणका लागि ६ वटा प्रमाण (प्रत्यक्ष, अनुमान, शब्द, उपमान, अर्थापत्ति, अनुपलब्धि) साधनको अवलम्बन गर्नुपर्ने प्रतिमान ग्रहण गर्छ।

वेदान्त दर्शन महर्षि वादरायणद्वारा प्रवर्तित वेदान्तलाई उत्तरमीमांसाका नामले पनि चिनिन्छ। यसले अन्तरक्रियात्मक संसारको अवधारणा मान्दैन र ब्रह्म: एक मात्र नित्य, निर्गुण, निराकार, चेतन परम सत्य हो भन्ने मान्छ। माया (अविद्या वा अज्ञान) ले गर्दा एकै ब्रह्म जगत्का रूपमा बोधित हुन्छ भन्ने मान्ने यसले अज्ञानको नास भई जीवले आफूलाई ब्रह्म रूपमा अनुभव गर्नु (अहं ब्रह्मास्मि) लाई मोक्ष मान्छ।

पौरस्त्य दर्शन : साझा तत्त्व

यी नौ वटै दर्शनहरू फरक–फरक दृष्टिकोण राखे तापनि पौरस्त्य भूभागमा जन्मिएका हुनाले यिनमा गहिरो साझा धरातल छ।

दु:खनिवृत्ति र मोक्षको लक्ष्य : चार्वाकबाहेक बाँकी आठ वटै दर्शन (आस्तिक षड्दर्शन र नास्तिक बौद्ध–जैन) को अन्तिम उद्देश्य जीवनका दु:खहरू (आध्यात्मिक, आधिभौतिक, आधिदैविक) बाट आत्यन्तिक मुक्ति (मोक्ष, निर्वाण, कैवल्य, अपवर्ग) हासिल गर्नु हो।

अज्ञान (अविद्या) नै दु:खको मूल कारण : मानिस दु:खमा पर्नुको मुख्य कारण जगत् वा अस्तित्व/सत्ताको वास्तविक ज्ञान नहुनु (अविद्या÷अज्ञान) हो।  

कर्म र पुनर्जन्मको नियम : चार्वाकबाहेक सबै दर्शनले मानिसको कर्मअनुसार नै उसले फल भोग्छ र कर्मबन्धनले पुनर्जन्म गराउँछ भन्ने नियमलाई स्वीकार गर्छन्। बुद्धले भने म यही नै अन्तिम हुँ भनेकाले पुनर्जन्म अस्वीकार गरेको देखिन्छ तापनि पूर्वजन्मबारे भएको ज्ञानलाई बोधिसत्व (ज्ञानप्राप्ति) मानिएकाले यसमा केही अस्पष्टताहरू देखिन्छन्।

प्रमाणमा आधारित ज्ञान–मीमांसा : सबै दर्शनहरूले अन्धविश्वासका आधारमा नभई संशय र जिज्ञासाका आधारमा प्रमाणका साधनद्वारा तत्त्वबोधका लागि मात्र आफ्ना सिद्धान्त स्थापना गरेका छन्। यिनमा विश्वास वा अन्धास्थाको कुनै पूर्वसर्त लागु हुँदैन।

बाहिरी संसार र मनोलोक (मनोवैज्ञानिक) को विश्लेषण : सबै दर्शनले मन, इन्द्रिय, चेतना र ज्ञान–प्रक्रियाको सूक्ष्म विश्लेषणात्मक अध्ययन गरेका छन्।

प्रकाशित: ७ कार्तिक २०८३ ११:४६ शनिबार